संघीय अस्पतालमा २ हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्दै सरकार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा २ हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार जनशक्ति थप गर्ने गरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए ।

यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले २ हजार १०२ जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ । यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ । ५ वर्षसम्म हरेक वर्ष जनशक्ति थप गर्ने तयारी छ । यस वर्ष देशको सबैभन्दा ठुलो वीर अस्पतालमा ७७७ जनशक्ति थपिनेछ भने वीर अन्र्तगतकै ट्रमा सेन्टरमा ९० जना थप्न सकिनेछ । कान्ति बाल अस्पतालमा ७८ जना, परोपकार प्रसूति अस्पतालमा १७३ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३१७ जना स्वास्थ्य जनशक्ति थपिनेछन् ।

यस्तै, कोसी अस्पतालमा १७२, नारायणी अस्पतालमा ३१८ तथा भेरी अस्पतालमा १७९ जना थप हुनेछन् । गजेन्द्रनारायण स्मृति अस्पताल राजविराजमा १४४ जनशक्ति थपिँदा चितवनको भरतपुर अस्पतालले ४६५ जनशक्ति पाउनेछ । डडेलधुरा अस्पतालमा ५२ तथा औषधि व्यवस्था विभाग र प्रयोगशालामा गरी ४० जना जनशक्ति थप गर्ने गरी संगठन संरचना गरिएको छ ।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूमा चाप अत्यधिक भए पनि लामो समयसम्म जनशक्ति थप नहुँदा सेवामा भरहेको कठिनाइ केही हदसम्म हल हुने विश्वास व्यक्त गरे । ‘सरकारी अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि यो प्रतिवेदनले महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छु,’ उनले भने, ‘सम्बद्ध मन्त्रालयहरूसँग आवश्यक समन्वय गरेर यसको कार्यान्वयन गरिनेछ ।’

मन्त्री पौडेलले यो वर्ष मात्र नभएर हरेक वर्ष सर्भेक्षण गरिने भएकाले दूरगामी रूपमा जनशक्ति अभावको समस्या सम्बोधन हुने विश्वास गरे । यसले विभिन्न अस्पतालहरूमा रहँदै आएका अस्थायी र करारको दरबन्दी घटेर स्थायित्व प्राप्त गर्न मद्दत पुग्ने ठानिएको छ । २०६६ सालमा केही जनशक्ति थप भए पनि त्यसयता विस्तृत रूपमा संगठन तथा व्यवस्थापन सर्भेक्षण हुन सकेको थिएन । यस प्रतिवेदनको कार्यान्वयनले बढ्दो चाप सामना गर्दै रिक्त जनशक्ति पूर्ति तथा रोजगारी सिर्जनामा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया