काभ्रेमा २७ प्रतिशत खानेपानीका मुहान सुके, संकटग्रस्त भविष्यको संकेत

काभ्रेपलाञ्चोक । केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको पाइएको छ । यहाँका १३ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो ।

बाढीपहिरो, वन फडानी, अव्यवस्थित पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण पानीका मुहान सुक्दै गएको सरोकालवाला निकायको भनाइ छ । पानीको मूल सुक्दै जाँदा स्थानीयले पानी खोज्दै टाढाटाढा धाउनुपर्ने, वर्षाको पानी संकलन गर्नुपर्ने र बसाइँसराइसमेतका समस्या झेल्नुपर्ने अवस्था आएको छ ।
स्थानीय तहले समस्या समाधानका लागि पानीको मुहानको मूल तथा जलाधार क्षेत्रको संरक्षण गर्न नीतिगत रूपमा छलफल गरेका छन् । धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल, नमोबुद्ध, बेथानचोक, रोसी र तेमाल गाउँपालिकाका जनप्रतिनिधिले मूलाधार तथा जलाधार संरक्षण गर्ने विषयमा नीतिगत रूपमा छलफलमा जुटेका हुन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा आयोजित खानीपानीको मूल र मुहानको मूलाधार तथा जलाधार संरक्षणसम्बन्धी २ दिने कार्यशालामा स्थानीय तहका प्रतिनिधिले मुहानको अवस्था, मुहानमा देखिएको समस्या, मुहान सुक्दै जानुका कारण समस्या समाधान गर्न गरिने नीतिगत पहलका विषयलाई प्राथमिकतामा विषयमा छलफल गरेका हुन् ।

गत वर्ष असोज दोस्रो साता आएको बाढीपहिरोजस्ता विपद्ले जिल्लाका अधिकांश क्षेत्रका खानेपानीको मुहानमा धेरै क्षति पु¥याएकाले खानेपानीको अभावले विभिन्न समस्या देखिएको जनप्रतिनिधिले उल्लेख गरेका छन् । सोहीअनुरूप स्थानीयतहले पनि आआफ्ना नीति तथा कार्यक्रममा उक्त विषयलाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् ।

यसअघि जिल्लाका ७ स्थानीय तहको सहकार्य र समन्वयमा इसिमोडले ती तहमा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा सर्वेक्षण गरेको थियो । सन् २०२३ को नोभेम्बरदेखि जुन २०२४ सम्म गरिएको सर्वेक्षणमा जिल्लाका ७ स्थानीय तहमा ५ हजार ६८९ कुल स्रोत मापन गरिएको थियो । सर्वेक्षणमा ५ हजार १६८ मूल तथा मुहान र ५२१ वटा पोखरी पहिचान भएका थिए । ती तहमा गरिएको सर्वेक्षणअनुसार २७ प्रतिशत अर्थात् १ हजार ५२१ स्रोतहरू सुक्खा भएको देखिएको जनाइएको छ ।

पाँचखाल नगरमा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा गरिएको सर्वेक्षणमा १ हजार ६७ कुल स्रोत मापन गरिएको छ । तेमाल गाउँपालिकामा पानीको मूल र मुहानको मूलाधार तथा जलाधार क्षेत्रमा गरिएको सर्वेक्षणमा ७३६ स्रोतको मापन गरिएमध्ये ६६४ मुहान र ७२ पोखरीको पहिचान भएको छ । जसमध्ये ४० प्रतिशत मुहान तथा जलाधार क्षेत्र सुक्खा रहेको पाइएको हो । सर्वेक्षणमा ८३८ मूल तथा मुहानको संख्या र २२९ वटा पोखरीको पहिचान भएको थियो । सर्वेक्षणअनुसार ४० प्रतिशत स्रोतहरू सुक्खा भएको देखिएको जनाइएको छ ।

धुलिखेल नगरमा गरिएको सर्वेक्षणमा १ हजार १७४ वटा स्रोतको मापन भएकोमध्ये १ हजार ६४ वटा मूलको संख्या र ११० पोखरीको पहिचान भएको थियो । यसमध्ये २९ प्रतिशत पानीको मुहान र जलाधार क्षेत्र सुक्खा रहेको पाइएको हो ।

रोसी गाउँपालिकामा ९६९ खानेपानीको स्रोतमध्ये ९२३ मूल संख्या र ४६ पोखरीको पहिचान गरिएको छ । रोसीमा २२ प्रतिशत पानीको मुहान र जलाधार क्षेत्र सुक्खा रहेको पाइएको थियो ।

नमोबुद्ध नगरमा ४८० स्रोतको मापनमध्ये ४५० मूल संख्या र ३० पोखरीको पहिचान भएको छ भने २० प्रतिशत स्रोत सुक्खा देखिएको छ । यसैगरी बेथानचोकमा ३८५ वटा मूल तथा जलाधारको मापन गरिएकोमध्ये ३७७ मूल संख्या र ८ पोखरीको पहिचान भएको छ ।
पनौतीमा ८८० कुल स्रोत मापन गरिएकोमा ८५४ वटा मूल संख्या र २६ पोखरीको पहिचान भएकोमध्ये १० प्रतिशत मात्रै सुक्खा क्षेत्रको पहिचान भएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत वर्षको असोजको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकको ७ स्थानीय तहमा सञ्चालन गर्न लागिएको पानीका मुहान पुनःजीवित कार्यक्रम प्रभावित बनेको छ । कार्यक्रम सञ्चालनका लागि जिल्लाका ४ नगरपालिका र ३ गाउँपालिकाले मध्यपहाडी क्षेत्रमा रहेको पानीको समस्यालाई सम्बोधन गर्न तथा समुदायको नेतृत्वमा सोही क्षेत्रका पानीका मुहान संरक्षण गर्ने अभियानमा सम्झौता गरेका थिए । प्रकृतिमा आधारित समाधानका माध्यमबाट मूलधार संरक्षण कार्यक्रमका लागि सन् २०२४ जनवरी पहिलो साता इसिमोडसँग जिल्लाका ७ स्थानीय तहका जनप्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षरसमेत गरेका थिए ।

