नाडा र सामाजिक सुरक्षा कोषबीच समझदारी

काठमाडौँ । सामाजिक सुरक्षा कोष र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । फागुन २६ र २७ गते काठमाडाँैमा भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका क्रममा समझदारीमा हस्ताक्षर भएको हो । उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र सो मन्त्रालयअन्तर्गत रहेको सामाजिक सुरक्षा कोषबीच एउटा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

उक्त समझदारी पत्रमा नाडाले आफ्ना आवद्ध संघ संस्था र प्रतिष्ठानहरूलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गराउने छ । सामाजिक सुरक्षा कोषले कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरू र सुविधाहरूका सम्बन्धमा नाडासँगको सहकार्यमा आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।

सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी र कोषकोतर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार नाडाले अब हरेक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियससम्बन्धी प्रशिक्षण कार्यक्रमहरूमा सो कोषबाटसमेत प्रशिक्षक उपलब्ध गराउने छ ।

प्रतिक्रिया