
विदेशी पर्यटकलाई अतिथिका रूपमा स्वागत गर्ने नेपाली परम्परा हो । ‘अतिथि देवो भवः’ अर्थात अतिथिहरू देवता समान हुन् भन्ने हाम्रो संस्कार रहिआएको छ । तर व्यवहारमा भने सबै विदेशी पर्यटकहरू अतिथिको दर्जा दिन लायक देखिँदैनन् । पर्यटकको भेषमा अपराधी पनि भित्रिएका छन् । अपराधकर्ममा संलग्न विदेशी पर्यटकहरूको सूची पनि निकै लामो छ । विगत १० वर्षको अवधिमा अपराधकर्ममा संलग्न भएवापत ४ हजार १०० विदेशी पर्यटकलाई देश निकाला गरिएको तथ्यांक अध्यागमन विभागसँग छ । यसैगरी अपराधकर्ममा संलग्न भएबापत १ हजार ५७९ जना विदेशी नागरिक नेपालका विभिन्न कारागारमा रहेको तथ्यांकलाई पनि सामान्य रूपमा लिन मिल्दैन । किनकी नेपालको कारागारमा रहेका करिब २७ हजार कैदी बन्दीमध्ये डेढहजारभन्दा बढी विदेशी हुनु भनेको हाम्रालागि निकै ठुलो चुनौती हो ।
सकेसम्म धेरै विदेशी पर्यटक भिœयाउने सरकारी नीतिलाई अन्यथा लिन मिल्दैन । हाम्रोजस्तो समुद्रको पहुँच निकै टाढा रहेको भूपरिवेष्टित देशमा रोजगारीको वृद्धि तथा विदेशी मुद्रा आर्जनका लागि पर्यटन उद्योग सबैभन्दा अनुकूल मानिन्छ । पर्यटन उद्योग अभिवृद्धिकै लागि सरकारले विदेशी पर्यटक आगमनको नीति निकै नै खुकुलो बनाएको हो । तर यही खुकुलो नीतिमा टेकेर गलत उद्देश्यका विदेशी नागरिकहरू पर्यटकको भेषमा नेपाल छिर्ने क्रम बढिरहेको छ । पर्यटन उद्योगका लागि मात्रै होइन देशको शान्ति सुरक्षाका लागिसमेत यो निकै गम्भीर चुनौती हो ।
विश्वका सबैजसो देशहरूले आफ्नो सरहद भित्रिएका विदेशी नागरिकको विशेष अनुमगन गर्छन् । हाम्रो देशमा पनि विदेशी नागरिकको अनुुगमनका लागि संयन्त्र नभएको होइन । नेपालमा आएका विदेशी कुन प्रयोजनमा, देशका कुन ठाउँ पुगेका छन्, कहाँ बसेका छन् भन्ने नियमन गर्न गृह मन्त्रालय, अध्यागमन विभाग र जिल्ला प्रशासनका अधिकारी सम्मिलित संयन्त्रहरू छन् । तर ती संयन्त्रहरूले प्रभावकारी रूपमा काम गर्न नसक्दा विदेशीले अपराध गरेपछि मात्र सुरक्षा निकायले थाहा पाउने बिडम्बना छ ।
कतिपय आपराधिक घटना त हाम्रो सुरक्षा निकायले थाहा नपाएको पनि हुनसक्छ । विदेशी पर्यटकको अनुमगन तथा नियमन गर्ने संयन्त्र अपेक्षाअनुसार सफल हुन नसक्नुको मुख्य कारण परम्परागत कार्यशैली हो ।
सूचना प्रविधिले फड्को मारिसकेको अहिलेको युगमा अपराधकर्म गर्नेहरूले समेत विद्युतीय प्रणालीका नयाँनयाँ प्रविधिको प्रयोग गर्नु सामान्य बनेको छ । तर त्यसको अनुगमन गर्ने संयन्त्र परम्परागत घरेलु विधिमै सीमित हुनु सानो बिडम्बना होइन । ढिलै भए पनि अध्यागमन विभागले अबदेखि ‘भिजिट भिसा’मा नेपाल प्रवेश गर्ने विदेशी नागरिकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने तत्परता देखाएको छ । विभागको यो तत्परता स्वागतयोग्य छ । यो प्रविधिको सफल कार्यान्वयन आजको अनिवार्य आवश्यकता हो ।
विदेशी पर्यटक नेपाल भित्रिने बित्तिकै अध्यामगन कार्यालयले विद्युतीय अभिलेख राखेर निश्चित नम्बर प्रदान गर्ने, त्यो नम्बरलाई पर्यटन उद्योगहरूले आफ्नो वेबसाइटमा अनिवार्य रूपमा चढाउने प्रबन्ध गरिएपछि कुन पर्यटक कहाँ छ ? भन्ने कुरा सरकारी संयन्त्रले सजिलै थाहा पाउँछ । यो प्रविधिले विदेशी नागरिक नेपाल प्रवेश गरेपछि कहाँ के गर्छन् ? भिसाको म्याद सकिएपछि (ओभर स्टे) पनि बसेका छन् कि छैनन् ? भन्ने अनुगमन मात्रै होइन, चोरबाटोमार्फत खुसुक्क नेपाल छिर्ने सम्भावना पनि कम हुन्छ । तर यो आधुनिक प्रविधिको सफल कार्यान्वयका लागि पर्यटन व्यवसायीहरूको सहयोग अपरिहार्य हुन्छ ।
सरकारले पर्यटन व्यवसायीसँग छलफल गरेरै यो प्रविधि लागू गर्न लागिएको बताए पनि कतिपय पर्यटन व्यवसायीहरू यसैका नाममा सरकारी कर्मचारीहरूले थप दुःख दिने हुन् कि ? भन्ने कुरामा सशंकित छन् । उनीहरूको यो शंका तत्काल निवारण गर्नुपर्छ । त्यसैगरी नेपालमा आएर अपराध गर्ने विदेशीमध्ये आधाभन्दा बढी हिस्सा भारतीयहरूको रहेको परिप्रेक्ष्यमा यो प्रविधि मात्रै समस्याको समाधान होइन भन्ने देखिन्छ ।
किनकी भारतीय पर्यटक नेपाल भित्रिँदा अध्यागमनका रेकर्ड राख्नु अनिवार्य छैन । खुला सिमानाका कारण त्यो सम्भावना पनि छैन । सरकारको यो नयाँ विधि भारतीय बाहेकका पर्यटकको हकमा लागू हुने हो । नेपालमा करिब एकतिहाई हिस्सा भारतीय पर्यटकको छ । त्यसैले सरकारले अहिले तयारी गरेको प्रविधि मात्रै विदेशीहरूले नेपालमा गर्ने अपराध नियन्त्रणका लागि काफी छैन ।
प्रतिक्रिया