समाजका सूक्ष्म चित्र ‘बेग्लै म’

‘साहित्यिक यात्राको सुरुआत गर्दा मेरा लागि सामाजिक र पारिवारिक मार्ग सहज भने थिएन तर असहज मार्ग छ भनेर हिम्मत हारिनँ र हिँड्न पनि छोडिनँ मैले । म स्वयंले स्वयंका लागि बाटो खन्दै अगाडि बढिरहेँ । जतिसुकै आँधीहुरी आए पनि कतै नरोकिई निरन्तर हिँडिरहेँ, हिँडिरहेँ ।’ साहित्य यात्राका बारेमा उषा शेरचनका यी सुन्दर विचारहरूले धेरै कुराको प्रतिनिधित्व गर्छ । निरन्तर साधनाले नै उनको साहित्य यात्रा सुन्दर बनेको छ । साथै, उषा प्रेरणाको स्रोत पनि बनेकी छन् ।

नेपालमा महिलाको अवस्था र उनीहरूले भोग्नुुपरेका पीडाका साक्षी उनी साक्षी हुन् । आमनारीहरूले भोगेका पीडा र समाजले नारीमाथि गरिरहेको अनेक प्रकारका प्रहारसँग जुधिरहेको समाजसँग उनी पनि परिचित छन् । उनी समाजको सचेत सदस्यका साथै सर्जक भएकाले समाजका विद्रोहका स्वरहरूलाई साहित्यमार्फत प्रस्तुत गरिरहेकी छन् । सभ्रान्त परिवारभित्र पनि महिला शोषण हुनेलगायत धेरै विकृतिहरूको चिरफार ‘बेग्लै म’ शीर्षक कथासंग्रहमार्फत प्रस्तुत गरेकी छन् ।

३० को दशकदेखि नेपाली साहित्य साधनामा निरन्तर लागिरहेकी उषा नेपाली साहित्य र नेपाली समाजको दारुणिक युग नै झेलेकी छन् । त्यस समयमा साहित्य क्षेत्रमा लाग्ने बाटाहरू वास्तवमै सजिला थिएनन्, त्यसका बाबजुद पनि उनको नेपाली साहित्यप्रतिको निष्ठा र निरन्तर साधनाले साहित्य जगतमा योगदान साँच्चिकै अतुलनीय छ ।

हाम्रो समाजको बनोट पुरुषप्रधान भएको र पितृसत्ताले दिएका पीडा प्रस्फुरित हुन नसकेका महिलाहरूको सामूहिक आवाज उषा शेरचनका साहित्यिक विषय बन्ने गर्छन् । प्रत्येक संग्रहको प्रस्तुतिमा नयाँपन तथा समाजका सबैले बुझ्ने तथा समाजका साझा समस्याहरूलाई प्रतिनिधित्व गरेर समाज परिर्वतनतर्फ उन्मुख हुनुपर्छ भन्ने उनको साहित्यको मूल विशेषता मान्न सकिन्छ । हतियारले मात्र नभएर सकारात्मक सोचका कलमहरूले पनि समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने मूल मान्यता ‘बेग्लै म’ कथासंग्रहले बोकेको छ ।

बेग्लै म कथासंग्रह भर्खरै मात्र प्रकाशित कृति हो । यसभित्र २१ कथाहरू रहेका छन् । संग्रहको अन्तिम कथा ‘बेग्लै म’ शीर्षकबाट पुस्तकको शीर्षक रहेको छ । पुस्तकभित्र १ पेजदेखि २५ पेजसम्मका कथाहरू पढ्न सकिन्छ । साहित्य साधना तथा समाजका अति सूक्ष्मतम कुराहरू उनका कथाका विषयवस्तु बनेको देखिन्छ । एकाध कथा राजनीतिकप्रतिको वितृष्णा तथा केही पुरुष मनोविज्ञानका कुराहरूमा केन्द्रित रहेका छन् ।

‘बेग्लै म’ भित्रका कथाका प्लटका बारेमा उनी लेख्छन्, ‘मैले विभिन्न माध्यमबाट देखेको सुनेको, पत्रपत्रिकामा पढेको या चिनेको पात्रलाई अलिकति काल्पनिकताको जलप लगाई कथाको माध्यमबाट एउटै चौतारोमा उभ्याउने कार्य गरेको छु । त्यसैले मेरा कथाहरू पढ्दा, यसमा आएका पात्रहरूलाई कतै देखे झैँ, कतै सुने झैँ, कतै भेटे या चिने भैmँ पनि लाग्न सक्छ ।’

‘बेग्लै म’ कथासंग्रहको सुरुआती कथा ‘कारको चाबी’ शीर्षक कथाले रन्थन्याउँछ नै । ‘की क्लबमा कारका चाबीहरू झुन्डाएका हुन्छन्, ती चाबीहरू क्लबमा सहभागी भएका श्रीमतीहरूलाई रोज्न लगाइन्छ, उनीहरूले जसको चाबी रोज्छन्, उही कारवालासँग रात बिताउनु पर्ने नियम रहेछ क्लबको ।’ एउटा पात्रले आफ्नी श्रीमतीको इच्छा विपरीत उक्त क्लबमा सहभागी हुनका लागि लैजान्छन् । सुरुमा अनेक कोशिस गरे पनि श्रीमतीको केही जोड चल्दैन, उनी क्लबको नियममा बाँधिन्छिन्, र घर फर्कंदा श्रीमानसँगै फर्किन्छिन् । यो क्रम निकै समय चल्छ, अन्ततः श्रीमानले आफ्नी श्रीमतीलाई मनोचिकित्सककोमा लैजान्छन्, श्रीमतीको कुरा सुनेर डाक्टर र श्रीमानको होस उड्छ । यस कथाले हाम्रो समाजको धेरै पक्षलाई समेटेको छ । समाज चलिरहेको छ, आधुनिकताका नाममा तलाउमा ढुंगा नहानौँ भन्ने राम्रो सन्देश कथामार्फत प्रवाहित भएका छन् ।

