नेपाल फेरि पनि अँध्यारोमा डुबेको छ । तर यो अँध्यारो केवल विद्युत्को नभएर, नीति, नीयत र नेतृत्वको क्षयको संकेत हो । देशको समर्पित सपूत, इमानदार अभियन्ता, उज्यालो क्रान्तिका अगुवा कुलमान घिसिङलाई हटाएर खन्याइएको कालो राजनीति, अहिले मुलुकभरि आगोको मुस्लो बनेर बलिरहेको छ ।
नेपाली जनताले फेरि एकपटक मैनबत्ती बालेर विद्रोहको सुरुआत गरेका छन् । यो मैनबत्ती अब केबल उज्यालोको प्रतीक होइन, यो देशको आत्माको उज्यालो हो, जुन गद्दारीको अँध्यारो विरुद्ध दन्किएको छ । कुलमान हटे, लोडसेडिङ फर्कियो, अनि जनविद्रोहले स्वर पाए ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट घिसिङको अमानवीय र राजनीतिक बदला स्वरूप हटाई हितेन्द्रदेव शाक्यको नियुक्ति लगत्तै देशभर लोडसेडिङको भयावह पुनरावृत्ति सुरु भएको छ । घर–घर अन्धकारमा डुबेका छन्, र जन–जनको मनमा क्रोधको ज्वालामुखी विस्फोट हुन थालेको छ ।
‘कुलमान फर्काऊ, ओली हटाऊ’ भन्ने नाराले मुलुकका सडकहरू गुञ्जाइरहेका छन् । राजधानी काठमाडौँदेखि लुम्बिनी, जनकपुर, पोखरा, विराटनगर हुँदै सुदूरपश्चिमसम्म मैनबत्ती जलाउने, बत्ती बालेर विद्रोह गर्ने अभियान मौलाएको छ ।
वर्तमान ओली नेतृत्वको सरकारमाथि जनता मात्र होइन, अब आफ्नै पार्टीभित्रको असन्तुष्ट झट्का पनि प्रकट हुन थालेको छ । गुटगत मतभेद, जनदबाब र गठबन्धन दलहरूको स्पष्ट असहयोगले ओली सरकारको इन्धन सकिएको देखिन्छ । यो केवल सरकारको फेरबदल होइन – यो जनविद्रोहको विजय हुनेछ ।
मैनबत्तीले उज्यालो मात्र दिन्न, जब अन्धकारले न्याय खान थाल्छ, तब यही मैनबत्ती क्रान्तिको आगो बन्छ । अहिले देशका प्रत्येक नागरिक यो मर्म बुझिरहेका छन् । कुलमान घिसिङले देखाएको इमान, निष्ठा, कार्यदक्षता र राष्ट्रभक्ति अब केवल स्मरण होइन, यो प्रतिरोधको बलियो शक्ति बनेको छ । कुलमान अब केवल इन्जिनियर होइनन्, उनी ‘जन–नायक’ हुन् । जनभावनाका अग्निस्रोत हुन् । उनको पक्षमा उभिनु, आज स्वतन्त्रताको पक्षमा उभिनु हो ।
अन्तर्राष्ट्रिय मिडियाहरूले कुलमानको बर्खास्तगीलाई ‘राजनीतिक घात’ को संज्ञा दिएका छन् । दक्षिण एसियाको ऊर्जा क्रान्तिका प्रेरक व्यक्तित्वमाथि गरिएको यो कार्य विश्वकै दृष्टिमा घृणास्पद कृत्य बनिरहेको छ । यही कारण हो, नेपालमा भित्रिएको यो विद्रोह अब केबल राष्ट्रिय संकट होइन, अन्तर्राष्ट्रिय चेतनाको केन्द्रीय मुद्दा बन्ने बाटोमा छ । कुलमान घिसिङको उज्यालो – अब मुलुककै स्वाभिमान बनेको छ, हामीले बत्ती मागेका थियौँ, हामीले सेवा मागेका थियौँ, हामीले इमान मागेका थियौँ तर केपी ओली नेतृत्वको सरकारले हामीलाई अन्धकार, अत्याचार र अविश्वास दियो । अब हामीले प्रतिरोध दिन्छौँ, अन्धकारमा पनि अडिग भएर, मैनबत्तीको उज्यालोमा क्रान्तिको धावा दिन्छौँ ।
कृष्णबहादुर तामाङ
एभरेस्ट फ्लोरिकल्चर हाउस
काठमाडौँ ।
०००
किन पेचिलो बन्दैछ, भैरहवा विमानस्थलको छनबिन ?
भैरहवामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण गर्दा भएको भ्रष्टाचारको मुद्दा यतिबेला निकै पेचिलो बनेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प मानिएको भैरहवा विमानस्थल निर्माणका लागि जम्मा ८ अर्ब २२ करोड लगानी भएको थियो । तर, विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जामा भने २३ अर्ब रुपैयाँ खर्च भएको थियो । साढे ४०० बिघा जग्गा भए विमानस्थल निर्माण गर्न पर्याप्त हुने भए पनि ७०० बिघा अधिग्रहण गरिएको थियो ।
चलनचल्तीको मूल्यभन्दा ३ गुणा बढी मूल्य तिरेर आवश्यकभन्दा करिब दोब्बर जग्गा अधिग्रहण गर्नु आफैँमा ठुलो भ्रष्टाचार हो । तर, यो भ्रष्टाचार छानबिनका सन्दर्भमा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिमा विवाद उत्पन्न भएको छ । छानविनका लागि गठन गरिएको उपसमिति आफैँ विवादमा फँसेपछि नेपाली कांग्रेसकी सांसद मञ्जु खाणको संयोजकत्वमा फेरि अर्को उपसमिति गठन गरिएको समाचार आएको छ ।
यसअघि एमाले सांसद योगेश भट्टराईको संयोजकत्वमा उपसमिति गठन गर्ने प्रसाद गरिएकोमा रास्वपाका सांसद मनिष झाले स्वार्थ बाझिने भन्दै आपत्ति प्रकट गरेका थिए । पूर्व पर्यटन मन्त्रीसमेत रहेका कारण भट्टराई संयोजक बन्दा स्वार्थ बाझिने अनुमान गरिनु स्वभाविकै थियो । तर मञ्जु खाण उपयुक्त पात्र हुन् वा होइनन् ? भन्ने सन्दर्भमा लेखा समितिले गम्भीरतापूर्वक ध्यान पु¥याउन सकेको देखिएन ।
त्यसैगरी जग्गा खरिद प्रकरण मात्रै होइन विमानस्थल निर्माणका लागि ठाउँ छनौट गर्दासमेत ध्यान पु¥याउन नसकिएको पुष्टि भएको छ । अहिलेको भन्दा २ किलोमिटर उत्तरमा उक्त विमानस्थल निर्माण गरिएको भए प्रत्येक उडान तथा अवतरणका लागि भारतको अनुमति लिनुपर्ने वाध्यता नपर्ने र हुस्सु तथा तुँवालो लागेको बेलामा समेत उडान तथा अवतरण गर्न सकिने विज्ञहरूले जनाएका छन् । त्यसैले स्थान छनौट गर्नेहरूमाथि पनि छानबिन गर्नु जरुरी छ ।
सविन लोप्चन, म्याग्दी बेनी
प्रतिक्रिया