
काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ गगालका सन्तबहादुर तामाङ श्रीमतीको हत्या गरेर फेरि कारागारमै फर्किएका छन् ।
बलात्कार मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा जेलजीवन बिताइरहेका ३६ वर्षीय सन्तबहादुर गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सोही कारागारबाट भागेर घर पुगेका थिए ।
कारागार तोडफोड गरेर घर पुगेका उनले आफ्नी ३० वर्षीया श्रीमती मनिषा तामाङको हत्या गरेर फरार भएका थिए । तर, प्रहरीले उनको खोजी गरिरहेको समय फेरि नख्खु कारागारमै फर्किएको बताइएको छ ।
पनौती–१२ का वडाध्यक्ष जयराम केसीका अनुसार सन्तबहादुर बलात्कार मुद्दामा दोषी ठहर भई नक्खु कारागारमा सजाय काटिरहेका थिए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकै क्रममा जेलबाट भागेर उनी गगालस्थित घर आएका थिए ।
घर आएलगत्तै भएको झगडापछि सन्तबहादुरले आफ्नी श्रीमतीको हत्या गरी फरार भएको वडाध्यक्ष केसीले बताए । घटनापछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।
श्रीमतीको हत्या गरेर फरार सन्तबहादुरको खोजी कार्यलाई प्रहरीले तीव्र पारेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले जानकारी दिए । तर, प्रहरीको खोजीमै रहेका सन्तबहादुर नख्खु कारागारमै पुगेको बताइएको छ ।

प्रतिक्रिया