
एक शताब्दीयताको औषधि विज्ञानको सबैभन्दा ठूलो उपलव्धि भनेको ‘एन्टिबायोटिक’को आविष्कार हो । हुन पनि सन् १९४० को दशकबाट एन्टिबायोटिक औषधिको उत्पादन तथा प्रयोग हुन थालेपछि विश्वमा मृत्युदर ह्वात्तै घटेर औषत आयु पनि बढेको देखिन्छ । ब्याक्टेरियाका कारण लाग्ने धेरैजसो रोगको उपचारका लागि प्रयोग गरिने एन्टिबायोटिक औषधि सर्वसुलभ रूपमा उपलब्ध हुनु गरिब तथा अविकसित देशका लागि वरदान हो । आममानिसको पहुँचमा पुगेसँगै एन्टिबायोटिक औषधिको दुरुपयोग बढेका कारण विश्वव्यापी रूपमै चिन्ता छाएको छ । किनकि अनावश्यक रूपमा एन्टिबायोटिकको प्रयोग गरिँदा आवश्यक परेको बेला यो औषधिले कामै नगर्ने समस्या देखिएको विज्ञहरूले औँल्याएका छन् । पहिलो कुरा पहिलोपटक बिरामी हुँदा एन्टिबायोटिकको सन्तुलित सेवन नगरेको व्यक्ति दोस्रोपटक बिरामी भएमा फेरि एन्टिबायोटिकले काम नगर्ने वा बढी डोजको एन्टिबायोटिक्स सेवन गर्नुपर्ने समस्या देखिएको छ । यो समस्यालाई एन्टिबायोटिक रेजिस्टेन्स भन्ने गरिएको छ ।
दोस्रो कुरा एन्टिबायोटिक औषधि पचाउन सक्ने क्षमताका ब्याक्टेरियाको विकास हुन थालेको छ । यस्ता ब्याक्टेरियालाई ‘सुपर बग’ भन्ने गरिएको छ । विद्यमान एन्टिबायोटिक औषधिले काम गर्न छाडेको अवस्था एकातिर छ भने अर्कातिर यसको विकल्पमा अर्को औषधि आविष्कार भइसकेको छैन । त्यसैले एन्टिबायोटिकको दुरुपयोग रोक्नका लागि गम्भीर कदम चाल्नु हरेक देशको कर्तव्य हो ।
हाम्रो देशमा एन्टिबायोटिकको दुरुपयोग रोक्ने नीति, कानुन, तथा नियमावली त छन् । तर कार्यान्वयन पक्ष करिब करिब शून्य नै छ । यस्तै अवस्था हो भने विकसित देशहरूले हामीलाई ‘सुपर बग बाहक’ भन्दै कालोसूचीमा राख्न सक्छन् । हाम्रा नागरिकहरूलाई ती देशमा जान प्रतिबन्ध लाग्न सक्छ । यो जोखिमप्रति समयमै होसियार हुनु जरुरी छ । उदाहरणका लागि हाम्रो देशको कानुनले औषधि पसल गर्न पाउनेहरूको योग्यतासमेत निर्धारण गरेको छ । तर अर्कैको लाइसेन्स किनेर चलाइएका औषधि पसलको संख्या धेरै ठुलो छ । डाक्टरको सिफारिसबिना एन्टिबायोटिक बेच्न नपाइने कानुनी व्यवस्था छ, तर विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले गरेको खोज अनुसन्धानअनुसार चिकित्सकको प्रेस्किप्सनबिना एन्टिबायोटिक बिक्रीदर सहरी क्षेत्रमै ५० र दुर्गममा ५०.४ प्रतिशत छ । हेल्थपोस्टमा ५२.२ प्रतिशत छ ।
स्वास्थ्यकर्मीको जानकारीबिना मनलाग्दी किनेर खाने ६७ देखि ९७ प्रतिशतसम्म तथा फार्मेसीले सिफारिसबिना दिने दर ५० प्रतिशत छ । ४० प्रतिशत बढीले बीचैमा औषधि खान छोड्छन् । रुघाखोकीजस्तो सामान्य रोगमा चिकित्सकले एन्टिबायोटिक नलेखिदिँदा ४८ प्रतिशतले चिकित्सक परिवर्तन गर्छन् । यी सबै तथ्यांकले एकातिर जनचेतना कमीले एटिबायोटिकको जथाभावी प्रयोगको भयावहता देखाउँछन् ।
एन्टिबायोटिक रेजिस्टेन्सको समस्या अहिले नै कति विकराल बनिसकेको छ र भविष्यमा अझै कति कहालीलाग्दो अवस्था आउँदै छ ? भन्ने सन्दर्भमा विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अझै डरलाग्दो छ । विश्वमा हरेक वर्ष करिब ७ लाख मानिसको एन्टिबायोटिक रेजिस्टेन्सका कारण मृत्यु भइरहेको छ । नियन्त्रणका लागि ठोस कदम नचाले सन् २०५० सम्ममा मृत्यु हुनेको संख्या बर्सेनि १ करोड पुग्ने विश्व स्वास्थ्य संगठनको आकलन छ । मानवीय क्षतिका साथै विश्वभर बर्सेनि करिब १०० खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुनेछ । प्रत्यक्ष असर नेपालजस्ता मुलुकमा बढी पर्नेछ ।
यो समस्या गरिब तथा अविकसित देशका कारण सिर्जना भएको भन्दै विश्व स्वास्थ्य संगठनले त्यस्ता देशहरूलाई विशेष निगरानीमा राखेको देखिन्छ । यद्यपि नीति तथा कानुन बनाउने तर कार्यान्वयनतर्फ ध्यान नदिने समस्या नेपालमासमेत छ । विकासोन्मुख देशमध्ये जनस्वास्थ्यका क्षेत्रमा सन्तोषजनक प्रगति गरेको भनिएको नेपालमा त एन्टिबायोटिक दुरुपयोग नियन्त्रणमा यति ठुलो चुनौती देखिएको छ भने अन्य गरिब, अविकसित तथा विकासोन्मुख देशको हालत के होला ? भन्ने चिन्ता उत्पन्न हुनु स्वभाविकै हो ।
हाम्रो देशमा एन्टिबायोटिकको दुरुपयोग बढ्नुको कारण साधन र स्रोतको अभावभन्दा पनि अनुगमनमा लापरबाही हो । सहरी क्षेत्रमा अनुगमन गर्न सकिने गरी मात्रै औषधि पसल सञ्चालनको अनुमति दिने, ग्रामीण क्षेत्रमा हरेक वडामा कम्तिमा १ जना चिकित्सकको व्यवस्था गर्ने हो भने बिरामीले एन्टिबायोटिक दुरुपयोग गर्ने समस्या धेरै घट्न सक्छ । पशुलाई दिने दानामै एन्टिबायोटिकको दुरुपयोग हुने गरेको भयावह अवस्था रोक्नका लागि भने सामान्य प्रयासले पुग्दैन, विशेष अभियानकै खाँचो छ ।
प्रतिक्रिया