काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । काठमाडौँ महानगरपालिकाको सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माणको ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
सामाखुसी करिडोरको ढल निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा उनीहरूमाथि ४ करोड ३१ लाख ७२ हजार २८७ को सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोप छ । महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारसहित बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाइका सहायक निर्देशक उत्तम दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूले मिलेमतोमा ठेक्काको मूल्यांकन प्रक्रियामा मनपरी मूल्यांकन प्रतिवेदन तयार पारी सरकारी सम्पत्तिमा नोक्सानी पुर्याएको आरोप छ । ठेक्का प्रक्रियामा समानान्तर सेवा प्रालिले सबैभन्दा कम १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गरे पनि सोभन्दा बढी रकम २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ प्रस्ताव गरेको कल्पवृक्ष–कोहिनुर जेभीलाई ठेक्का दिइएको थियो ।
यसबाट महानगरलाई ४ करोडभन्दा बढीको नोक्सानी भएको ठहर गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र १९(२) अनुसार कसुर भएको जनाउँदै सबै प्रतिवादीलाई जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिमाना र कैद सजायको मागदाबी गरेको छ । परियार र महानगरका अन्य ६ जनाविरुद्ध अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएसँगै उनीहरू स्वतः निलम्बनमा परेका छन् । परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशक छन् ।
प्रतिक्रिया