
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गत शनिबार प्रकाशित विज्ञप्तिमा उल्लिखित अवस्था अहिलेको वास्तविकता हो भन्ने कुरा आत्मसात गर्न विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले जति ढिलाइ गर्छन्, राष्ट्रिय संकटको अवतरण त्यति नै ढिलाइ हुँदै जाने निश्चित छ । राष्ट्रपति पौडेलले भनेझैँ देशमा शान्तिपूर्ण निकास निस्किएको छ, संविधान बचेको छ । राज्यको सुरक्षा संयन्त्र कोल्याप्स हुँदा उत्पन्न भएको २४ भदौको अवस्था केही दिन लम्बिएको भए संविधान कोल्याप्स हुने त निश्चित नै थियो, राष्ट्रिय स्वाधिनतासमेत संकटमा पर्ने अवस्था आउने सम्भावनासमेत बढ्थ्यो ।
यो संकटबाट पार लगाएकोमा राष्ट्रपति पौडेललाई धन्यवाद दिनु प्रमुख राजनीतिक दलहरूको कर्तव्य हो । तर आफैँले बनाएको संविधानमार्फत् आफैँले निर्वाचित गरेको राष्ट्रपतिलाई विश्वास गर्नु र आफ्ना कमजोरीलाई आत्मसात गर्नुको सट्टा प्रनितिनिधिसभा विघटनको विषयलाई लिएर खोँचे थाप्नु प्रमुख दलहरूको गैरजिम्मेवार कदम हो । विस्तारै संग्लिँदै गएको मुलुकको परिस्थितिलाई दलहरूको यो गैरजिम्मेवारीले बिथोल्न सक्छ ।
सहरी क्षेत्रमा आन्दोलनको रापताप अझै सेलाइसकेको छैन । गाउँघरका चिया पसल तथा चौतारीमा गफ गरिरहेका आमनागरिकलाई सोध्ने हो भने पनि एउटै जबाफ छ, ‘दलका नेताहरूको भ्रष्टाचार र कुशासनका कारण यस्तो अवस्था उत्पन्न भएको हो ।’ शासनसत्ता सञ्चालनका क्रममा दल तथा तिनका नेताहरूले ठिकै गरेका थिए भन्ने व्यक्ति भेट्टाउनै मुस्किल परिरहेको अहिलेको अवस्थामा निहुँ खोजेर खोँचे थाप्नुभन्दा आफ्ना पार्टीको सुधारका लागि मार्गप्रशस्त गर्नु नै नेताहरूको बुद्धिमत्ता ठहर्ने छ । नेपाली सेनाको सुरक्षा घेराबाट बाहिर निस्केर जनताबीच आउने हिम्मत गर्न नसकेका नेताहरूले संसद्बाट निकास दिन्छाैँ भन्नु बर्बराहट मात्रै हो ।
जसरी लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, त्यसरी नै बहुदलीय शासन व्यवस्थामा दलहरूको विकल्प भनेको अझ परिष्कृत दलहरू नै हुन् । यदि ठुला दलहरूले वर्तमान संविधान तथा बहुलवादको निरन्तरता चाहन्छन् भने उनीहरू सच्चिनुबाहेक अर्को विकल्प छैन । उनीहरू सच्चिन तयार भएनन् भने राष्ट्रपति पौडेलले अहिले गरेको प्रयत्नले मात्रै संविधान र बहुलवाद जोगिन सम्भव छैन । युवा पुस्तामा मात्रै होइन आमजनतामा समेत दलहरूप्रतिको भरोसा टुट्दै गएको र स्वतन्त्रका नाममा निर्दलीयताको भावना बढ्दै गएको देखिन्छ । बहुसंख्यक जनतामा दलीय आस्था टुट्नासाथ नेपालको संविधान २०७२ आफैँ सकिन्छ । जनतामा दलीय आस्था टुट्न नदिनका लागि प्रमुख दलहरू सच्चिनुबाहेक अर्को विकल्प छैन । पछिल्ला केही महिनायता दलीय आवद्धता त्याग्दै आफूलाई स्वतन्त्र घोषणा गर्ने कार्यकर्ताको संख्या यसै पनि बढ्दै गएको थियो ।
जेनजी आन्दोलनपछि यो क्रम ह्वात्तै बढेको छ । यतिसम्मकी नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद हुँदै मन्त्रीसम्मको जिम्मेवारी पाइसकेकी सुमना श्रेष्ठले समेत पार्टी परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेकी छन् । स्वतन्त्र भन्नु र निर्दलीय भन्नुको अर्थ एउटै हो । निर्दलीयता नै समस्या समाधान होइन । यद्यपि श्रेष्ठले पार्टी छोड्नुपर्ने कारणका रूपमा उठाएका बुँदाहरू रास्वपा मात्र होइन सबैजसो सानाठुला दलहरूको हकमा लागू हुन्छ ।
आगामी २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको अवस्था एकातिर छ भने अर्कातिर अहिलेको परिवर्तनको नेतृत्वकारी शक्ति भनेको कुनै राजनीतिक दल नभएर नवयुवा पुस्ताको एउटा समूह र भावना मात्रै हो । विचारभन्दा पनि भावनामा ओतप्रोत यो समूहले सशक्त पार्टी निर्माण गरी चुनावमा भाग लियो भने त ठिकै होला, होइन भने जनताले भोट हाल्ने ठाउँसमेत फेला नपर्ने अवस्था आउन सक्छ ।
यो अवस्था भनेको वर्तमान शासन व्यवस्थाको अवसान हो । प्रमुख दल कांग्रेस, एमाले र माओवादी पार्टीमा यिनै असक्षम तथा जनताले भ्रष्ट ठानेका नेता र अहिलेकै कार्यशैलीले निरन्तरता पाउने हो भने यी पार्टीलाई किन र केका लागि भोट हाल्ने भन्ने प्रश्न उठिसकेको छ । तर ७ दशक लामो इतिहास बोकेका र जनअधिकार बहालीका लागि पटकपटक आन्दोलन गरेका यी पार्टीभित्र इमानदार र सक्षम नेता तथा कार्यकर्ताहरूको खडेरी छैन, अझै पनि ठुलै संख्यामा यस्ता नेता तथा कार्यकर्ता छन् भन्ने कुरा राजनीतिक विश्लेषकहरूले भन्दै र लेख्दै आएका छन्, तर आफू जन्मेदेखि नै उनै कुशासकहरू सत्ताको शीर्षस्थानमा बसेर निरन्तर हालीमुहाली गरेको देखिरहेका नवयुवाले यो कुरा कसरी पत्याउने ?
किनकी इमानदार र सक्षम व्यक्ति आजीवन भ्रष्ट र कुशासक नेताको झोला बोकेर किन बसिरहेका छन् त ? यस्ता झोलेहरूले पुराना पार्टीलाई सुधार गर्लान् भनेर कसरी विश्वास गर्ने ? भन्ने प्रश्न नवयुवाले जेनजी आन्दोलनमार्फत उठाइसकेका छन् । यदि कांग्रेस, कम्युनिस्ट पार्टीभित्र कुनै युवानेताहरूलाई आफू सक्षम र इमानदार छुजस्तो लाग्छ भने आफू आवद्ध पार्टीको नेतृत्व र कार्यशैली परिवर्तनका लागि कदम चाल्न ढिलाइ नगरुन् । समयले कसैलाई पर्खंदैन भन्ने हेक्का राखुन् ।
प्रतिक्रिया