फेरि राजा बन्ने ज्ञानेन्द्र शाहको महत्वकांक्षा देश र जनताका लागि निकै भारी पर्ने संकेत शुक्रबार राजधानी काठमाडौँमा भएको हिंसात्मक गतिविधिले देखाएको छ । आफ्ना माग राखेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने छुट हिजो राजतन्त्रकालमा थिएन, व्यवस्थाको विरोध गर्नेहरूलाई खोजी खोजी थुन्नेदेखि मार्नेसम्मको चलन थियो । तर, अहिले देशमा लोकतन्त्र छ । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पूर्ण छुट छ । यस्ता विरोध प्रदर्शनलाई राज्य संयन्त्रले नै सुरक्षा प्रदान गर्ने व्यवस्था छ । यही लोकतान्त्रिक हक अधिकारअन्तर्गत राजावादीहरूलाई विरोध प्रदर्शनका लागि सरकारले राजधानीको तीनकुने क्षेत्र तोकेको थियो । तर, विरोध प्रदर्शनको अधिकारलाई राजावादीहरूले हदैसम्म दुरुपयोग गरेको देखियो । विरोध प्रदर्शनका नाममा हत्या, आगजनी, तोडफोड, लुटपाट लगायतका अपराधिक घटना भए ।
पत्रकारलाई घरभित्र थुनेर आगो लगाउने घटना नियोजित नभएर आकस्मिक हुनसक्ला, केही लुटपाटका घटना पनि आकस्मिक भएका होलान, तर मिडिया हाउसमाथि, रोजगारदाता व्यापारिक प्रतिष्ठामाथि, पार्टी कार्यालयमाथि छानी छानी भएका आक्रमण नियोजित हुन् । विगतमा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिँदा जसजसले आत्मसमर्पण गरेका थिएनन्, उनीहरूमाथि छानीछानी आक्रमण गर्नु भनेको सुनियोजित नै हो । सुनियोजित आक्रमणबारे अलिकति पनि पूर्वसूचना प्राप्त गर्न नसक्नु वा सूचना प्राप्त गरेर मूकदर्शक बन्नु पनि राज्य संयन्त्रको ठूलो कमजोरी हो । लोकतन्त्रमाथि नै हिंसात्मक रूपमा धावा बोलिएको यो विषम परिस्थितिमा राज्यसंयन्त्रका कमी कमजोरीप्रति टिप्पणी गर्नु प्रासंगिक हुँदैन । तर, जनताले संकट पर्दा गुहार माग्ने भनेको सरकारसँग हो । गुहार दिन सक्ने अवस्थामा सरकार भएन भने आफ्नो जिउधनको सुरक्षाका लागि पनि अराजक समूहमाथि आत्मसमर्पण गर्न जनता वाध्य हुन्छन् ।
जनताको जिउधनको सुरक्षा गर्न सरकार असफल छ भन्ने कुरा सिद्ध गर्ने मामिलामा राजावादीहरू सफल भएका छन् । तर ज्ञानेन्द्र शाह फेरि राजा बन्नुपर्छ भन्ने आफ्नो मागको औचित्य सावित गर्न उनीहरू चुकेका छन् । बर्हिगमनको २० वर्षपछि पूर्वराजा शाहले आफ्नो चरित्रलाई परिवर्तन गरेको अनुमान पनि धेरैको थियो । सक्रीय शासन गर्ने तिर्खाका लागि नभएर आलंकारिक रूपमा राजसंस्थालाई निरन्तरता दिनका लागि उनले जनतामा अपील गरेको विश्लेषण पनि धेरैको थियो । तर, उनी २० वर्षअघिकै ज्ञानेन्द्र रहेछन् भन्ने कुरा आफैँले पुष्टि गरेका छन् । यतिसम्मकी शुक्रबार भएका आपराधिक घटनाबारे आत्मलोचना गर्नसमेत उनी तयार छैनन् । आन्दोलनका नाममा यस्ता घटना नदोहो¥याउन उनले अपील गरेको सुनिएको छैन । बिहीबार उनकै घरमा बैठक बसेर आन्दोलनको रणनीति तयार गरिएको यथार्थबारे जनता अनभिज्ञ छैनन् ।
देशमा भ्रष्टाचार र कुशासन व्याप्त रहेको कुरा सत्य हो । यथास्थितिमा देश अघि बढ्न सक्दैन भन्ने कुरा पनि सत्य हो । तर शासनसत्तामा पुगेका दलहरूको कमी कमजोरीमा टेकेर फेरि राजा बन्ने ज्ञानेन्द्र शाहको महत्वकांक्षा सफल भयो भने देश र जनताको हालत के होला ? भन्ने कुरा शुक्रबारका घटनाले पुष्टि गरेको छ । २०६१ माघ १९ कोभन्दा पनि ठूलो कहर देश र जनताले बेहोर्नुपर्ने हुनसक्छ । बंशका आधारमा शासन गर्छु भन्दै लोकतन्त्रविरुद्ध कुनै व्यक्तिले जनताका नाममा आह्वान गर्ने र त्यस्तो आह्वानलाई साथ दिँदै जनता सडकमा उत्रने परिस्थिति किन उत्पन्न भयो ? भन्ने प्रश्नको गम्भीर समीक्षा गर्नु जरुरी छ ।
नागरिक समाजको स्तरबाट त यो प्रश्नको समीक्षा पहिले नै गरिएको हो । शासकीय दल तथा यिनका नेताहरूले आफ्नो शैली सुधार गरेनन् भने पूर्वराजा शाहको महत्वकांक्षा बढ्न सक्छ है भनेर मिडियाले खबरदारी गरेकै हुन् । तर आलोपालो गरेर सत्तामा बस्ने गरेका प्रमुख दलका नेताहरू कार्यशैली सुधार गर्नतिर लागेनन् । संविधान जारी भएपछिको पहिलो निर्वाचन यता राजनीतिक दलका नेताहरू कुन रूपमा प्रस्तुत भएका छन् ? भन्ने उदाहरण केलाउने हो भने सचेत जनताका शरीरका रौँहरू आफैँ ठडिने अवस्था छ । धन्न शुक्रबार राजावादीहरूको गतिविधिमा जनताको सहभागिता न्यून रहेका कारण र नेपाली सेना समयमै परिचालन भएका कारण ठूलो दुर्घटनाबाट देश जोगियो । यस्ता घटना अब कुनै पनि दिन दोहोरिन सक्छन् । त्यसैले आफ्ना कमीकमजोरीप्रति प्रमुख दलहरूले क्षमा माग्दै लोकतन्त्रको रक्षाका लागि जनतालाई आह्वान गर्न ढिलाइ नगरुन् ।
प्रतिक्रिया