काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलविद्युत् आयोजनाहरूमा सेटिङ गरेर ठेक्का लगाउने गरेको भन्दै सत्तारूढ दलकै सांसदहरूले आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरूले जलविद्युत् आयोजनाहरूको ठेक्कामा मन्त्री खड्काले मनपरि गरिरहेको आरोप लगाएका हुन् । समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।
मन्त्री उपस्थित सो बैठकमा बोल्दै पूर्व ऊर्जामन्त्रीसमेत रहेका सत्तारूढ नेकपा(एमाले)का सचिव तथा सांसद गोकर्ण बिष्टले मुगु कर्णाली, किमाथांका अरुण जलविद्युत् आयोजनाको सेयर बिक्रीका विषयमा प्रश्न उठाए । उनले सेटिङ गरेर आयोजना निर्माणका लागि लगानी साझेदारी गर्नेसम्बन्धी कार्यविधि बनाइएको आरोप लगाए । मन्त्रिपरिषद्को निर्णयमा गर्नुपर्ने काममा पनि प्रबन्धपत्रमा टेकेर ऊर्जामन्त्री खड्काले जथाभावी गरिरहेको उनको भनाइ थियो । बिष्टले ऊर्जामन्त्री खड्काको नियत राम्रो नभएको बताए ।
बैठकमा बोल्दै नेकपा(एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले जगदुल्ला हाइड्रोपावर, मुगु कर्णाली, अरुण किमाथांका लगायतका हाइड्रोपावरहरूमा मन्त्रालयले सेटिङ गरी प्रोजेक्ट बेच्न खोजेको बताए । उनले अमुक कम्पनी र अमुक व्यक्तिहरूलाई ठेक्का दिने काम भएको भन्दै मन्त्रीको आलोचना गरे ।
त्यसैगरी पूर्व ऊर्जामन्त्रीसमेत रहेका नेकपा(माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत् आयोजनाको सेयर बेच्ने प्रक्रिया अगाडि बढाउनु शंकास्पद भएको बताए । माओवादी केन्द्रकै सांसद माधव सापकोटाले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत् आयोजनाको सेयर बेच्ने योजनाबाट पछि हटेको बारे मन्त्रीको जवाफ माग गरे । सापकोटाले मन्त्री खड्काले सेटिङमा कार्यविधि बनाएर २ अयोजनाको सेयर सेटिङमा बेच्न खोजेको आरोप लगाए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले मुगु कर्णाली र किमाथांका अरुण जलविद्युत् परियोजनाहरूमा सेटिङ भएको बताइन् ।
समिति बैठकमा बोल्ने अन्य सांसदहरूले मन्त्री खड्काको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । मन्त्री खड्काले किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत् आयोजनाको सेयर बिक्रीमा कुनै सेटिङ नगरेको प्रष्टीकरण दिए । उनले आफ्नो कुनै ठेकेदारसँग चिनाजानी नभएको र कोही पनि आफूलाई भेट्न नआएको बताए ।
प्रतिक्रिया