मनसुन फैलिनुअघि नै फैलियो डेंगी आतंक : ७२ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ । मनसुन सुरु भएसँगै डेंगी संक्रमण देशव्यापी रूपमा फैलिएको छ । जुनदेखि अगस्ट (असार–भदौ) सम्मलाई डेंगी संक्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्यांकअनुसार जनवरी १ देखि जुन ८ सम्म १ हजार २५५ जना संक्रमित भेटिएका छन् भने ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै संक्रमितको संख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जना संक्रमित भेटिएका छन् ।

इडिसिडीका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगी शून्यमा ल्याउने र डेंगी गराउने लामखुट्टे सखाप पार्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने, ‘डेंगीको संक्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ । नागरिक, समुदाय, सरकारी–गैरसरकारी संस्था सबैले हातेमालो गर्नुपर्छ ।’

डा. दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले संक्रमण बढ्न सक्ने सम्भावना रहने सक्ने बताए । ‘यो वर्ष डेंगी संक्रमण बढ्छ वा स्थिर रहन्छ भनेर आकलन गर्न हामीसित भेक्टरको पर्याप्त तथ्यांक छैन । यद्यपि मनसुन केही अघि सुरु भएको र धेरै पानी पर्ने भनिएकाले पानी सञ्चित भएर बस्ने र लामखुट्टेको विकास हुने सम्भावनालाई नकार्न मिल्दैन,’ उनले भने ।

डा. दाहालका अनुसार डेंगी नियन्त्रणमा सबैले आआफ्नो ठाउँबाट बराबर सहभागिता जनाए र तीनै तहका सरकारले डेंगी नियन्त्रणसम्बन्धी आवश्यक कार्यक्रम गरेमा संक्रमण र यसबाट मृत्यु हुने दर पनि कम गर्न सकिन्छ । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । –रासस

प्रतिक्रिया