काठमाडौँ । ‘यत्ति धेरे माया किन जो आफ्नो हुँदैन मेरो, सेरोफेरो दिएर पनि उसै जान्छ खेरो’ पूरण गिरीले लेखेको तथा दिव्य रत्न तुलाधरको संगीतमा बानिका प्रधानको स्वरको यो गीत एकपटक होइन पटकपटक सुन्दा पनि त्यत्तिकै मिठो लाग्छ र सुन्ने धित पनि मर्दैन । प्रशासनिक भूगोलभन्दा कलाको दायरा धेरै फराकिलो हुन्छ नै । यसका सयौँ उदाहरण मध्यकी एक हुन् बानिका प्रधान ।
नेपाल बाहिरका नेपाली भाषीको नेपाली संगीतमा रहेको योगदान सायद जत्ति प्रशंसा गरे पनि कमै हुन्छ । नेपाल बाहिरका हरेक नेपालीका सिर्जना साँच्चै हृदयस्पर्शी र माथिल्लो तहका छन् । गोपाल योञ्जन, हरिभक्त कटुवाल, दावा ग्याल्मो, नोर्देन रुम्बा, शरण प्रधान, अरुणा लामा र कर्म योञ्जनलगायत अनेक सीमा पारका नेपाली भाषीका सिर्जनाले नेपाली संगीत सुसज्जित र परिष्कृत छ । यसै उच्च स्तर र गुणस्तरीय संगीतको शृंखलाका पछिल्ला पुस्तामा आइपुग्दा मिना निरौला, मिलन नेवार र पुस्पन प्रधानजस्ता नामहरूसम्म आइपुग्दा कायम नै छ ।
यस पटकको चर्चा विगत १ दशकभन्दा लामो समयदेखि नेपालमा रहेर, नेपाली संगीतलाई नै पेसा बनाएर नेपाली संगीत प्रेमीको मनमा बस्न सफल नाम हो, बानिका प्रधान । सन् २०१३ को कुरा गोपाल योञ्जनको पुराना गीतलाई फेरि रेकर्ड गर्न उनकै पत्नी रिन्छेन योञ्जन र सचिन सिंह दार्जिलिङ गएका थिए । दार्जिलिङमा उनीहरूले खोजेको जस्तो आवाज बानिकाको नै पाइन् ।
तिनै बानिका गोपाल योञ्जनको गीत रेकर्ड गराउन काठमाडौँ आएकी थिइन् । सोही रेकर्डको क्रममा उनको आवाजले धेरैको मन जितेको थियो । धेरैले उनलाई काठमाडौँमा नै रहेर संगीतमा लाग्न सुझाए । सोही सल्लाहअनुसार सन् २०१४ देखि उनी काठमाडौँमा छिन् । यस बीचमा नेपाली संगीतले धेरै आरोह र अवरोहको सामना गरेको छ । यस बीचमा बानिकाको गीत कालजयी भए भनेर भनी हाल्न त नमिल्ला । तर, कठोर साधनाले निखारिएका बानिकाको स्वर भएका हरेक गीत सुन्दा आनन्द भने पक्कै आउँछ ।
हालसम्म १ हजारभन्दा बढी गीत गाइसकेकी बानिकाकै लागि यो नै मन पर्ने गीत भन्ने पक्कै पनि छैन । नेपाली संगीतमा जमेका नाम न्युह बज्राचार्य, दीपक जंगम, हरि लम्साल, सुशान्त गौतम हुँदै अनमोल थापा, सुशान्त गौतम, सजल न्यौपाने, कालीप्रसाद बाँस्कोटा, सन्तोष श्रेष्ठ र भावेश भुमरीलगायत नाम चलेका हस्तीले कम्पोज गरेको संगीतमा उनले स्वर दिइसकेकी छन् । उनले गाएको १ हजार गीतमा नेपाली, हिन्दी, बंगला, मधुवनी, भोजपुरी र मैथिली भाषाका छन् ।
३ वर्षअघि राखी गौचनको युट्युब च्यानलमा बानिकाका गीतहरू संग्रहित छन् । राखी गौचनले लेखेको ६ वटा गीतहरू यत्तिकै मिठास छन् । ३ वर्षअघि आएको धन लेप्चाको शब्दमा रहेको न्यहु बज्राचार्यको गीत पनि त्यत्तिकै बेजोड छ । ‘तिमीले जस्तै शिखरमा कहाँ टेक्न सक्छु, तिमीले जस्तै इतिहास कहाँ लेख्न सक्छु’, बोलको गीत कम्ती मिठो छैन ।
‘सजिएकी छु आज । प्रियतमकी लागि भनी । ए ऐना तने भनिदे । कस्ती देखिएकी छु भनिदे ।’ भूषण खरेलले लेखेको ए ऐना बानिकाको अर्को उत्कृष्ट गीत हो । यो गीत पनि न्यहु बज्राचार्यकै हो । बानिकाको सबै गीत अहिलेको कमर्सियल बजारमा सफल रहे, भन्नेचाहिँ पक्कै होइन । पक्का के हो भने उनको गीत एकपटक सुन्नेहरू फेरि त्यही पुग्ने गरेका छन् ।
प्रतिक्रिया