गैरआवासीय नेपाली संघ एससीसी भिक्टोरियाको कोषाध्यक्षमा खिम गौतमको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाल संघ –एनआरएनए एससीसी भिक्टोरिया (भिआइसी) २०२५–२०२७ सम्मको कार्यकालको लागि टिम एकताबाट कोषाध्यक्ष पदमा शिक्षा क्षेत्रमा लामो समय योग्दान गरेका खिम गौतमले आफ्नो उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा होमिएका छन् ।

शिक्षा क्षेत्रमा करिब २५ वर्षभन्दा लामो अनुभव लिइसकेका गौतमले आफ्नो उम्मेदवारी केवल जिम्मेवारी नभइ जीवन भरको सेवा र समपर्णको यात्राको निरन्तरता भनी बताएका छन् । २५ वर्षको शैक्षिक अनुभवका दौरानमा गौतमले २० हजारभन्दा बढी विद्यार्थीहरुलाई शिक्षा र प्रेरणा प्रदान गरिसकेका छन् ।

अन्तराष्ट्रिय विद्यार्थी, पेशागत वर्ग र नयाँ आप्रवासीहरुका समस्या बुझ्ने र समाधान खोज्ने क्रममा आफूले शिक्षा र समुदायको बीचमा सेतुको रुपमा भूमिका खेल्दै आएको उनले बताए ।

गौतमले अष्ट्रेलियास्थित नेपाली समुदायलाई सशक्त, समावेशी र एकजुट बनाउने समेत बताएका छन् । बौद्धिक, शालिन एवं भद्र स्वभावका मानिने गौतम टिम एकताबाट अत्यधिक मतका साथ विजय हुने आँकलन अष्ट्रेलियामा चल्न थालेको छ ।

को हुन् खिम गौतम ?

कास्कीको मकै खोलामा सामान्य परिवारमा जन्मिएका खिम गौतम १७ वर्षको उमेरदेखि वीरगञ्जबाट शिक्षण पेसा प्रारम्भ गरेका थिए । गौतमले सन् २००४ मा नवलपरासी बसाई सरेपछि अमर सेकेन्डरी स्कुलमा पुनः अध्यापन सुरु गरे ।

सन् २००७ मा गौतम राजधानी काठमाडौं पसेलगत्तै उनले बानेश्वरमा रहेको ज्ञान उच्च माध्यमिक विद्यालयमा अध्यापन क्षेत्रमै लागे । शिक्षण पेशाप्रतिको लगाव र मेहनतका कारण छोटो समयमै गौतम ज्ञानु उच्च माध्यमिक विद्यालयको प्रिन्सिपलको जिम्मेवारी सम्हाल्न पुगे ।

सन् २००९ मा त्रिभुवन विश्वविद्यालयबाट प्रथम श्रेणीमा अंग्रेजी विषयमा स्नातकोत्तर उत्रिण गरेपछि एक वर्षसम्म काठमाडौंको प्रख्यात लोकसेवाको तयारी गराउने निम्स इन्स्टिच्युटको वरिष्ठ प्राध्यापक भएर काम गरे ।

काठमाडौंमा रहँदा गौतमले प्राध्यापक भएर नासा कलेज, लर्ड बुद्ध, निम्स्ट नर्सिङ, एसियन एञ्जकरिङ, भ्याली एञ्जककरिङ, काष्ठमण्डप कलेजलगायत धेरै शैशिक संस्थामा अनुभव बटुलेका छन् ।

आफ्नै लगानीमा सञ्चालन गरेको विद्यालयमा गौतमले तीन वर्षमा प्रिन्सिपलको रूपमा जिम्मेवारी वहन गरे । गौतमले अध्यापन गराउँदा गराउँदै शिक्षक सेवा आयोगको पनि तयारीमा लागेका थिए । पढाइमा अब्बल रहेका गौतमले सन् २०१४ मा भक्तपुरबाट अंग्रेजी विषयको निमावी शिक्षक पदमा शिक्षक सेवा आयोगले लिएको परीक्षामा नाम निकाले ।

यससँगै अष्ट्रेलियामा भिजा आवेदन पनि दिएका थिए । संयोग जस्तै भनौ यता शिक्षक सेवा आयोगमा पनि नाम निस्कनु उता अष्ट्रेलियाको भिजा पनि आउनु गौतमलाई दुईवटा विकल्पमध्य एउटा छनौट गर्नु थियो । अन्ततः गौतमले नेपालको सरकारी जागिर तथा सबै अवसर स्थगित गरी थप अध्ययनको लागि अष्ट्रेलिया जाने निर्णय लिए ।

हाल गौतम सेन्ट्रल अष्ट्रेलियन कलेजको नेशनल ट्रेनिङ एण्ड क्याम्पस म्यानेजर पदमा कार्यरत छन् । उनको काँधमा अष्ट्रेलियाको तास्मानियामा र भिक्टोरियाको दुई वटा गरी ३ वटा कलेजको जिम्मेवारी रहेको छ । गौतमको नेतृत्वमा अहिले करिब १०० जनाभन्दा बढी कर्मचारी कलेजमा कार्यरत छन् ।

गौतमले घरेलु तथा अन्तराष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियन सरकारको ट्रेनिङ नीति नियम रही कुशल नेतृत्व प्रदान गरिरहेका छन् ।
गौतमले अध्यापनका साथ साथै आफूले दक्षता हासिल गरेको क्षेत्रका पुस्तकहरु पनि लेखेका छन् । उनका पिसिएल नर्सिङदेखि ब्याचलरसम्मका पिसिएल नर्सिङ, एचए, ल्याब, फार्मेसीको प्रवेश परीक्षाका अंग्रेजी अभ्यास पुस्तक पनि प्रकाशित छन् ।

त्यसैगरी अष्ट्रेलियामा केही पुस्तकहरु प्रकाशनको तयारीमा छन् । उनले नेपालका विभिन्न दुर्गम ठाउँमा दुखी तथा गरिब जेहन्दार बालबालिकाहरुको लागि शैक्षिक छात्रवृत्ति समेत प्रदान गरिरहेका छन् ।

यस्ता छन् गौतमको चुनावी प्रतिबद्धता

–पारदर्शी आर्थिक प्रणाली र उत्तरदायित्वपूर्ण व्यवस्थापन

–विद्यार्थी, युवा र आप्रवासी लक्षित कार्यक्रमहरूमा सहयोग

–समावेशी, सशक्त र एकीकृत समुदाय निर्माणमा योगदान

–नेपाली समुदायलाई सशक्त, समावेशी र एकजुट बनाउने

–पारर्दशिता, जवाफदेहिता र समुदाय केन्द्रित कार्यक्रमहरु

–रुपान्तरण र मार्ग सुधार

गौतमले ‘माया, सम्मान, एकता र ज्ञानको साथ हामी सबै मिलेर हाम्रो समुदायको उज्वल भविष्य निर्माण गरौँ,’ भन्ने सन्देशसहित सबै नेपाली समुदायलाई साथ र समर्थनको लागि अपील गरेका छन् ।

प्रतिक्रिया