जब खुसीराम थारुको मोबाइलमा अलर्ट म्यासेज आयो

बर्दिया । बर्दियाको राजापुरका खुसीराम थारू घरबाट निस्किने क्रममा अरु दिनझैं फोनमा एउटा म्यासेज आउँछ : कर्णाली नदीको जल सतह ९ मिटर पुगेकाले कर्णाली तटिय क्षेत्रमा बसोबास गर्ने समुदायहरू सतर्क रहनुहुन अनुरोध छ ।

पूर्वसूचना कार्यदलका संयोजक खुसीराम तुरुन्तै चिसापानीकी गेज रिडर पार्वती गुरुङलाई फोन गर्छन् । ‘हो, नदीको जलस्तर बढ्दैछ, समुदायलाई सतर्क गराउनुहोस्,’ उनी फोनमार्फत भन्छिन् ।

खुसीराम माइक्रोफोन निकाल्छन् र तल्लो कर्णाली तटिय क्षेत्रमा बसोबास गर्ने आफ्ना समुदायलाई सन्देश सम्प्रेषण गर्न सुरु गर्छन् । हरेक वर्ष विश्व वातावरण दिवस (जुन ५) को अवसरमा तल्लो कर्णाली तटिय क्षेत्रमा यस्तै अभ्यासहरु देख्न सकिन्छ ।

यस क्षेत्रका बाढीबाट प्रभावित हुने समुदायहरूले समुदायमा आधारित बाढीजन्य विपद्को कृत्रिम घटना अभ्यास आयोजना गर्दै सक्रिय सहभागिता जनाउँछन् । यो पहल सन् २०१४ मा प्राक्टिकल एक्सन नेपाल र अरू साझेदार संस्थाहरूले सुरु गरेका थिए, जुन अहिले नियमित र प्रतिक्षित कार्यक्रम भएको छ । खुसीराम र उनको समुदाय यो अभ्यासमा सहभागी भएको आठ वर्ष भइसकेको छ ।

यो अभ्यासमा जल तथा मौसम विज्ञान विभाग, प्रदेश सरकार, जिल्ला आपतकालीन सञ्चालन केन्द्रहरू, स्थानीय आपतकालीन सञ्चालन केन्द्रहरू, समुदायिक विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, सञ्चारकर्मीहरू लगायत विभिन्न सरोकारवाला निकायहरू सक्रिय रूपमा संलग्न हुन्छन् ।

स्थानीय सरकारले यस प्रकारको सामुदायिक अभ्यासका लागि रातो किताबमार्फत बजेट विनियोजन गर्न थालेका छन् र कार्यक्रम आयोजना तथा समन्वयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यस वर्ष कर्णाली नदी र बबई नदीको तल्लो तटिय क्षेत्रका प्राक्टिकल एक्सनले काम गरिरहेका १०१ भन्दा बढी सामुदायिक विपद् व्यवस्थापन समितिहरूले कृत्रिम घटना अभ्यासमा भाग लिएका छन् ।

बाढी कृत्रिम घटना अभ्यासले बाढी पूर्वसूचना प्रणालीका चार परस्पर सम्बन्धित पक्षहरू – जोखिमबारेको ज्ञान, निगरानी र चेतावनी, संचार तथा संप्रेषण‌‌, प्रतिकार्य क्षमताको परीक्षण गर्छ । यसले वास्तविक बाढीका घटनाहरूमा विभिन्न तहका सूचना प्रयोग गरेर क्षति न्यूनीकरण गर्न सहयोग गर्छ । सरल भाषामा भन्नुपर्दा बाढी कृत्रिम घटना अभ्यासले पूर्वतयारीका माध्यमबाट सम्भावित विपद् रोक्न सहयोग गर्छ ।

यस अभ्यासमा समुदायले बाढीको जोखिमबारे जानकारी बाढी आउनुभन्दा धेरै अगाडि नै प्राप्त गर्छ । त्यसपछि समुदायले आफूले सिकेका सीप र ज्ञान प्रयोग गरेर सूचना प्राप्त तथा प्रवाह गरी समन्वित प्रतिक्रिया दिन सक्षम हुन्छ ।

जिम्मेवार व्यक्तिले स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रबाट बाढीको सतह चेतावनी तह नजिक पुगेको जानकारी प्राप्त गर्छन् । त्यसपछि तत्काल आपतकालीन केन्द्रको बैठक बोलाइन्छ र सबै सदस्य तथा कार्यदलहरू तयारी अवस्थामा रहन भनिन्छ । पूर्वसूचना कार्यदल र महिला स्वयंसेविकाहरूले मेगाफोन, घरदैलो भ्रमण, झण्डा वा अन्य उपयुक्त संचार माध्यमबाट सूचना फैलाउँछन् ।

आधाघण्टापछि बाढीको सतह चेतावनी तह पुगेको खबर आउँछ । त्यसपछि चेतावनी साइरन बजाइन्छ र स्वयंसेवकहरूले समुदायमा जानकारी दिन्छन् । जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, अपांगता भएका व्यक्ति जस्ता संवेदनशील समूहहरूलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिन्छ ।

अन्ततः, जब तेस्रो पटक खतरा तहको सूचना प्राप्त हुन्छ, समुदायका सबै व्यक्तिहरू सुरक्षित आश्रयस्थलतर्फ लाग्छन् । खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल र अन्य स्वयंसेवकहरूले आवश्यक सहयोग प्रदान गर्छन् ।

यस वर्ष कञ्चनपुरस्थित साझेदार संस्था पेसवान (PESWAN) लाई बाढी पूर्वतयारी अभ्यास अवलोकन गर्न आमन्त्रित गरिएको थियो । उनीहरू १६ वटा सीडीएमसी (CDMC) का दुई सदस्यहरूसहित कार्यक्रममा सहभागी भए ।

यो अभ्यास प्रभावकारी पाए कि पाएनन् भनेर प्रश्न गर्दा, पेसवानका बोर्ड सदस्य दमन चन्दले भने, ‘यो बाढीको एकदमै यथार्थपूर्ण अभ्यास थियो, जब साँच्चै बाढी आउँछ, त्यतिबेला मानिसहरूलाई के गर्ने भन्ने थाहा हुँदैन, त्यसैले यस्तो अभ्यासले आवश्यक कदम चाल्न सजिलो बनाउँछ । हामी आगामी वर्ष कञ्चनपुरमा पनि यस्ता अभ्यासहरू आयोजना गर्न उत्साहित छौं ।’– लेख शुभांगी खड्का, तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया