काठमाडौँ । २९ फागुनदेखि देशभर प्रदर्शनरत बायोपिक फिल्म ‘अञ्जिला’ बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । यसैबीच फिल्मकी मुख्य पात्र नेपाली राष्ट्रिय महिला फुटबल क्लबकी कप्तान एन्जिला तुम्बापो सुब्बा नेपाल आइपुगेकी छन् । उनी आफ्नो फिल्म प्रचारका लागि ग्रिसबाट शुक्रबार नेपाल आइपुगेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सले एन्जिलालाई स्वागत गरे ।
हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छन् । यही खेलकोका लागि उनी केही महिनायता ग्रिसमा थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।
यस चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् ।
बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यस चलचित्रले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । यो चलचित्रलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ । करिब ५ दिन नेपाल रहँदा उनी काठमाडौँदेखि मोफसलका हलसम्म पुगेर दर्शकलाई भेट्नेछिन् ।
शुक्रबार काठमाडौँ, कीर्तिपुर र ललितपुरका हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने तालिका छ । त्यसपछि पोखरा, नेपालगन्ज, विर्तामोड, धरान, इटहरी, चितवन र दाङ पुगेर दर्शकहरू भेट्ने निर्माण टिमले जनाएको छ ।
प्रतिक्रिया