परमाणु अस्त्रको महाविनाशकारी संभावना

आजको विश्वमा जुन १३ हजार परमाणु युद्ध आयुधहरू तैनाथ छन् तिनलाई प्रभावकारी किसिमले नष्ट गर्न आज वैज्ञानिक क्षमतालाई प्रयुक्त गर्नुपर्ने ज्वलन्त र अपरिहार्य आवश्यकता बनेको छ । यसो नगरिकन परमाणु शस्त्रास्त्रको अभिशापबाट यो जीवनदायिनी धरतीलाई मुक्त गर्न सकिने छैन । भन्ने गरिन्छ कुनै कुरा बनाउन कठिन छ तर त्यसलाई नष्ट गर्न त्योभन्दा कठिन छ ।

लोकनारायण सुवेदी

अहिलेसम्म विश्वका परमाणु हतियारहरूको उपयोग केबल २ पटक मात्र भएको छ । सर्वप्रथम १९४५ अगस्ट ६ र ९ मा जापानको हिरोसिमा र नागासाकीमा । त्यसमा पनि आजका अधिकांश परमाणु हतियारहरूभन्दा ती जापानमाथि खसालिएका परमाणु बमहरू धेरै नै कम विध्वंशक थिए । तर तिनैबाट मात्रै पनि अत्यन्तै भयंकर प्रलयकारी विध्वंश मच्चिएको थियो । हुन पनि ६ अगस्टका १९४५ को त्यो दिन जापानको हिरोसिमा सहरमा सूर्यका जीवनदायिनी किरणहरूले एउटा अर्को नयाँ दिनको आह्वान गरिसकेको थियो र त्यसबाट आलोकित जापानीहरू आ–आफ्नो काममा लाग्न थालिसकेका थिए ।

तर, त्यो दिन सदा झैँ अरू दिनजस्तो थिएन । किनभने बिहानको ३ बजेतिरै अमेरिकी वायुसेनाका कर्नेल पान ताईबत र रबर्ट लुई एउटा बी–२९ बिमानमा त्यतिबेलासम्म विश्वमा निर्मित सबैभन्दा विनाशकारी शस्त्र लिएर हिरोसिमाका लागि हिँडिसकेका थिए । एउटा क्रूर ठट्टाअन्तर्गत त्यस शस्त्रको नामा ‘सानो केटा’ अर्थात ‘लिटिल ब्वाय’राखिएको थियो । तर त्यो थियो विश्वको पहिलो ‘परमाणु बम’ । ३१ हजार फिटको उचाइमा उडिरहेको राक्षसको अग्रदूत बनेको त्यो बिमान हिरोसिमाको ठिकमाथि आकाशमा पुग्यो र त्यहाँबाट त्यो बमलाई यसरी खसालियो कि जसबाट हिरोसिमा सहरको २ हजार फिट माथिबाटै त्यसको बिस्फोट होस् र त्यसबाट अधिक विनाश सम्भव हुन सकोेस् ।

त्यसदिन हिरोसिमाका ती निर्दोष जापानीहरूले पहिला त एउटा अत्यन्तै तेज चमकजस्तो देखे । जसको अगाडि सूर्यको चमक पनि उनीहरूका लागि फिकाजस्तै लाग्यो । त्यसपछि उनीहरूलाई लाग्यो सूर्यका किरणहरू उनीहरूबाट खोस्नका लागि एउटा गहिरो अँध्यारो छायो । शायद त्यतिबेलासम्म पनि उनीहरूलाई कुनै अत्तोपत्तो थिएन कि त्यस अँध्यारो धुलोको पत्रमा हजारौँ हजार मानिसहरू र अन्य असंख्य जीवजन्तुहरूका कणहरू पनि सामेल थिए । त्यो अपूर्व महाबिस्फोटले तिनका शरीरका टुक्रा टुक्रा तुल्याएको थियो । एकाएक ७० हजार मानिसको एकै चिहान भएको थियो । तर भयंकर पीडाले चिच्याउँदै कराउँदै मर्दै गरेका मानिसहरूको संख्या त त्यो भन्दा पनि २–३ दोब्बर बढी थियो भनिन्छ ।

त्यतिबेला अढाइ लाख जनसंख्या भएको त्यो सुन्दर जापानी सहर हिरोसिमाका १ लाख ६० हजार मानिस तत्कालै मारिए र एकदमै नराम्रोसँग घाइते भएका मानिस पछि कालकलवित भए । अनि अधिकांश अन्य मानिसहरूले र आउँदो पिढीले पनि दीर्घकालीनरूपमा त्यो परमाणु बमको असैह्य पीडा झेल्नुपरेको थियो । यसरी बाँचेका हजारौँ जापानीहरूले जुन यातना भोग्नुपरेको थियो त्यो असैह्य र अवर्णनीय थियो ।

