काभ्रे । ‘समयको साथ मात्र होइन, विचारको अग्रगामी यात्रामा पनि सधैँ अगाडि रहने संस्था हो, जनमत वाड्मय प्रतिष्ठान ।’ यही सन्देशसहित शनिबार बनेपामा भव्य साहित्यिक समारोहका साथ संस्थाले आफ्नो ४१औँ वार्षिकोत्सव मनाएको छ ।
वरिष्ठ साहित्यकार मोहन दुवालको अगुवाइमा सञ्चालन भइरहेको जनमतको साहित्य मासिक पत्रिकाले ४१औँ वर्ष पार गर्दै नेपाली साहित्यमा योगदान दिने स्रष्टाहरूलाई सम्मान गर्दै आफ्नो दीर्घ साहित्यिक यात्रामा एक ऐतिहासिक पाना थपेको हो । अरनिको पार्टी प्यालेस, बनेपामा कुनै औपचारिक हुलहुज्जजस्तो लाग्ने वातावरण होइन, जहाँ साहित्यिक भावनाले भरिएका आत्माहरू, कविताको स्वर, सम्मानको चमक र विचारको ऊर्जाले सभा विशेष बनेको थियो । सभामा उपस्थित सबै सर्जगमा उत्साह थियो ।
कार्यक्रमका प्रमुख अतिथि हरिराम जोशीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दा त्यो उज्यालो केवल सुरुआत मात्र नभई नेपाली साहित्यमा प्रेरणा, निरन्तरता र समर्पणको उज्यालो बनेर फैलिएको अनुभूति भएको सहभागी अतिथिले बताएका थिए ।
कार्यक्रममा साहित्यकार स्व.हृदयचन्द्र सिं प्रधानलाई सम्मान गर्दे उनको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली दिइयो ।
त्यस लगत्तै अध्यक्ष मोहन दुवालले भने, ‘४१ वर्षको यो यात्रामा हामीले भिडभन्दा विचार उमार्ने काम गर्यौँ । हामी पुरस्कार होइन, कदर दिन्छौँ । कलमको शक्तिमार्फत समाजलाई उज्यालो बनाउने सपना अझै बाँकी छ ।’
१६ जना प्रतिभाहरूलाई जनमतले यसपालि विभिन्न शीर्षकमा सम्मान गर्यो जसमा दीपा–जनमत सम्मान : आकाश अधिकारी (तनहुँ), गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान : किशोर पहाडी (काठमाडौँ), हृदयचन्द्र–वरिष्ठ जनमत साधक सम्मान : प्राडा वासुदेव त्रिपाठी (तनहुँ), जनमत–जनक प्रधान सेवा सम्मान : विनोदराज शर्मा (भक्तपुर), केवलपुरे–जनमत सम्मान : मोमिला जोशी (धनकुटा), कमला सैजू–जनमत सम्मान : इल्या भट्टराई (काठमाडौँ), जनमत–महेन्द्रलाल कलाकार सम्मान : कालु कुमाले (ललितपुर), जनमत–राजभाई सहयात्री सम्मान : देवीचरण भण्डारी (झापा), भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान : चेतनाथ धमला (ओखलढुंगा), जनमत–केदार/सुदर्शना बालसाहित्य सम्मान : डा. ध्रुव घिमिरे (नुवाकोट) लाई प्रदान गरियो ।
यसै गरी जनमत–सिचि धर्म/संस्कृति सम्मान : ब्रह्मकुमारी लक्ष्मी दिदी (बनेपा), जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान : मधुसुदन पाण्डेय (दाङ), जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान : डा. प्रकाशराज रेग्मी (पाल्पा), जनमत–ज्ञानरत्न/मंगलतारा राष्ट्रिय सम्मान : फूलमान बल तेमाल (काभ्रेपलाञ्चोक) र जनमत–पूर्णमाया/लुचि समाजसेवा सम्मान : पूर्णबहादुर गुरुङ (सुनसरी) लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यिक प्रस्तुति – कविता, भाव र भावनाको संगमअर्जुन पराजुली, अनिल श्रेष्ठ, कपिल अज्ञात, शारदाप्रसाद पहाडी, सूर्यप्रसाद लाकोजू, दियेशरत्न शाक्य लगायतका कविहरूले कविता वाचन गर्दा माहोल शुद्ध साहित्यिक बन्यो भने लाक्पा शेर्पाको गायनले समस्त उपस्थितलाई भावनात्मक रूपमा छुने काम गरेको थियो । कार्यक्रममा विशेष प्रकाशनहरू विमोचन गरिएको थियो ।
शब्दनिम्बमा पौरखीहरू, सम्झनामा सम्भावनाहरू, मोहन दुवाल र जनमत संक्षेपमा, जनमतको जानकारी दिएको थियो । कार्यक्रममा प्रस्तुत कृति केवल पुस्तक थिएनन्, यी जनमतको यात्राका दस्तावेज थिए ।
कार्यक्रममा प्राडा सुषमा आचार्य, प्राडा रामप्रसाद ज्ञवाली, डा.दामोदर पुडासैनी ‘किशोर’, पुष्कर अथक रेग्मी लगायतका विशिष्ट व्यक्तित्वहरूले जनमतको योगदानको प्रसंशा गर्दै भावी दिशामा थप उचाइमा लैजानुपर्ने विचार व्यक्त गरेका थिए ।
कार्यक्रमा मोहन दुवालले भने, ‘हामी श्रष्टाको आत्मामा सम्मान छुन्छौँ, संस्थालाई विचार बनाउँछौँ र साहित्यलाई परिवर्तनको माध्यम बनाउने हाम्रो प्रयत्न अब अझ प्रगाढ हुनेछ ।
प्रतिक्रिया