कार्यक्रम सञ्चालनको तयारी स्वरूप स्थानीय तहमा विभिन्न समुदायमा छलफल चलाउने क्रममा रहँदा गत असोजमा आएको बाढीपहिरोका कारण उक्त अभियान रोकिएको जनाइएको छ । रोसी गाउँपालिका अध्यक्ष दिनेश लामाले भन्छन्, ‘केही स्थानमा सुकेको मुहान पहिचानसँगै छलफल चलाउँदै थियौँ, बाढीपहिरोले यो अभियान रोकिएको छ, बाढीपहिरोले हाम्रा मुहान तथा आयोजना नै क्षतिग्रस्त भएका छन् ।’ उनका अनुसार क्षतिग्रस्त आयोजना पुनःनिर्माणसँगै पानीका मुहान पुनःजीवित कार्यक्रमलाई समेटिनुपर्ने देखिएको छ ।

पानीका मुहान पुनःजीवित कार्यक्रमका लागि इसिमोडले प्राविधिक सहयोग गर्ने गर्दछ भने स्थानीय तहका प्रमुखले उक्त कार्यमा आआफ्ना तर्फबाट सहयोग र सहकार्य गर्नुपर्ने सम्झौता गरिएको थियो । जिल्लाका ७ तहले पानीको असुरक्षालाई सम्बोधन गर्न समुदायको नेतृत्वमा स्थानीय पानीका मूलको पहिचान, अवस्थाको मूल्यांकन तथा संकटासन्न मुहानको पुनःजीवित गर्ने नयाँ अभियानमा ऐक्यबद्धता जनाएका थिए ।

नमोबुद्ध नगरपालिकामा भने वडा–३ र ५ मा सुकेका २ मुहान फर्काउन पोखरी निर्माण गरिएको छ । नगरका अनुसार अन्य २ सुकेका मूल फर्काउने विषयमा प्रक्रिया अघि बढेको छ । नगरमा भएका अधिकांश मुहानमा पानीको प्रवाहमा कमी हुँदै आएको जनाइएको छ ।

पाँचखालका नगरप्रमुख महेश खरेलले विभिन्न कारण जोखिममा परेका पानीका मुहान संरक्षण कार्यक्रमले सुकेका मूल पुनः जीवित हुने अपेक्षा गरिए पनि मुहान पहिचान भइरहेको अवस्थामा बाढीपहिरो प्रभावितको राहत उद्धार तथा खानेपानीलगायत क्षतिग्रस्त संरचनामै समय दिनुपरेकाले अभियान प्रभावित बनेको बताए । उनले भने, ‘हाल क्षति भएका खानेपानी आयोजनालाई संरक्षण गरौँ त्यसपछि थप मुहानको खोजी गर्नेतर्फ लाग्ने छौँ ।’ उनका अनुसार मुहानको पुनरुत्थानले खानेपानी आयोजनाले अपुग पानीको मागलाई सम्बोधन गर्ने देखिएको छ ।

इसिमोडका अनुसार हिन्दुकुश हिमालयमा पानीको मुहान क्रमशः सुक्दै जानु आजको प्रमुख समस्या भएको र पहाडी समुदायको पिउने पानी, गाईवस्तु तथा बालीनालीका लागि पानीको निरन्तर पहुँच सुनिश्चित गर्नु, पानीको अभाव विस्थापन गर्नु, पानीको विवाद न्यूनीकरण गर्नु अहिलेको मूलभूत आवश्यकता देखिएको हो । तर, अहिलेसम्म उक्त विषयमा पर्याप्त ध्यान वा लगानी नभएकाले इसिमोडले अभियान थालेको जनाइएको छ ।

सम्झौतामा इसिमोडले पानीको मुहानको स्थान र स्थितिको विवरणसहित, जल तथा भौगर्भिक विज्ञानको अध्ययनको आधारमा पुनःभरण क्षेत्र पहिचान, सुधारिएको मुहानको प्रवाह र पानीको गुणस्तर, जैविक विविधताको अवस्था, जलवायु सह–लाभको मूल्यांकनजस्ता गतिविधिहरू कार्यान्वयन गर्न सहयोग गर्ने उल्लेख गरिएको छ । यस्तै कार्यक्रम सफल भए काभ्रेपलाञ्चोकका अन्य ६ स्थानीय तहमा क्रमशः लागू गर्दै जाने दीर्घकालीन लक्ष्य बनाइएको थियो ।

प्रतिवेदनहरूका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा रहेका लगभग ९० लाख मुहानले पानीको महत्वपूर्ण स्रोतको रूपमा सेवा प्रदान गर्दै आइरहेका छन् । तथापि, जलवायु परिवर्तन, भूमिगत पानीको अत्यधिक उत्खनन र भूमि प्रयोग परिवर्तनजस्ता गम्भीर समस्याका कारण पानीका मुहान जोखिममा पर्दै गइरहेको जनाइएको छ । इसिमोडको मूलधार व्यवस्थापनका उदाहरणीय मूल संरक्षण तथा पुनरुत्थानका कार्यक्रममा स्थानीय सरकारसँग भएका सम्झौताले अन्य स्थानीय तहलाई आफ्नो बजेट र योजनामा मूलधार व्यवस्थापन अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको पाइन्छ ।

प्रतिक्रिया