त्यतिबेला बिस्फोटको केन्द्र्रमा तापमान ३ हजार हजारदेखि ४ हजार डिग्री सेन्टिग्रेडसम्म पुगेको थियो भनिन्छ । जबकी फलाम नै १ हजार ५५० डिग्री सेल्सियसमा पग्लिन्छ । त्यतिबेला १ जना १५ वर्षकी मिसियो यामोका नामकी बालिका त्यो बिस्फोट भएको केन्द्रबाट झण्डै १ किलोमिटर टाढा थिइन् तर पनि तिनको अनुहार नराम्ररी जलेको थियो । त्यसबेला हिरोसिमा बस्ने १ जना जर्मन पादरी क्लिनसार्जले तिर्खा लागेर चिच्याइरहेका मानिसहरूको कोकोहोलो सुने । तिनले पानी पानी भनिरहेका थिए । ती पादरी पानी लिएर दौडिए । उनले त्यहाँ पानी लिएर जाँदा २० जना व्यक्तिको अनुहार पुरै जलेको देखे । जसको आँखाबाट आँशु सुकेर आँखा सुक्खा भइसकेका जस्ता देखिन्थे । कतिपय मानिसहरूले बिस्फोटबाट फैलिँदो आगाको ज्वाला आफ्नो बस्तीतिर पुगेको देखे । टाढाटाढासम्म चारैतिर आगो लागेको देखिन्थ्यो ।

एउटा अस्पतालमा दर्दले चिच्याइरहेका बिमारी मानिसहरूका निम्ति पोषक तत्वको अत्यन्तै आवश्यकता थियो, तर चारैतिर जलिरहेका लाशको दुर्गन्धका कारण ती बिमारीको घाँटीबाट केही छिरिरहेको थिएन । अनि बिस्फोटका कारण बढ्दो जलस्तरले गर्दा कैयौँ मानिसहरू डुबिरहेका थिए भने कतै जलिरहेका थिए । हजारौँ हजार घर र भवनहरू ध्वस्त बनेका थिए । त्यति बेलै अणु बमको प्रतीक जस्तो बनेर फुस्रो छाते च्याउ जस्तो आकार बनेका बादलको थुप्रोको घण्टौँसम्मको त्यो कोलाहलले आक्रान्त सहरमा थप आतंक मच्चाइरहेको थियो ।

त्यस्तो अत्यन्तै दुर्दान्त र भयावह दुष्परिणाम चलिरहकै बेलामा अमेरिकी बिमानले तुरुन्तै पहिलो बम खसालेको ३ दिनपछि अर्को ‘फ्याट म्यान’ नाम राखिएको अणुबम जापानको नागासाकी सहरमा पनि खसाल्यो । ती दुबै सहरमा एक क्षणमै १ लाख मानिसहरूको एकाएक मृत्यु भयो भने त्यो बिस्फोटको दीर्घकालीन परिणामस्वरूप झण्डै ३ लाख मानिस कालकलवित हुन पुगे । के अनुमान लगाइन्छ भने हिरोसिमामा एउटै अणु बमले त्यति मानवीय क्षति हुनपुग्यो जति सामान्य बम भरिएका २७९ वटा बिमानले भन्दा १० दोब्बर बढी जनसंख्या भएको सहरमा क्षति गर्न सक्थे ।

कैयौँ दशकसम्म हिरोसिमा र नागासाकीका मानिसहरूले विभिन्न किसिमका डरलाग्दा भीषण बिमारी पनि त्यो अणु बिस्फोटबाट झेल्नुपरेको थियो । शरीरका विभिन्न भागबाट रगत बग्नु, चोट लागेका भागहरू निको नहुनु, तीव्र ज्वरोबाट पटकपटक आक्रान्त हुनु र सबैभन्दा बढी त विभिन्न किसिमका क्यान्सर रोगहरूमा तीव्र वृद्धिजस्ता समस्या देखा परे । कति बेला रगत क्यान्सर तीव्र गतिमा बढ्ने गर्दथ्यो भने कतिबेला छालाको क्यान्सर त कतिबेला शरीरका अन्य भागमा क्यान्सर उत्पन्न हुन्थ्यो । अनि त्यो बम खसालिँदा जो महिलाहरू गर्भवती थिए ती मध्ये धेरैका बालबच्चाहरू विभिन्न किसिमका रोगका समस्याले ग्रस्त बनेका थिए । विशेषगरी मन्द बुद्धि बच्चाहरूको जन्म धेरै नै भयो । यसरी अनेक प्रकारका दीर्घकालीन असर मुख्यरूपमा विकिरण या रेडिएसनको असरका कारणले त्यस्तो भएको बताइन्छ ।

