सन् २०२२ मात्र १ वर्षमा नेपालमा २ हजार १६९ जनालाई एचपिभी संक्रमण भएको र तीमध्ये १ हजार ३१३ को क्यान्सरको कारण मृत्यु भएको अभिलेखले देखाएको छ । यही प्रवृत्ति कायम रहँदा पनि दैनिक ६ जना महिलालाई पाठेघरको क्यान्सर हुने र ४ महिलाको ज्यान जाने देखिन्छ, जुन कम भयाभह अवस्था होइन ।
आउँदा दिनहरूमा सन्दर्भ फेरिएला तर वर्तमानमा भने पाठेघरको मुखको क्यान्सर अर्थात सर्भिकल क्यान्सर नेपालमा जनस्वास्थ्य समस्याको रूपमा पहिचान भएको छ । नेपाली महिलाहरूलाई हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सर भएर मृत्यु हुनेको संख्यालाई केलाउँदा भने सर्वाधिक बढी मृत्यु हुने यो खालको क्यान्सर रहेको छ । यो रोग ह्युमन प्यापिलोमाभाइरस (एचपिभी) को संक्रमणका कारणले हुन्छ । यो भाइरस मानव शरीरमा २० वर्षको अवधिसम्म रह्यो भने क्यान्सर हुने बताइएको छ ।
सन् २०२२ मात्र १ वर्षमा नेपालमा २ हजार १६९ जनालाई एचपिभी संक्रमण भएको र तीमध्ये १ हजार ३१३ को क्यान्सरको कारण मृत्यु भएको अभिलेखले देखाएको छ । यही प्रवृत्ति कायम रहँदा पनि दैनिक ६ जना महिलालाई पाठेघरको क्यान्सर हुने र ४ महिलाको ज्यान जाने देखिन्छ, जुन कम भयाभह अवस्था होइन । यस सन्दर्भमा अमूल्य मानव जीवनलाई जोगाइराख्नका लागि खोपको खोजी हुनु, सफल परीक्षण हुनु र आमरूपमा प्रयोगमा ल्याइनुलाई असल संयोग मान्नुपर्दछ ।
एचपिभी खोप
एचपिभी खोप भनेको पाठेघरको मुखको क्यान्सर गराउने संक्रमणविरुद्ध दिइने खोप हो । भाइरस विभिन्न माध्यमबाट सर्ने भएता पनि रोगको हिसाबले क्यान्सर नसर्ने रोग हो । महिलाहरूको ज्यानै जाने खतरनाक खालको क्यान्सरका रूपमा पाठेघरको मुखको क्यान्सरलाई मानिएको छ । साविकमा सर्ने रोगमा मात्र खोप केन्द्रित भएकोमा हाल आएर प्रमुख स्वास्थ्य जोखिमका रूपमा देखापरेको पाठेघरको मुखको क्यान्सरको कारक भाइरसविरुद्ध खोपबाट रोकथाम गर्न खोजिएको हो । अस्ट्रेलियन टेक्निकल एड्भाइजरी ग्रुप अन इम्युनाइजेसनले सन् २०१३ मा एक डोज भएको एचपिभी खोप सिफारिस गरेपछि एकल डोज खोप प्रयोगमा आएको छ । अरू खोपजस्तै यो खोपले पनि संक्रमणसँग प्रतिरक्षा प्रणालीद्वारा लड्न सहयोग गर्दछ । कथंकदाचित पुरै रोक्न नसके पनि रोगको गम्भीरतालाई घटाउँछ ।
विश्व स्वास्थ्य संगठनले सन् २००६ मा प्रमाणित गरी प्रयोगमा आउन सुरुभएको एचपिभी खोप हाल १४५ भन्दा बढी देशमा प्रयोगमा आएको छ । विगतमा नेपालमा समेत परीक्षण गरी सफल भएको आधारमा दिन थालिएको यो खोप सुरक्षित छ, प्रयोगकर्तालाई निःशुल्करूपमा उपलव्ध हुन्छ र जीवनरक्षा गर्दछ । यो वर्ष पहिलो वर्ष पनि भएको र १० देखि १४ वर्षसम्मका किशोरीलाई समेट्ने भएको हुँदा नेपालभर १६ लाख ८८ हजार ७६८ जनाले खोप लगाउने अनुमान छ । नेपालमा यो खोप भित्र्याउनका लागि आर्थिक सहयोग गर्ने गाभीलगायतका संस्थाहरूको सहयोगलाई सह्रारना गरिनुपर्दछ किनकी नेपाली महिलाले भोग्दै आएको समस्याका लागि ढिलै भए पनि रोकथामको यो बाटो सम्भव भयो ।
खोप अभियानको व्यवस्थापन
बास्तवमा एचपिभी खोप अभियानमा संघ, प्रदेश र स्थानीय तह ३ वटै तहका सरकारको सक्रिय सहभागिता रहने देखिन्छ । केन्द्रमा राष्ट्रिय खोप सल्लाहकार समिति रहेजस्तै प्रत्येक जिल्लामा जिल्ला समन्वय समितिका अध्यक्षको संयोजकत्वमा जिल्ला खोप समन्वय समिति रहने व्यवस्था छ, जसले खोप अभियानलाई सफल बनाउनका लागि समन्वय र सहजीकरण गर्ने गर्दछ ।
नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरूप पहिलोपटक २०८१ माघ २२ देखि फागुन ६ सम्म राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो खोप लगाउने कार्य अभियानकै रूपमा देशभर सञ्चालन भइरहेको छ । यो वर्ष खोप दिइने १० देखि १४ वर्ष उमेरका बालिका तथा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरू रहने हुँदा मूलतः खोप अभियान विद्यालय केन्द्रित हुने अनुमान लगाउन सकिन्छ । नेपालमा यो वर्ष सिकोलिन नाम गरेको खोप दिँइदै छ । यो खोप बायाँ पाखुराको मासुभित्र दिइन्छ । मुख्यगरी २ अवस्थामा यो खोप नलगाउन भनिएको छ । पहिलो भनेको गर्भवती भएमा वा हुने सम्भावना छ भने र दोस्रो पहिलो खोप लगाएपछि एनाफाइलेक्सिस नामक एलर्जी देखापरेको छ भने त्यस्तो व्यक्तिलाई पुनः खोप दिनु हुँदैन ।
जिल्लामा रहेका स्थानीय तहको संख्या, भौगोलिक वितरणको अवस्था तथा सूचीकृत भएका बालिकाको संख्याअनुसार अभियान सञ्चालन हुने अवधि कम वा बढी हुन सक्छ । जस्तोकी बागलुङ जिल्लामा एचपिभी खोप यही माघ २२ देखि फागुन ३ सम्म सम्पन्न गर्ने गरी कार्यतालिका तय भएको छ । माघ २२ देखि २८ सम्म बागलुङ नगरपालिका, जैमिनी, वरेङ, गलकोट र ताराखोलामा लगाइँदै छ भने बाँकी पालिकहरू ढोरपाटन, निसीखोला, वडिगाड र तमानखोलामा भने माघ २९ देखि फागुन ३ सम्म सञ्चालन हुने गरी तय भएको छ । खोप अभियान नेपालका सबै जिल्लाहरूमा २०८१ माघ २२ विश्व क्यान्सर दिवसको दिनबाट सुरु भइसकेको छ भने खोप लगाउन बालिकाहरूको उत्साहजनक उपस्थिति रहँदै आएको मेडियाहरूले जनाएका छन् ।
रोकथामका लागि खोप अभियान
पाठेघरको मुखको क्यान्सर रोगको निवारणका लागि विश्व स्वास्थ्य संगठनले ३ वटा स्वास्थ्य सेवाहरूको गन्तव्य निर्धारण भएको अवस्था छ । पहिलो भनेको रोग लाग्ने अवस्था नै आउन नदिन प्रारम्भिक किशोरावस्था अर्थात १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर सिर्जना गर्ने एचपिभीविरुद्धको खोप दिनु हो भने दोस्रो भनेको ३० वर्षभन्दा माथिको उमेरका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) गर्नु हो जसमा उच्च गुणस्तरीय विधिबाट पाठेघरको मुखको परीक्षण गरी क्यान्सर भएनभएको पत्ता लगाउनु हो अर्थात निदान गर्नु हो भने तेस्रो भनेको यसरी पाठेघरको मुखको क्यान्सर निदान भएका व्यक्तिको उपचार गर्नु हो ।
उल्लिखित ३ सेवामध्ये दोस्रो र तेस्रो सेवा नेपालमा विगतदेखि नै उपलब्ध हुँदै आएको थियो भने यो वर्षदेखि पहिलो अर्थात खोप अभियानमा एचपिभीविरुद्धको खोपलाई समावेश गरी अभियान सञ्चालन प्रारम्भ भइसकेको छ । प्रत्येक सेवामा उपलब्धि न्यूनतम ९० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको पनि छ । खोप अभियानमा एचपिभीविरुद्धको खोप समावेश गर्ने विषय चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समेटिएको थियो ।
एचपिभी खोप यो वर्ष १० वर्षदेखि १४ वर्षसम्मका किशोरकिशोरी विद्यालयमा भए विद्यालयमै गएर र विद्यालयबाहिर भए पायक पर्ने खोप केन्द्रमार्फत यो खोप दिइँदै छ । यो वर्ष सबै किशोरीहरूलाई लक्षित गरी खोप दिने र आगामी वर्षदेखि भने १० पूरा गरेका किशोरीलाई मात्र लक्षित गर्ने गरी खोप कार्यक्रम निर्धारण भएको छ । एकपटक लगाए हुने र एउटा खोपमा शून्य दशमलव ५ मिलि बराबरको १ भायल मात्राका रूपमा हुने बताइएको छ ।
खोप अभियानलाई प्रभावकारी कसरी बनाउने ?
