ओली प्रधानमन्त्री रहुन्जेल यस्तै हो !

ओली प्रधानमन्त्री पदमा रहुन्जेल नेपालले यस्ता धेरै अवसर गुमाउने र अन्तर्राष्ट्रिय जगतबाट नेपाल एक्लिँदै जाने निश्चित छ । यो कुरा कांग्रेस सभापति देउवालाई पक्कै पनि थाहा हुनुपर्छ ।

नेपाली कांग्रेसको आन्तरिक द्वन्द्व बढ्दै गएको छ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको गठबन्धन सरकारलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवा जति सक्रिय देखिन्छन्, इतर पक्षका नेता डा.शेखर कोइराला सरकारका गलत क्रियाकलापविरुद्ध त्यो भन्दा बढी सक्रिय देखिन्छन् । तत्कालको अवस्था हेर्ने हो भने सभापति देउवासँग संसदीय दल र पार्टीको केन्द्रीय समिति दुवैमा बहुमत छ । पहिलो कुरा त नेपाली कंग्रेस सभापतीय पद्धतिमा चल्ने र प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनैपर्ने मान्यता बोकेको पार्टी हो । दोस्रो केन्द्रीय समिति र संसदीय दल दुवैमा बहुमत भएकोले सभापति देउवा निर्णायक अवस्थामा छन् ।

तर, अब नेपाली कांग्रेसको राजनीति देउवाका लागि यसरी नै अनुकूल भएर जाला भन्ने अनुमान गरियो भने ठूलो गल्ती हुनेछ । किनकी देउवा अस्ताउँदा नेता हुन् । डा.कोइराला उदाउँदा नेता हुन् । बिपी कोइराला सक्रिय रहँदासम्म नेपाली कांग्रेसको धु्रवीकरण वैचारिक आधारमा हुन्थ्यो । पाटीभित्र विभिन्न गुट तथा उपगुट हुँदाहुँदै पनि वैचारिक स्पष्टताका कारण बिपी कोइराला नेपाली कांग्रेसको एउटै धु्रव थिए । तर बिपीको निधनपछि नेपाली कांग्रेसभित्रको गुटगत राजनीति तथा धु्रवीकरण विचारका आधारमा नभएर स्वार्थका आधारमा हुन थालेको प्रष्ट छ । हिजो नेपाली कांग्रेसभित्र कोइराला पक्ष निकै नै बलियो थियो । गणेशमान सिंह तथा कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूलाई सजिलै किनारा लगाउन गिरिजाप्रसाद कोइराला सफल भएका थिए । किनकी त्यतिबेला सिंह र भट्टराई अस्ताउँदा नेता थिए भने गिरिजाप्रसाद उदाउँदा नेता थिए ।

बलेको आगो ताप्न चाहने सबैले गिरिजाप्रसादको साथ दिए । गिरिजाप्रसाद जब वृद्ध हुँदै गए तब देउवा क्रमशः उदाउन थाले । अब पार्टीको नेतृत्व देउवाको हातमा जाँदै छ भन्ने अनुमान लगाउन नेपाली कांग्रेसको स्वार्थ समूहलाई खासै समस्या भएन । त्यसमाथि पनि पार्टीको नेतृत्व आफ्नो हातमा ल्याउन देउवाले गरेको अथक मिहिनेत तथा भरमग्दुर प्रयासलाई नजरअन्दाज गर्न मिल्दैन । यसका लागि कोइराला परिवारलाई समेत विभाजन गर्न देउवा सफल भए । कोइराला पक्षका हस्ती मानिने कृष्णप्रसाद सिटौला, केबी गुरुङ, गोविन्दराज जोशी, फरमुल्लाह मन्सुरलगायत धेरै नेताहरूले देउवालाई साथ दिएका थिए ।


अबको परिस्थिति भने भिन्न देखिएको छ । सुरुदेखि नै देउवा पक्षमा सतिसाल जरी उभिँदै आएका मोहनबहादुर बस्नेतले एउटा सार्वजनिक समारोहमै भने, ‘आगामी १५औँ महाधिवेशनमा पनि देउवा नै सभापतिमा चुनाव उम्मेदवार बन्ने अवस्था भएको भए अबको सभापति को ? भन्ने प्रश्न नै आउँदैनथ्यो, तर पार्टीको विधान र उमेरका कारण उहाँ उम्मेदवार बन्ने सम्भावना रहेन, त्यसैले शेखर कोइरालालाई साथ दिन मलाई अप्ठेरो छैन ।’ स्पष्ट वक्ता भएकोले बस्नेतले यसरी सार्वजनिक रूपमा बोल्ने हिम्मत जुटाए । तर सार्वजनिक रूपमा नबोले पनि नेपाली कांग्रेसको संस्थापन पक्षका धेरै नेताहरूले नयाँ छहारी खोज्न थालिसकेको समाचार आएको छ । एनपी साउददेखि डिना उपाध्यायसम्म, महेन्द्र यादवदेखि भीष्मराज आङ्दम्बेसम्मका नेताहरूलाई बालकृष्ण खाँणले डा.कोइरालाको क्याम्पमा पु¥याएका समाचारहरू असत्य होइनन् ।

