देशलाई पछाडि फर्काउन १०–१५ हजारको जुलुसले केही उत्पात हुँदैन : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पछाडि फर्काउन एउटा पक्ष लागिरहेको भन्दै १०–१५ हजार जनाको जुलुस निस्कँदैमा केही उत्पात केही नहुने बताएका छन् । अहिले ९७ प्रतिशत जनताको घरमा विद्युत् पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विद्युत् उत्पादन बढाउने काममा सरकार अघि बढिरहेको बताए ।

महिला उद्यमी महासंघ नेपालको आयोजनामा आजबाट ललितपुरमा सुरु भएको आठौँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक कुरामा नअल्झिएर देश विकासमा लागिरहने बताए ।

‘देशलाई पछि फर्काउन एउटा पक्ष लागिरहेको छ, १०–१५ हजारको जुलुस निस्कँदैमा उत्पात केही हुँदैन, अहिले ९७ प्रतिशत जनताको घरमा विद्युत् पुगेको छ, विद्युत् उत्पादन बढाउने काममा अघि बढेका छौँ,’ उनले भने ।

युवा पुस्ताले सूचना प्रविधिको क्षेत्रमा राम्रो काम गरिरहेका भनी खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने ,‘आजको समय कम्प्युटरको समय हो, एआई प्रविधिको समय हो, महिलाहरुले पनि धेरै काम गर्नुभएको छ, आजको मेला महिलामा पनि आमाहरुको मेला हो, अब छोरी पुस्ताले पनि उद्यमशीलतामा ध्यान दिनुपर्छ, दिदीबहिनीका प्रयासलाई म धन्यवाद भन्न चाहान्छु ।’

जकडिएर रहेका केही सामन्ती सोच र व्यवहारका कारण देश अगाडि बढ्न नसकेको चर्चा गर्दै उनले भने, ‘बाह्य रुपमा कायम रहेको उपनिवेश, देशभित्रै रहेको सामन्ती प्रथा, वर्णाश्रम व्यवस्थाले दबाइएको परिस्थितिका कारण हाम्रो समाज अगाडि बढ्न सकेन, महिलालाई शिक्षादीक्षा दिनुहुँदैन भन्ने सामन्ती सोच थियो, खुसी हुन पनि नपाइने समाज थियो, महिलालाई पछाडि पारेपछि देशको विकास नहुने नै भयो ।’

प्रधानमन्त्री ओलीले सो अवसरमा मानव ओसारपसार तथा बेचबिखनविरुद्ध अविच्छिन्न रुपमा काम गर्दै आएको संस्था माइती नेपालका अध्यक्ष अनुराधा कोइराला र उद्यमशीलता क्षेत्रमा योगदान गर्नुभएकोमा दाङ घोराहीका प्रेम कुमारी पुनलाई सम्मान गरे ।

प्रतिक्रिया