सल्यान । यहाँका दृष्टिविहीन शिक्षक राजेश आर्यालले सगरमाथा आरोहणको तयारी गरेका छन् । शारदा नगरपालिका–१ शीतलपाटीस्थित शिवजन माध्यमिक विद्यालयका शिक्षक आर्यालले आफ्नै बलबुतोमा संसारकै अग्लो चुचुरो चुम्ने योजना बनाएका हुन् ।
दृष्टिविहीन अमेरिकी आरोही एरिक वेहेन मेयरले सन् २००१ मा सगरमाथा चढेको खबरले आर्याललाई गहिरोसँग प्रभावित ग¥यो । आर्थिक अभावकै कारण त्यो बेला असम्भव देखिएको सपना अहिले साकार हुन लागेको छ । आर्थिक कठिनाइका कारण त्यो सपना तत्काल साकार हुन नसके पनि अहिले अनुकूल परिस्थिति जुटेको उनले बताए ।
सगरमाथा आरोहणका लागि जिल्लाबाट बिदाइ हुने क्रममा उनले आप्mनो संघर्षको प्रसंग निकाल्दै आफू सानै हुँदादेखि नै जोखिमसँग लड्ने बानी रहेको बताए । उनले भने, ‘म डेढ वर्षको हुँदा आमाबुबा दुबै गुमाएँ, संरक्षक कोही नभएपछि अर्काको घरमा काम गर्दै कक्षा ५ सम्म अध्ययन गरेँ उतिबेला म १३ वर्षको थिएँ अनि म दृष्टिविहीन भएँ । मैलै फेरि पनि हार मानिनँ अरूको घरमै बसेर मैले ब्रेल पढ्न थालेँ ।’
अर्काको घरमा काम गर्दै पढेर मास्टर्स गरेको उनले सुनाए । २०७९ सालमा राहत दरबन्दीबाट शिक्षण पेसामा प्रवेश गरेका उनले २०७५ सालमा लोकसेवा आयोगबाट स्थायी दरबन्दीमा नाम निकालेर अध्यापन गराइरहेका छन् । शिवजन माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई समेत अध्यापन गराउने उनी अहिले भने ३ महिनाको बेतलबी बिदा लिएर सगरमाथा आरोहणका लागि निस्केका छन् ।
३ महिनाको समयमा तालिम र अन्य खर्च गरी करिब ५० देखि ६० लाखसम्म खर्च लाग्नेरहेछ मेरो लागि आर्थिक व्यवस्थापनको जिम्मा सल्यान जिल्लाकै समाजसेवी ऋषिकेश जंग शाहले लिएको उनले बताए । सगरमाथा आरोहण गराउन भने २ पटक सगरमाथाको सफल आरोहण गरिसकेका पिके शेर्पाले सहयोग गर्ने उनले बताए ।
१ महिनासम्म काठमाडौँमा हिमाल आरोहणका लागि ट्रेनिङ लिएर कञ्चनजंघा हिमाल आरोहण गरी वैशाखको पहिलो सातासम्म सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको अर्यालले बताए । ‘दृष्टिविहीन भएर पनि सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको छु । धेरै वर्षदेखिको योजना अब साकार हुनेमा आशावादी छु’, उनले भने ।
सगरमाथा आरोहणको लागि जान लागेका शिक्षक अर्याललाई बिदाइ गर्दै शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले शिक्षक आर्यालको प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । ‘शारीरिक अपांगता भएका व्यक्तिले अवसर पाएमा असम्भवजस्तो देखिने लक्ष्य पनि हासिल गर्न सक्छन्’, उनले भने ।
अर्यालको सफल आरोहणले सल्यान मात्र होइन, देशकै गौरव बढाउनेछ । उनको यो साहसिक यात्रा नेपालका लागि मात्र नभई सम्पूर्ण विश्व समुदायका लागि प्रेरणादायी बन्नेमा आफू बिस्वस्त रहेको मेयर भण्डारीको भनाइ रहेको छ ।
शिक्षक आर्याल आफैँ पनि सफलतामा आशावादी छन् । ‘दृष्टिविहीन भएर पनि सगरमाथा चढ्ने मेरो सपना अब पूरा हुनेछ । मेरो प्रयासले अरू दृष्टिविहीन व्यक्तिहरूका लागि पनि नयाँ आशा जगाउनेछ’, उनले उत्साहित हुँदै भने ।
प्रतिक्रिया