
चितवन । भरतपुर अस्पतालमा सेवा लिनेको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौंको परोपकार प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए ।
अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्राडा सुनिलमणि पोखरेल अस्पतालमा गत आव २०८१–८२ मा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको जानकारी दिए ।
यसमध्ये चार हजार ३८३ (५२ दशमलव ४५ प्रतिशत) को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५ दशमलव २८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ (२ दशमलव २६ प्रतिशत) को जटिल प्रसूति भएको थियो । अघिल्लो आव २०८०–८१ मा नौ हजार ३५५ र त्यसअघि आव २०७९–८० मा ११ हजार ८९४ गर्भवतीले प्रसूति सेवा लिएका थिए ।
डा पोखरेलले भने, ‘केही वर्षअघि वार्षिक १६ हजारसम्मले यहाँ सेवा लिएका थिए, अहिले क्रमशः घट्ने क्रममा गएको छ ।’ देशभरकै तथ्यांकमा ३० प्रतिशत हाराहारी घटेको भन्दै उनले बच्चा जन्माउने उमेरका युवायुवती विदेशिएको बताए ।
विगतमा गाउँगाउँ र छिमेकी जिल्लाबाट प्रसूति सेवा लिन आउनेको संख्या धेरै हुने गरेको भन्दै डा पोखरेले पछिल्लो समय जिल्ला र नगरहरुमा प्रसूति सेवा विस्तार भएसँगै भरतपुर अस्पतालको चाप घटेको बताए ।
उनले भने, ‘नगर अस्पताल र बर्थिङ सेन्टरमा प्रसूति सेवाको विस्तार भएपछि भरतपुर अस्पतालमा सेवा लिनेको संख्या घट्दै छ ।’ निजी अस्पतालमा संख्या बढेर सरकारी अस्पतालमा घटेको नभई स्थानीयस्तरमा नै सेवा पाएकाले यहाँ घटेको उनको भनाइ छ ।
प्रतिक्रिया