काठमाडौँ । २०७९ सालमा प्रदर्शित चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित हरिबंश आचार्यले यस पनि आफू फरक भूमिका प्रस्तुत हँुदै आएका छन् । ६७ वर्षको उमेरमा पनि आफ्नो पेसा र कामप्रति युवावस्थामा जस्तै समर्पित र गम्भीर आचार्यमा युवावस्थामा जस्तै जोश छ । तीनै वरिष्ठ अभिनेता आचार्यले एक कार्यक्रममा अनुशासनले सफलतालाई दीर्घायु बनाउने भएकाले आत्मअनुशासनमा जोड दिई लगनशील भई काम गर्नुपर्ने बताए ।
उनले भने, ‘चलचित्रमा अभिनय गर्दा होस् वा प्रहसन गर्दा अहिले पनि मेरो मुटु ढुकढुक हुन्छ, मनमा डर उत्पन्न हुन्छ । त्यो डर भनेको मेरा लागि अनुशासन हो । त्यसले मलाई मिहिनेत गर्न प्रेरित गर्छ, त्यही कारण मेरो कलाकारिताको यात्रा यहाँसम्म आइपुगेको हो, जस्तो लाग्छ ।’ नकारात्मक सोचबाट मुक्त भई स्वस्फूर्त रूपमा लगनशील भई काममा समर्पित हुन सुझाव दिँदै हास्य अभिनेता आचार्यले समर्पणभावले आफू सम्बद्ध पेसा, व्यवसायमा होमिए सफलता हात लाग्ने कुरामा जोड दिए ।
‘मह’ जोडीका रूपमा स्थापित वरिष्ठ कलाकार ‘द्वय’लाई समर्पण र निष्ठाको उपजका रूपमा लिने गरेको पाइन्छ । उनका लामो समयका कला साझेदार मदनकृष्ण श्रेष्ठ पनि कलाकारितासँगै सामाजिक रूपमा समेत उच्च स्थान बनाउन सफल भएका छन् । रंगमञ्चमार्फत आफ्नो कलाकारिता सुरू गरेका अभिनेता आचार्य पछिल्ला वर्षहरूमा नाटकमा भूमिका निर्वाह नगरेको बताउँछन् । तथापि मञ्चमा गरिने प्रहसन र नाटक उस्तै भएको अभिनेता आचार्य बताउँछन् ।
‘नाटक र प्रहसन उस्तै हो, खासै अन्तर छैन । किनकि दुवैमा दर्शकको अगाडि मञ्चमा कलाकारले आफूलाई प्रस्तुत गर्छन्, मैले यसै वर्ष पनि केही प्रहसन गरेँ । त्यसकारण म आफूलाई नाटकबाट टाढा रहेको जस्तो लाग्दैन’, उनले भने ।
उनले कला क्षेत्रका लागि रंगमञ्च आमाको काख झैँ भएकाले यहाँ सिकिने कलाकारिता दीगो हुने अनुभव सुनाए । राष्ट्रिय नाचघरमा ‘गुरू हरिप्रसाद रिमाल’सँग नाटक तथा कलाकारले बोल्ने संवादको शैली सिकेको स्मरण गर्दै वरिष्ठ अभिनेता आचार्यले अभिनयमा रुचि राख्नेले आफूलाई रंगमञ्चमा प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरे । ‘मैले आदरणीय गुरू रिमालसँग आँखाले अभिनय गर्छ भन्ने सिकेँ, त्यहाँ मैले मदन दाईसँग गरेको नाटक विज्ञापनलाई नेपालसँगै विदेशमा समेत प्रस्तुत गरेँ । हामीले त्यो नेपालमा मात्र ४०० को हाराहारीमा मञ्चन गरेका थियौँ । हाम्रो अभिनयको सुरुआत नै रंगमञ्चबाट भएको हो’, उनले भने ।
सुरुमा स–साना भूमिकामा देखिने गरेका उनले ‘जीवनरेखा’ र ‘बासुदेव’ पछि राम्रो र बढी समय पर्दामा देखिने अवसर प्राप्त गरे । त्यसपछि अभिनयमा सक्रिय रहेका आचार्य अहिले पनि उस्तै रूपमा निरन्तर क्रियाशील छन् । आफैँ लेखक र निर्देशकसमेत रहेका अभिनेता आचार्य अरूका चलचित्रमा पनि कलाकारका काम गर्न रुचाउँछन् । ‘अन्य कलाकर्मीका चलचित्र तथा प्रहसनमा कलाकार भएर काम गर्न पाउँदा मलाई सहज महसुस हुन्छ, आफैँले लेखन वा निर्देशन गरेको पात्रलाई निर्वाह गर्दा अलि बढी मिहिनेत गर्नुपर्छ’, उनले भने । उनले अभिनय गरेको चलचित्र ‘भूठान’ र ‘हरिबहादुरको जुत्ता’ आउँदो वर्ष २०८२ सालमा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया