राज्यको चौथो अंगमा महिलाको पहुँच र भूमिका अझै न्यून छ : पूर्वराष्ट्रपति भण्डारी

झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अंगको रूपमा रहेको आमसञ्चार क्षेत्रमा महिलाको पहुँच र भूमिका अझै न्यून रहेको बताएकी छन् ।

नारी सञ्चार गृह झापाद्वारा आज विर्तामोडमा आयोजित अक्षयकोष घोषणा, पुस्तक विमोचन र दाता सम्मान कार्यकमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिले आमसञ्चार जगतमा महिला सहभागिता क्रमशः विस्तार हुँदै आए पनि संख्यात्मक दृष्टिले महिलाको उपस्थिति अझै न्यून रहेको बताइन् ।

उनले समाचार सम्पादन, निर्णय र नीतिनिर्माणको तहमा महिलाको पहुँच र भूमिका सीमित रहेकामा चिन्ता व्यक्त गर्दै सञ्चारमाध्यमको नेतृत्व तहमा पनि यो संख्या न्यून रहेको बताइन् । जनसंख्याको आधा हिस्सा ओगटेका महिलासँग सम्बन्धित विषय सञ्चारमाध्यममा प्रभावकारी रूपमा उठाउन महिला पत्रकारको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो ।

‘महिला आफैँले प्रत्यक्ष रूपमा अनुभव गरेका, नजिकबाट देखेका र जीवनका विभिन्न चरणमा भोगेका मुद्दामा महिला पत्रकारद्वारा नै तयार गरिने सामग्रीमा थप सम्वेदनशीलता, आफ्नो पहिचान र यथार्थ समेटिएको हुन्छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

चुनौतिपूर्ण परिवेशका बावजुद पनि महिला पत्रकारले देखाएको पेशागत दृढता, आत्मबल तथा सामाजिक परिवर्तनप्रतिको लगाव र प्रतिवद्धता प्रशंसनीय रहेको उनले बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले सोही अवसरमा नारी सञ्चार गृह झापाको अक्षयकोषमा सहयोग पुर्याने दातालाई सम्मानपत्र प्रदान गरिन् । साथै सो संस्थाद्वारा प्रकाशित ‘सञ्चारमा नारी’ पुस्तकको विमोचन समेत उनले गरिन् । पत्रकार महिलाको साझा संस्था नारी सञ्चार गृहले आफ्नो अक्षयकोषमा रु ५० लाख पुर्याएको अध्यक्ष रेजिना गौतमले जानकारी दिइन् ।

प्रतिक्रिया