देशकै समस्याका रूपमा बढिरहेको रोगको सिर्जना गर्ने भाइरसका विरुद्ध दिने भएको हुँदा यो खोप अभियान जनताप्रति सरकारको संवेदनशीलता र जवाफदेहिताको एउटा उदाहरण पनि हो । अवश्य पनि यो सबैको सहयोगमा सम्पन्न गर्ने अभियान हो । खासगरी जोखिम समूहमा पर्ने सबै किशोरीहरूका लागि यो अवसर पनि हो । सबैलाई खोपको दायरामा ल्याउनका लागि यो खोप सम्बन्धमा रहेका र रहन सक्ने भ्रम निवारण गर्न सक्नुपर्दछ । स्वास्थ्यकर्मी, शिक्षकशिक्षिका, सञ्चारकर्मीले यसका विभिन्न पक्षमा समाज परिवार र व्यक्तिको तहसम्म जानकारीहरू उपलव्ध गराउन अगुवाई गर्नुपर्ने हुन्छ । विभिन्न खाले मिडियाबाट प्रतिष्ठित चिकित्सकले एचपिभी खोप सम्बन्धमा सत्यतथ्य जानकारी गराउनु उपयुक्त हुन्छ । जिम्मेवारीमा रहेका व्यक्तिहरू नै खोप केन्द्रमा पुग्नु र कोही छुटेनछटेको सम्बन्धमा फिल्डमा खटिएका व्यक्तिहरूबाट विवरण माग गर्नु पनि यसप्रतिको चासोको प्रमाण हुन सक्छ ।
पहिलोपटक सञ्चालन हुन लागेको एचपिभी खोप अभियानलाई व्यवस्थित र संस्थागत रूप दिनका लागि एचपिभी खोप सेवा सञ्चालन निर्देशिका २०८१ समेत प्रयोगमा ल्याइएको छ । त्यसैगरी खोप अभियान सम्बन्धमा केही जिज्ञासा भए सोध्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क हेल्पलाइन ‘हेल्लो स्वास्थ्य’ को सम्पर्क नम्बर १११५ मा फोन गर्न वा नजिकको स्वास्थ्य संस्थामा समेत सम्पर्क राख्न सकिने देखिन्छ । सुरुमा नामावली संकलनदेखि खोप लगाइसकेपछिको अवस्थामा अनपेक्षित घटना भइहाल्यो भने संबोधनका लागि बालिका स्वयं, अभिभावक र खासगरी स्वास्थ्यकर्मीहरू निकै चनाखो हुनु जरुरी हुन्छ ।
एचपिभी खोप महिलाहरूसँग सरोकार राख्ने भएकोले यो खोप अभियानका बखत महिला स्वास्थ्यका अन्य आयामहरूलाई समेत आवद्ध गर्ने सम्भावना रहन्छ । जस्तो कि किशोरावस्थाका बालिकाहरूमा महिनाबारी सम्बन्धमा अन्यौल हुनसक्ने, कुतूहलताका साथै यौनलाई हामीकहाँ आवश्यकभन्दा पनि बढी लज्जाको विषय पनि बनाइएको सन्दर्भमा एचपिभी खोप अभियानकै क्रममा पनि महिनावारी स्वास्थ्य र सरसफाइका लागि सचेतनासमेत संभव हुन्छ ।
महत्वपूर्ण कुरा त महिनावारी भएको अवधिमा समेत यो खोप लगाउन सकिने भनिएको छ । त्यस्तै प्रजनन अंगको सरसफाइ, स्यानिटरी प्याड तथा सुतीको कपडाको के कसरी प्रयोग गर्ने भन्ने विधि, महिनावारी भएको अवधिमा सम्भव हुने शारीरिक अभ्यासको जानकारी, प्रयोग गरिसकेका प्याड तथा कपडाको उचित विसर्जनको तरिका सम्बन्धमा व्यक्तिलाई विभिन्न प्रचार सामग्रीमार्फत र खोप लिइसकेपछिको उपलब्ध समयमा सामूहिकरूपमा जानकारी गराउँदा पनि प्रभावकारी हुने देखिन्छ ।
निष्कर्ष
पाठेघरको क्यान्सर गराउने भाइरसको २ प्रजाति, जसले उक्त क्यान्सर गराउन ९८ प्रतिशत भूमिका खेल्दछ । ती प्रजातिलाई लक्षित गरेर सिकोलिन नामक भ्याक्सिन प्रारम्भिक किशोरावस्थाका बालिकाहरूलाई दिँइदै छ । रोग लागेपछि निदान र उपचारका लागि भौतारिनुभन्दा पनि रोग नै लाग्न नदिन यो उपाय प्रभावकारी रहने नै छ । खोपका सम्बन्धमा केही अन्यौल वा भ्रम छ भने त्यसलाई चिर्दै खोप कार्यक्रमका अलावा द्रुत अनुगमनलाई समेत प्रभावकारी बनाउनु आवश्यक छ । सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्या नरहने हदसम्ममा निवारण गर्ने विश्वव्यापी लक्ष्य हासिल गर्न हामीहरू सबैले आआफ्नो क्षेत्रबाट ऐक्यवद्धता जनाऔँ । एचपिभी खोप अभियान सफल पारौँ । (रासस)
प्रतिक्रिया