त्यसै पनि ‘बेग्लै म’ भित्रका कथाहरू साँच्चि नै आमकथा भन्दा बैग्लै छन् ।
‘फरक यौनिकता भएकाहरू सामाजिक र पारिवारिक डरले आफ्नो आत्मालाई मारेर नबसून् । यदि व्यक्ति स्वयंले खुल्न चाहन्नन् भने त्यो उनको व्यक्तिगत स्वतन्त्रताको कुरा हो भन्ने लाग्छ मलाई । यो धर्ती र यो आकाश सबैका लागि हो । कुनै एक वर्ग, जाति वा लिंगका लागि मात्रै पक्कै होइन बाबु ।’ यी हरफहरू पुस्तकको शीर्षक कथा बेग्लै म भित्रका हुन् । वास्तवमा भन्ने हो भने फरक यौनिकता भएका व्यक्तिहरूलाई समाजमा हेर्ने दृष्टिकोण नै फरक हुन्छ । यहाँ एउटा बाबुले आफ्नो फरक यौनिकता भएको सन्तानलाई दिएको सान्त्वना स्वरूपका यी हरफहरू साँच्चिकै प्रेरणदायी छन् । कथाकार उषादिदीले कथामार्फत समाजमा पस्कने सकारात्मक विचारहरूले कथालाई उत्कृष्ट बनाएको छ ।

‘दोेषारोपण’ शीर्षकको कथा १ पेजको छ, यो कथाले भन्न खोजेको कुराले बृहत् उपन्यास नै बन्न सक्छ । वर्तमान समयमा हामीले उनीहरूका चर्तिकला हेरिरहेका छौँ । सत्तासीनहरू एकआपसमा दोषारोपण गरेर पन्छिन खोज्ने प्रवृत्तिप्रति कटाक्ष गरिएको यो कथा वर्तमान समयको यथार्थ चित्र हो । वर्तमानमा कथाकारहरूले पनि स्वरै कल्पनाभन्दा यथार्थ धारका कथाहरू लेख्ने क्रम वढेको छ । यस्ता कथाहरू समयका दस्तावेज हुन्छन् । समयको गतिले कसैलाई छोड्दैन पनि । वर्तमानमा अहंको पहाड चढ्नेहरू एक दिन ओर्लनै पर्छ, त्यसकारण आफ्नो गल्तीको महसुस गर्न सक्नुपर्छ, त्यस्ता व्यक्तिहरू सदैव पूजनीय हुन्छन् । बेग्लै म मार्फत कथाकारले यस्तै पूजनीय व्यक्तिहरूको खोजी गर्नुभएको छ ।

महिलाहरू यौन व्यवसायमा लागेका धेरै देखेका छौँ, सुनेका छौँ । पुरुषहरू पनि उक्त धन्दामा लागेका कुराहरू पत्याउन कठिन पर्छ । त्यस्ता पुरुषहरू एक त समाजमा चिनिनै चाहँदैनन्, र, महिलाहरू पनि हाइफाई वर्गका हुने भएकोले उक्त कुरा गोप्य नै राख्छन् । बेग्लै म संग्रहमा ‘फ्ल्याट नम्बर ८’ शीर्षक कथामार्फत पुरुष यौनकर्मीहरूको कथा समेटिएको छ । यस कथामा पुरुष मनोविज्ञानलाई गज्जबसँग प्रस्तुत गरेकोे छ । उनीहरूका समस्या, समाधान र भविष्यको चिन्ताका बारेमा गरिएका वार्ताले कथालाई ओजपूर्ण बनाएको छ । त्यसैले पनि समाजका यस्ता सूक्ष्मतम् विषयबस्तुलाई उठाएर समाजलाई सजग गराउने तथा प्रेरणा दिने कथाहरू बेग्ले म मार्फत प्रस्तुत भएका छन् ।

विधवा बुहारीलाई बिहे गर्ने सुझाव एउटी सासूले दिन्छिन्, प्रेमलाई ऐयासी ठान्नेहरूलाई चुनौती पनि कथामार्फत प्रस्तुत भएका छन् । समग्रमा बेग्लै म भित्रका कथाहरू समाजका आममान्छेका बीचमा भएका आमघटनाक्रम नै भन्दा पनि हुन्छ । लेखन शिल्प असाध्यै खारिएको देखिन्छ । कथा बुन्ने शैलीले कथालाई उम्दा बनाएको छ । सरल, शिष्ट तथा बोधगम्य भाषाले यी कथाहरू पढौँपढाँै लाग्नेछन् । शब्दको किफायती तथा सरल भाषाले जो कोहीले पनि कथाका अन्तर्य थाहा पाउन सक्छन् । विषयवस्तुका हिसाबले हरेक कथाहरूमा विषयगत पुनरावृत्ति देखिँदैन । यसैैले पनि कथा पढ्दा समाजका विविध आयामसँग साक्षात्कार हुन सकिन्छ । आगामी दिनहरूमा उषादिदीका साहित्यिक कृति पढ्नका लागि पाठकहरू प्रतिक्षारत रहन्छन् नै ।

प्रतिक्रिया