काठमाडौँ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका छन् । पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित कार्यक्रममा उनले गभर्नर नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक भएको उल्लेख गर्दै भने, ‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन । ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ । राष्ट्र बैंकभित्रकै समस्या हो ।’
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको बताइए पनि अझै अन्योल नै छ । प्रधानमन्त्री ओलीको जोडबल कायममुकायम गभर्नर नीलम ढुंगानालाई बनाउने छ भने देउवा भट्टलाई गभर्नर बनाउन चाहन्छन् । ढुंगानाले भट्टको राजीनामासमेत स्वीकृत गरेकी छैनन् ।
यद्यपि, हालसालै भएको भेटका क्रममा प्रधानमन्त्री ओलीले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट भट्टलाई गभर्नर नियुक्त गर्ने ‘वचन’ देउवालाई दिएका थिए । ओलीको वचनपछि यसअघि गभर्नरको विषयमा सार्वजनिक अभिव्यक्ति नदिएका देउवाले ओली र सरकारको बचाउ गरेका हुन् । गभर्नरकै विषयले सरकार ‘तलमाथि’ हुन सक्ने कांग्रेसको चेतावनीपछि ओली भट्टलाई गभर्नर बनाउन तयार देखिएका हुन् ।
मंगलबार देउवाले भट्टको राजीनामा हालसम्म स्वीकृत नगरेको र सिफारिस समितिको निष्क्रियतालाई संकेत गरेका हुन् । गभर्नर नियुक्तिको विषय यति धेरै गिजोलिएको इतिहासमै पहिलो पटक हो । बहालवाला गभर्नर अवकाश हुनु १ महिनाअगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान छ । त्यस्तो प्रावधान लत्याएको सरकारले यसबीच सिफारिस समितिलाई नै खेलौना बनाएको छ ।
समिति बनाएर एक पटक पनि बैठक नबसेको भन्दै पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएर नयाँ सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन् । बिचौलियाको चंगुलमा फसेर सरकारले गभर्नर पदकै गरिमा खस्किने गतिविधि गरेको आरोप लाग्दै आएको छ । स्वार्थ समूह तथा बिचौलियाको चलखेलका कारण अझै गभर्नर नियुक्त गर्न नसकेको सरकारले राष्ट्र बैंकलाई कतिन्जेल कामुको भरमा चलाउने हो भन्ने अन्योल कायमै छ ।
प्रतिक्रिया