त्यतिबेला हिरोसिमामा त केबल एउटा परमाणु बम खसालको थियो । आजको विश्वमा विभिन्न किसिमका निःशस्त्रीकरणका वार्ताहरू र यससम्बन्धी सम्मेलनहरू हुँदाहुँदै पनि नागासाकी र हिरोसिमामा खसालेका भन्दा हजारौँ गुणा शक्तिशाली परमाणु बमहरू १३ हजार त घोषितरूपमा रहेका छन् । त्यसले सारा महादेशमा कति डरलाग्दो वितण्डा मच्चाउन र सर्वनाश तुल्याउन सक्छ त्यसको कल्पनासम्म पनि अत्यन्तै भयकारी छ । यस्तो युद्ध भयो भने त्यसमा कसैले जित्दैन सम्पूर्ण मानव समाजको विनाश हुन्छ भन्ने तथ्य त अमेरिकाले हिरोसिमा र नागासाकीमा खसालेको पहिलो अणुबम प्रहारले नै प्रष्ट पारिसकेको छ ।

यो महाभयकारी सत्य तथ्य थाहा पाएपछि आजको विश्वमा जुन १३ हजार परमाणु युद्ध आयुधहरू तैनाथ छन् तिनलाई प्रभावकारी किसिमले नष्ट गर्न आज वैज्ञानिक क्षमतालाई प्रयुक्त गर्नुपर्ने ज्वलन्त र अपरिहार्य आवश्यकता बनेको छ । यसो नगरिकन परमाणु शस्त्रास्त्रको अभिशापबाट यो जीवनदायिनी धरतीलाई मुक्त गर्न सकिने छैन । भन्ने गरिन्छ कुनै कुरा बनाउन कठिन छ तर त्यसलाई नष्ट गर्न त्योभन्दा कठिन छ । विज्ञ वैज्ञानिकहरू नै यसै भनिरहेका छन् र यो दुष्कर कार्य गर्न धेरै महँगो पर्ने उनीहरू बताउँदछन् । सन् १९८७, १९९१ र १९९३ मा अमेरिका र सोभियत संघका बीचमा ३ वटा महत्वपूर्ण सन्धि सम्झौताहरू आणविक र अन्य शस्त्रास्त्र कम गर्नका लागि भएका थिए त्यसको विश्वमा व्यापक स्तरमा स्वागत गरिएको थियो ।

त्यसबाट धेरै मानिसमा के विश्वास पैदा भएको देखिन्थ्यो भने धेरै ठूलो परिमाणमा त्यस्ता आणविक शस्त्रास्त्रहरू नष्ट गरिन लागेका छन् । तर, वास्तविक स्थितिलाई उजागर गर्दै मानव विकास प्रतिवेदन १९९४ मा के जानकारी गराइयो भने ती सन्धि सम्झौताहरूबाट विश्वमा तनाव त केही कम अवश्य भयो तर यसका महत्वपूर्ण सीमाहरू रहेका छन् । त्यसमा के बताइयो भने कतिपय हतियार अथवा युद्ध आयुधहरूलाई शत्रुसम्म पु¥याउने बाहकहरू या प्रक्षेपास्त्रबाट अलग गरिनुपर्दछ तर त्यस्तो कुनै निर्देशन भने दिइएन कि युद्ध आयुद्धहरू नै नष्ट गरिनुपर्दछ ।

त्यो प्रतिवेदनले बढी स्पष्ट शब्दमा के बताएको थियो भने न त अमेरिकासँग न त रुससँग नै एउटा उच्च प्राविधिक तथा राजनीतिक दृष्टिले स्वीकार्य यससम्बन्धी योजना नै छ, जसअन्तर्गत युद्ध आयुधहरूका विभिन्न भागहरूलाई अलग गर्न सकियोस् र नाभिकीय हिस्सालाई नष्ट गर्न सकियोस् । अतः ती युद्ध आयुधहरू आउँदा पिढीका लागि शीरमाथि झुन्डिएको तरबारजस्तै खतरा बनिरहने आशंका छ ।

हुन पनि ती परमाणु शस्त्रहरूलाई नष्ट पार्ने कार्यसँगसम्बन्धी विभिन्न प्रविधिसम्बन्धी कठिनाई र महँगो आर्थिक बजेटका कारणले अन्तर्राष्ट्रिय स्तरमै सबल र दृढ राजनीतिक इच्छाशक्तिको आवश्यकता छ । त्यस्तो दृढ इच्छाशक्तिले मात्र यस्तो कार्यलाई उच्चतम प्राथमिकतामा राखेर विश्वका सबै परमाणु शक्तिले सुसज्जित देशहरू र तिनका वैज्ञानिकहरूलाई सबै किसिमका संंकीर्ण स्वार्थलाई छोडेर यस निःशस्त्रीकरणको अभियानमा परस्पर सहयोग गर्ने आधार तयार हुन्छ र बन्छ । अन्यथा परमाणु शस्त्रास्त्रले ल्याउने अत्यन्तै कहालीलाग्दो र सत्यानाशी बर्बादी मानव समाजले भोग्नुपर्ने नियतिबाट कोही पनि जोगिन सक्ने छैन । यो अत्यन्तै गम्भीरतम तर ध्रुवसत्य कुरा हो ।

प्रतिक्रिया