इरान–इजरायल युद्ध चर्किंदा सिंगो मध्यपूर्वमा त्रास

काठमाडौँ । शुक्रबार इजरायलले आणविक केन्द्र लक्षित गरी गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले पनि शनिबार बिहानै इजरायलमा बालिस्टिक मिसाइल प्रहार गरेको छ । इरानले ‘ट्रु प्रोमिस थ्री’ नाम दिएर आक्रमण गरेपछि दुवै तर्फबाट लगातार आक्रमण जारी छ ।

‘अपरेसन राइजिङ लायन’को नाम दिँदै इजरायलले शुक्रबार गरेको आक्रमणमा परी शनिबार साँझसम्म ७८ जनाको ज्यान गएको छ भने ३२० जना घाइते भएका छन् । मर्ने र घाइते हुने धेरैजसो सर्वसाधारण छन् । इजरायली आक्रमणमा इरानी रेभुलेसनरी गार्डका प्रमुख हुसेन सलामीसहित ९ जना आणविक वैज्ञानिकहरूको पनि मृत्यु भएको छ ।

शनिबार इरानले मिसाइल आक्रमण सुरु गरेको केही मिनेटपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ‘अपरेसन राइजिङ लायन’को लक्ष्य इरानको बालिस्टिक र आणविक चुनौती नै खत्तम गर्ने भएको बताएका छन् । इजरायलले इरानस्थित इस्फाहनको आणविक संरचना पूरै ध्वस्त बनाएको दाबी गरेको छ ।
इरानबाट लगातार बालिस्टिक मिसाइल प्रहार भएपछि शनिबारदेखि राजधानी तेलअभिभ र जेरुसेलमलगायत ठुला सहरमा त्रास फैलिएको छ । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले ठुला सहरका सबै नागरिकलाई सेल्टरमा बस्न अनुरोध गरेको छ । इरानको आक्रमणमा परी ३ जना इजरायलीको मृत्यु र ४० जना घाइते भएको पुष्टि भइसकेको छ ।

शक्ति राष्ट्रलाई इरानको चुनौती

इरानले अमेरिका, बेलायत र फ्रान्स लगायत शक्ति राष्ट्रलाई इजरायललाई सहयोग नगर्न चेतावनी दिएको छ । रोयटर्सले इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार यी देशले इरायललाई सहयोग गरेमा त्यहाँका आणविक केन्द्रमा पनि धावा बोल्ने इरानको चेतावनी छ । बेलायतले आफ्नो देशले इजरायलाई कुनै सहयोग नगरेको प्रतिक्रिया दिएको छ । यता, इजरायलले पनि इरानमा आक्रमणलाई निरन्तरता दिने बताएको छ ।

इजरायल र इरानबीचको लडाइँको असर विश्व अर्थतन्त्रमा पनि परेको छ । नेपाल पनि यसबाट अछूतो रहेन । इजरायलले इरानका परमाणु केन्द्रहरूमा हमला गरेको खबर फैलिनसाथ विश्वव्यापी रूपमा कच्चा तेलको मूल्य १० प्रतिशत बढेको छ । यो युद्धको असर मध्यपूर्वका अन्य देशमा पनि पर्ने अनुमानका बीच त्रास फैलिएको छ । संसारमा भएका अन्य युद्धमा मध्यस्थता गरेका साउदी अरेबिया, युएई र कतारले यस युद्धमा पनि मध्यस्थता गर्ने अपेक्षा गरिएको छ ।

त्रासमै बाँचिरहेका छन् नेपाली

अहिले इरानसँगको युद्धका कारण इजरायलमा रहेका नेपाली त्रासमा छन् । ‘१७ वर्षदेखि यहाँ बसिरहेकाले इजरायलको सुरक्षा क्षमताबारे जानकारी छ । तर पनि साइरन बजेर बिउँझिएपछि बिहानसम्मै के हुने हो भन्ने डरले सुत्न सकिएन,’ इजरायलमा रहेका पोखराका गणेश गिरीलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ । सेनाले धेरै दिन घरभित्र बस्नुपर्ने जानकारी दिएपछि अन्य व्यक्तिझैँ नेपाली नागरिक पनि त्रसित छन् ।

मध्यपूर्वमा गएका नेपाली श्रमिकले पठाएको रेमिट्यान्स नै नेपाली अर्थतन्त्रको मुख्य आधार हो । नेपाली अधिकारी एवं गैरआवासीय नेपाली संगठनका आँकडाअनुसार हाल इजरायलमा करिब ५ हजार नेपालीहरू विभिन्न पेसा व्यवसायमा संलग्न छन् । खाडीमा नेपालीहरूको वास्तविक संख्या यकिन छैन । तथापि युएई, साउदी अरब, कतार, ओमान, कुवेत र बहराइनमा करिब १५ लाखभन्दा बढी रहेको अनुमान छ ।

नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२२ अनुसार कुल नेपाली श्रमिककध्ये ८५ प्रतिशत मुख्य ६ वटा खाडी देश र मलेसिया पुग्ने गरेका छन् । इरानसँग पर्सिअन खाडीमार्फत् जोडिने साउदी अरब, कतार र युएईमा लाखौँ संख्यामा नेपाली छन् । त्यसबाहेक यस द्वन्द्वमा जोडिएका इराक, लेबनानमा समेत हजारौँको संख्यामा नेपाली श्रमिकहरू छन् ।

प्रतिक्रिया