यसैगरी गत महाधिवेशनमा डा.शशांक कोइरालाले आफ्लाई तटस्थ भने पनि भित्री रूपमा देउवालाई साथ दिएका थिए । प्रकाशमान सिंह अध्यक्ष रहेको प्यानलबाट कोषाध्यक्षको उम्मेदवार बनेकी सुजाता कोइरालाले दोस्रो चरणको निर्वाचनमा खुलेरै देउवालाई भोट मागेकी थिइन् । यति हुँदा हुँदै पनि त्यतिबेला डा. शेखरले झिनो मतले चुनाव हारेका थिए । तर यतिबेला सुजाताले डा.शेखरको पक्षमा क्याम्पिङ थालिसकेकी छन् भने डा.शशांकले पनि देउवा क्याम्पबाट सभापति उम्मेदवार बन्ने सम्भावना नरहनासाथ डा.शेखरलाई साथ दिने निश्चित जस्तै छ ।

त्यसो त गत १४औँ महाधिवेशनमा डा.शेखरका लागि अर्को जटिल प्रतिकूल परिस्थिति पनि थियो । किनकी उनी सभापतिको उम्मेदवार बन्दै गर्दा सांसदसमेत थिएनन्, तर देउवा बहालवाला प्रधानमन्त्री थिए । देउवाले हार्दा नेपाली कांग्रेसको हातबाट सरकारको नेतृत्व गुुम्न सक्ने सम्भावनालाई कांग्रेसका उल्लेख्य महाधिवेशन प्रतिनिधिहरूले ख्याल गर्नु स्वभाविकै थियो । किनकी सांसदसमेत नरहेका डा.शेखरले सभापति पदमा चुनाव जितेकै भए पनि प्रधानमन्त्री बन्ने संभावना थिएन । तर, अबको परिस्थिति भने भिन्न छ । किनकी कांग्रेसको संस्थापन पक्षभित्र देउवाको उत्तराधिकारी को हो ? भन्ने प्रश्न अनुत्तरित छ । देउवा बाहेकका अरू नेताहरूलाई एकले अर्को स्वीकार्ने अवस्था छैन ।

त्यसैगरी पछिल्लो समयमा नेपाली कांग्रेसभित्र हिन्दुराज्य र संवैधानिक राजसंस्थाको सन्दर्भमा वैचारिक धु्रवीकरण देखिएको छ । संवैधानिक राजसंस्थाको पक्षमा नेपाली कांग्रेसभित्र कति शक्ति छ ? भन्ने प्रश्नको उत्तर एकीन छैन, तर हिन्दुराज्यको पक्षमा भने नेपाली कांग्रेसभित्र बहुमत छ । जुन कुरा पछिल्लो महासमितिको बैठकमा भएको हस्ताक्षर अभियानले पनि पुष्टि गरिसकेको छ । कोइराला परिवार हिन्दुराज्यको पक्षमा स्पष्ट उभिएको छ । डा.कोइराला स्वयंले जनमत संग्रहबाट यो मुद्दा टुंग्याउनुपर्छ भन्नु अर्थपूर्ण छ । संवैधानिक राजसंस्थाको प्रश्नमा पनि डा.कोइराला निकै सहिष्णु देखिएका छन् । राजावादी आन्दोलनको प्रतिकारमा कांग्रेसका अन्य नेताहरू मुखर हुँदै गर्दा डा.कोइराला मौन देखिए । उनले कहीँ पनि छुद्र टिप्पणी गरेको सुनिएन । सबैलाई मिलाएर लैजान सक्ने परिपक्व नेताको खडेरी नेपालमा छैन भन्ने सन्देश उनले दिए ।

