थाइल्यान्ड भ्रमण र बिमस्टेकसँगको अपेक्षा

सम्पादकीय

थाइल्यान्डमा सुरु हुन गइरहेको बिमस्टेकको छैटाैँ शिखर सम्मेलन नेपालका लागि थप अवसरसमेत सावित भएको छ । किनकी सम्मेलनकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६५ वर्षको कूटनीतिक इतिहासमा पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण गर्ने साइत पनि जुरेको छ । भ्रमणका क्रममा हुने सम्झौता तथा सहमतिभन्दा पनि प्रधानमन्त्रीले औपचारिक रूपमा निमन्त्रणा पाउनु नै नेपालका लागि उपलव्धि हो । पछिल्लो एक दशकयता प्रधानमन्त्रीको औपचारिक विदेश भ्रमण खुम्चिँदै गइरहेको परिप्रेक्ष्यमा आसन्न थाइल्यान्ड भ्रमणले केही न केही आशा जगाएको छ । किनकी यो भ्रमणमा बिमस्टेकका सदस्य देशहरू भारत, बंगलादेश, म्यानमार, श्रीलंका तथा भुटानका सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ ।

खासगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा बंगलादेशका सरकार प्रमुख मोहम्मद युनुससँग हुने सम्भावित ‘साइडलाइन’ भेटवार्ता नेपालका लागि महत्वपूर्ण अवसर हुनेछ । यद्यपि भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तालिका हेर्दा उनीसँगको वार्ता संशयमै छ । यसैगरी अन्य देशका अति विशिष्ठ अतिथिहरूको स्वागत, सत्कार तथा सम्मेलनमा सिंगो देशको ध्यान केन्द्रित हुने भएका कारण नेपाली भ्रमण टोलीले भेटवार्ताका लागि प्रर्याप्त समय नपाउनु स्वभाविकै हो । तर, नेपाल र थाइल्यान्डबीच नसुल्झ्याइ नहुने राष्ट्रिय मुद्दा तथा एजेन्डा खासै छैनन् । सानातिना समस्या सुल्झाउन खासै समस्या छैन । किनकी यी २ देशबीचको सम्बन्ध अत्यन्त सौहार्द छ । धेरै लामो अन्तरालमा भएको प्रधानमन्त्रीस्तरीय भ्रमणले २ देशको सम्बन्ध अझ प्रगाढ बनाउने अपेक्षा गरिनु स्वभाविकै हो ।

नेपालले थाइल्यान्डसँगको सम्बन्धबाट प्राप्त गर्नसक्ने सबै पहलुमा यथेष्ट गृहकार्य हुन नसक्नुचाहिँ विडम्बना नै हो । थाइल्यान्डसँगको ब्यापार तथा पर्यटनमा नेपालले अपेक्षित लाभ लिन किन सकिरहेको छैन ? भन्ने सन्दर्भमा खासै गृहकार्य हुन सकेको देखिँदैन । पुस्तौँपुस्तादेखि नेपालीहरूको बसोबास भएको देश थाइल्यान्डमा नेपाली बस्तु निर्यातको हालत ज्यादै कमजोर छ । थाइल्यान्डबाट वर्षको करिब १७ अर्ब रुपैयाँ बराबरको बस्तु आयात हुन्छ, तर निर्यात ३ करोडभन्दा माथि छैन ।

प्रधानमन्त्री ओलीको साथमा गएको उद्योग–वाणिज्य महासंघको जम्बो टोलीले आयातलाई मात्रै होइन निर्यातलाई पनि ध्यान दिनु जरुरी छ । होइन भने बस्तु निर्यात नगन्य रहेको देशमा उद्योगी व्यापारीहरूको यति ठुलो टोली प्रधानमन्त्रीको साथ प्रस्थान गर्नु भनेको फगत रमिता हुनेछ । यसैगरी नेपाल आउने विदेशी पर्यटकको सूचीमा १० नम्बरभित्र पर्नुले नेपालका लागि थाइल्यान्ड महत्वपूर्ण देश हो भन्ने कुरा पुष्टि हुन्छ । तर नेपाल आउने थाई पर्यटकहरूबाट जति रकम भित्रिन्छ त्यो भन्दा दोब्बर रकम थाइल्यान्ड भ्रमणमा जाने नेपाली पर्यटकहरूले खर्च गर्ने गरेको तथ्यांक छ । बहुसंख्यक जनता बुद्धमार्गी रहेको थाइल्यान्डबाट जति पर्यटक विदेश घुम्न जान्छन्, त्यसको अनुपातमा नेपाल भ्रमणमा आउने नगन्य छन् । थाइल्यान्डबाट नेपाल आउने वार्षिक करिब ४० हजार पर्यटकमध्ये करिब ४ हजार मात्रै बुद्ध जन्मस्थल लुम्बिनी जाने गरेको तथ्यांक छ । नेपालको पर्यटन विकासका दृष्टिले यो भ्रमणले नौलो आयाम खिँच्न सक्छ ।

वर्षमा करिब ३ करोड विदेशी पर्यटक भित्र्याउने थाइल्यान्डबाट नेपालले लाभ लिन सक्ने मुख्य क्षेत्र पनि पर्यटन नै हो । थाइल्यान्ड घुम्न आउने पर्यटकमध्ये करिब १० प्रतिशत पर्यटक नेपाल भित्र्याउन सकियो भने पनि नेपालको पर्यटन व्यवसायले ठूलो फड्को मार्छ । विश्वका १० वटा सुन्दर पर्यटकीय गन्तव्यको सूचीमा रहेको नेपालमा थाइल्यान्डको तुलनामा ४ प्रतिशत विदेशी पर्यटक पनि आएको देखिन्न । पर्यटक भित्र्याउने सीप थाइल्यान्डबाट सिक्नु जरुरी छ । यसैगरी थाइल्यान्डले विज्ञान–प्रविधिमा गरेको उत्कृष्ट सफलताबाट नेपाललाई सहकार्यको बाटो खुल्नसक्छ । यति भन्दै गर्दा बिमस्टेक शिखर सम्मेलन नेपालका लागि कति महत्वपूर्ण छ ? भन्ने कुरा पनि बिर्सनु हुन्न । बिमस्टेकले बोकेका सडक तथा रेलमार्ग, पावर ग्रिड इन्टर–कनेक्सन, क्षेत्रीय प्रकोप अनुगमन र चेतावनी प्रणाली लगायतका उद्देश्यहरू नेपालजस्तो भूपरिवेष्टित देशका लागि अत्यन्त महत्वपूर्ण छन् । त्यसैले बिमस्टेक शिखर सम्मेलनलाई फलदायी बनाउन आफ्नै स्वार्थका लागि पनि नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

प्रतिक्रिया