६६१ स्टार्टअप सहुलियत कर्जा अनुदानमा छनोट

काठमाडौँ । चालु आर्थिक वर्षका लागि ६६१ वटा स्टार्टअपहरू सरकारले दिने सहुलियत कर्जा अनुदानमा छनोट भएका छन् । ३ प्रतिशत ब्याजमा स्टार्टअप कर्जा उपलब्ध गराउने सरकारको योजनाअनुरूप आवेदन दिएकामध्ये ६६१ वटा स्टार्टअप कम्पनीले सहुलियतपूर्ण ब्याजमा कर्जा पाउने भएका हुन् ।

१ हजार ७३ परियोजना मध्येबाट ६६१ वटा मात्र कर्जाका लागि योग्य

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आवेदन परेका योग्य १ हजार ३१४ वटा परियोजनाबाट १ हजार ७३ वटा परियोजनालाई प्रस्तुतीकरणका लागि बोलाएको थियो । जसबाट ६६१ वटालाई कर्जाका लागि योग्य भएको ठहर गर्दै स्टार्टअप कर्जाका लागि स्वीकृत गरेको हो । प्रतिष्ठानले छनोटमा परेका स्टार्टअपहरूलाई ३ प्रतिशतको वार्षिक ब्याजदरको आधारमा कर्जा दिन पनि राष्ट्रिय वाणिज्य बैंकलाई सिफारिस गरिसकेको छ । छनोटमा परेका कम्पनीहरूले राष्ट्रिय वाणिज्य बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयबाट कर्जा लिन अनुरोध गरेको छ ।


१५ लाखभन्दा बढीको कर्जा पाउने

प्रतिष्ठानले यस्ता कर्जाहरूलाई वार्षिक ३ प्रतिशतको ब्याजदरमा १५ लाख वा आवश्यकताअनुसार सोभन्दा बढीको कर्जा पाउने व्यवस्थाअनुरूप सिफारिस गरेको हो । यसमा बैंकहरूले प्रशासनिक वा सेवा शुल्कबापत शून्य दशमलव १ प्रतिशतसम्म मात्रै शुल्क असुल गर्न पाउनेछन् । जसअनुसार अब छनौटमा परेका स्टार्टअपहरूलाई बैंकले कर्जा प्रवाह गर्दा बढीमा ५ लाखसम्मको कर्जाको हकमा १ किस्तामै कर्जा दिनुपर्ने, १५ लाखसम्मको कर्जामा २ किस्तामा दिइसक्नुपर्ने र सोभन्दा माथिको हकमा ३ किस्तामा दिइसक्नुपर्नेछ ।

छनोटमा परेका स्टार्टअपले छनोटका लागि प्रस्ताव गरेको कर्जाभन्दा बढी कर्जा लिन चाहेमा भने कर्जाको प्रथम किस्ताको प्रयोग परियोजनामा गरिएको खुल्ने कागजात खुल्ने गरी बैंकमा थप किस्ता माग गर्न सक्नेछन् । सोहीअनुसार बैंकले निरीक्षण गरेर थप कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस प्रकारको कर्जामा भने धितोको रूपमा बैंकहरूले व्यवसाय वा परियोजना नै राख्नेछ । प्रतिष्ठानले कृषि, सिँचाइ तथा पशुपक्षी, उत्पादनमूलक, वन, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन, विज्ञान प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइलगायतका १९ वटा क्षेत्रलाई स्टार्टअप कर्जा उपलब्ध गराउनेछ ।

प्रतिक्रिया