नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति गठन

काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउनका लागि समिति गठन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा ३ सदस्यीय समिति गठन भएको हो । समितिमा अर्थमन्त्री पौडेलसँगै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेल सदस्य छन् ।

भट्टराई नेपाल राष्ट्र बैंकको १३औँ गभर्नर हुन् । उनको कार्यकाल सन् २००५ देखि २०१० सम्म रह्यो । उनी केही समय भ्रष्टाचार मामिलामा परी वर्खास्त हुँदा दीपेन्द्रबहादुर क्षेत्रीलाई गभर्नर नियुक्त गरिएको थियो । तर, पछि उनलाई पुनर्वहाली गरिएको थियो । हालका गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्दा पनि उनी सिफारिस समितिको सदस्य थिए ।

यस्तै, अर्का सदस्य पौडेल नेपाली कांग्रेस निकट मानिन्छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै राजीनामा दिएर उनी २०७९ सालमा भएको निर्वाचनमा चितवन १ बाट उम्मेदवार बनेका थिए । तर, उनी पराजित भए ।
सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नका लागि मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नरमध्येबाट १ जना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्येबाट १ जनालाई सदस्य बनाउनुपर्ने व्यवस्था छ ।

सो समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरमध्येबाट ३ जनाको नामावली मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने व्यवस्था छ । ३ जनामध्येबाट १ जनालाई गभर्नरमा नियुक्त गर्नुपर्ने व्यवस्था छ । गभर्नरका लागि २ दर्जन व्यक्ति दौडधुपमा लागेका छन् ।

प्रतिक्रिया