काठमाडौँ । गणतन्त्रवादी केही राजनीतिक दल र राजसंस्था पुनस्र्थापनाको अभियान चलाइरहेकाहरूले आज शुक्रबार काठमाडौँमा आ–आफ्नो शक्ति प्रदर्शन गर्दै छन् । एकै दिन दुवै पक्षले प्रदर्शन गर्ने भएपछि राजावादी–गणतन्त्रवादी आमनेसामने हुने सम्भावना बढेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध समाजवादी मोर्चा, नेपालले यथास्थिति र प्रतिगामी षड्यन्त्रको विरोध गर्न तथा गणतन्त्रको संवद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न भन्दै प्रदर्शन गर्ने भएको हो । मोर्चाले प्रदर्शनपछि सभाको आयोजना पनि गर्ने भएको छ ।
यता, गत चैत ४ गते गठित राजावादीहरूको ‘राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति’ले पनि राजसंस्था र हिन्दु अधिराज्य पुनस्र्थापना, संघीयताको खारेजीका लागि भन्दै प्रदर्शन गर्ने भएको हो ।
डेढ लाख मान्छे उतार्ने मोर्चाको दाबी
समाजवादी मोर्चाले दिउँसो १ बजे भृकुटीमण्डपमा सभाको तयारी गरेको छ । त्यसअघि ३ वटा रुटबाट सहभागी भृकुटीमण्डप पुग्ने भनिएको छ । कोटेश्वर–नयाँ बानेश्वेर–माइतीघर–भृकुटीमण्डप, कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिवाटिका– भृकटीमण्डप र नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप गरी ३ वटा रुट तय गरिएको हो । सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महिन्द्र राय यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले सम्बोधन गर्ने जनाइएको छ ।
सौर्य दैनिकसँग कुरा गर्दै समाजवादी मोर्चाका सचिवालय सदस्य गंगानारायण श्रेष्ठले मोर्चाले डेढ लाख मान्छे काठमाडौँमा उतार्ने तयारी गरेको जानकारी दिए । उनले काठमाडौँ उपत्यका, बाग्मती प्रदेश र आसपासका जिल्लाबाट मानिसहरू आउने बताउँदै मोर्चाले गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको उल्लेख गरे ।
राजा फर्काउने उद्देश्यले प्रदर्शन
यता, राजसंस्था र हिन्दु अधिराज्य पुनस्र्थापना एवं संघीयता खारेजीका लागि भन्दै राजावादीहरूले गर्न लागेको प्रदर्शन तिनकुने क्षेत्रमा हुने भएको छ । कार्यक्रमका लागि दुर्गा प्रसाईंले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति लिएको छ । तिनकुनेको चौरमा सभा गरिने अभियानले जनाएको छ ।
यद्यपि, यो प्रदर्शनको स्वामित्व नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति’े लिएको छ । बिहीबार समितिले पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । प्रदर्शनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि समर्थन गरेका छन् भने नेता, कार्यकर्तालाई सहभागी हुन निर्देशनसमेत दिइएको छ । त्यसका अलावा राजसंस्था पुनस्र्थापनाको चाहना राख्ने विभिन्न संघसंगठन तथा व्यक्तिको समेत सहभागिता हुने जनाइएको छ ।
राजावादीहरूलाई मिलाउन आफैँ अघि सरे ज्ञानेन्द्र
शुक्रबार हुने राजावादीहरूको प्रदर्शनलाई सफल बनाउन पूर्वराजा ज्ञानेन्द्र शाह नै सक्रिय भएका छन् । नवराज सुवेदीको नेतृत्वको समिति कामयाब नभएपछि राप्रपा र प्रसाईं नेतृत्वको महाअभियानले आ–आफ्नै आन्दोलन घोषणा गरेका छन् । राजावादीहरू एकताबद्ध हुन नसकेपछि पूर्वराजा शाह सक्रिय भएका हुन् । उनले शुक्रबार हुने प्रदर्शनमा सबैलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।
स्रोतका अनुसार पूर्वराजा शाहले बिहीबार समितिका जिम्मेवार व्यक्तिहरूलाई भेटेर सबै राजावादी शक्तिहरू एकताबद्ध भएर आन्दोलनमा लाग्न निर्देशन दिएका छन् । उनले राप्रपा र राप्रपा नेपालका नेताहरूलाई समेत प्रदर्शन सफल बनाउन आग्रह गरेका छन् । स्रोतका अनुसार पूर्वराजाको निर्देशनपछि नै बिहीबार समितिले पत्रकार सम्मेलन गरेर प्रदर्शनको स्वामित्व लिएको हो ।
मुठभेड हुन नदिन बढाइयो सर्तकता
जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षका प्रदर्शनकारीबीच मुठभेड हुन नदिन सर्तक रहेको बताएको छ । सौर्य दैनिकसँग कुरा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता अशोककुमार भण्डारीले प्रशासनले दुवै कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने गरी योजना बनाएको जानकारी दिए । उनले बिहीबार नै जिल्ला सुरक्षा समितिको बैठक बसेर एकीकृत विशेष सुरक्षा योजना बनाइएको भन्दै कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा संयन्त्र र प्रशासन केन्द्रित भएको बताए । उनले भक्तपुर र ललिपुरका सुरक्षा निकायसँग समेत समन्वय गरेर सुरक्षा संयन्त्र परिचालन हुने भन्दै पर्याप्त मात्रामा तीनै वटा सुरक्षा अंग परिचालित हुने बताए ।
मानवअधिकार आयोगले गरायो सचेत
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रदर्शन तथा कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गरेका छन् । बिहीबार भिडियो वक्तव्य जारी गर्दै अध्यक्ष मगरले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न र सुरक्षा प्रबन्ध गर्दा मानवअधिकारप्रति संवेदनशील हुन आग्रह गरेका छन् ।
भिड्न कार्यकर्ता उक्साउँदै ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरूलाई ‘ठेगान’ लगाउन भन्दै कार्यकर्तालाई उक्साएका छन् । बुधबार युवा संघको कार्यक्रममा उनले भने, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा संघले बाघले झम्टिएझैँ झम्टिन्छ ।’ उनी त्यतिमै रोकिएनन् । भने, ‘यो एउटा निःशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’
प्रतिक्रिया