देशको आन्तरिक राजनीतिक सन्तुलनको मामिलामा मात्रै होइन, देशको धरातलीय यथार्थ बुझेर अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका सन्दर्भमा पनि डा.कोइरालाले परिपक्वता प्रदर्शन गरेका छन् जुन कुरा विदेश भ्रमणका क्रममा उनले पाउने गरेको स्वागत सत्कार तथा विदेशी अतिथि नेपाल आउँदा उनलाई दिने गरेको महत्वले पनि पुष्टि गर्छ । राज्यको पोर्टाफोलियो हेर्दा उनी सांसद मात्रै हुन्, पूर्वमन्त्रीसमेत होइनन् । नेपाली कांग्रेसभित्रको पोर्टफोलियो हेर्दा पनि सभापति देउवाले उनको मर्यादाक्रम प्रदेश सभापतिभन्दा पनि तल राखेको देखिन्छ । तर, चाहे चीनबाट आएका अतिथि हुन् या भारतबाट, डा.कोइरालालाई भेटेरै फर्कन्छन् । यतिसम्मकी गत पुसको अन्तिम साता बेलायतको सरकारले उनलाई औपचारिक भ्रमणमा मात्रै बोलाएन, संसद् भवनमा विशेष कार्यक्रम आयोजना गरी उनलाई मुख्य वक्ता बनायो । यस्तो अवसर अहिलेसम्म कुनै पनि नेपाली नेताले पाएका छैनन् । अन्य देशका पनि थोरै नेताहरूले मात्रै यस्तो अवसर पाएका छन् ।

हालै नेपाल भ्रमणमा आएका भारतको सत्तारूढ पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले पनि डा.कोइरालासँगको भेटघाटलाई निकै महत्व दिएको समाचार आएको छ । इतिहास हेर्दा छिमेकी देश भारत र चीनको विश्वास जित्ने मामिलामा मात्रै होइन, पश्चिमा देशहरूको विश्वास जित्ने मामिलामा बिपी कोइराला सफल देखिन्छन् । भारत र अमेरिकाको त्यो दबदबाको बेलामा पनि बिपी कोइरालाले चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसबीच पार्टीगत सम्बन्ध स्थापित गरेको पाइन्छ ।

देउवा सभापति बनेपछि नेपाली कांग्रेसको सम्बन्ध न भारतसँग राम्रो देखिएको छ, न चीनसँग । तर, कोइराला परिवारले भने यी दुवै देशसँगको सम्बन्धलाई आफ्ना तर्फबाट निरन्तरता दिएको देखिन्छ । नेपाली कांग्रेसको नेतृत्व अब डा.कोइरालाले लिऊन् भन्ने सद्भाव चीन, भारत, बेलायत, अमेरिका लगायतका देशहरूको समेत देखिन्छ ।

यतिबेला देशको आन्तरिक परिस्थिति मात्रै खराब हुँदै गएको छैन, अन्तर्राष्ट्रिय परिस्थिति झन् खराब हुँदै गएको देखिन्छ । छिमेकी भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणका लागिसमेत नबोलाएको अवस्था छ । केही महिनाअघि भएको ओलीको चीन भ्रमण पनि सफल हुन सकेन । चीनले पनि ओलीलाई विश्वास नगरेको अवस्था छ । पश्चिमा मुलक युरोप तथा अमेरिकाको सन्दर्भमा त ओलीको सम्बन्ध बिस्तार गर्ने ल्याकतसमेत देखिन्न । रुस–युक्रेन युद्ध, इजराइल– मासयुद्ध तथा अमेरिकामा उत्पन्न नयाँ परिस्थितिका सन्दर्भमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अस्तित्व देखाउने अवसर थियो । भारत भ्रमणमा आएका अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई केही घण्टाका लागि भए पनि नेपालमा ल्याउन सकिन्थ्यो । तर, प्रधानमन्त्री ओलीको अयोग्यताका कारण नेपालले यो अवसर गुमाएको छ ।

ओली प्रधानमन्त्री पदमा रहुन्जेल नेपालले यस्ता धेरै अवसर गुमाउने र अन्तर्राष्ट्रिय जगतबाट नेपाल एक्लिँदै जाने निश्चित छ । यो कुरा कांग्रेस सभापति देउवालाई पक्कै पनि थाहा हुनुपर्छ । परराष्ट्रमन्त्रीसमेत रहेकी आफ्नी श्रीमती डा.आरजु राणाबाट देउवाबाट पक्कै पनि यस विषयमा ब्रिफिङ लिएको हुनुपर्छ । तर अबको १५ महिनापछि ओलीबाट प्रधानमन्त्री पद हस्तान्तरण हुने लोभमा देउवा मौन छन् । सत्ताको लोभका कारण देउवाले देशको जटिल परिस्थितिलाई अनदेखा गरिरहेका बेला डा.कोइरालाको उदाउँदो छवीलाई औँसीको रातको अगुुल्टोका रूपमा लिन सकिन्छ ।

(कार्की बरिष्ठ अधिवक्ता हुन् ।)

प्रतिक्रिया