बालयौन दुर्व्यवहार मुद्दामा मदन राईलाई साढे दुई वर्ष जेल सजाय फैसला

काठमाडौं । बाल यौन दुर्व्यवहारको मुद्दामा मदन राईलाई साढे दुई वर्ष जेल सजायको फैसला भएको छ । खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय फैसलाका लागि आज शुक्रबारलाई पेशी तोकेको थियो ।

शुक्रबार नै राईलाई साढे दुई वर्ष जेल सजायको फैसला सुनाएको हो । यस्तै एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन पनि फैसलामा भनिएको छ । २०८० जेठ २१ गते उनीविरुद्ध बालयौन दुर्व्यवहाको अभियोगमा मुद्दा दर्ता भएको थियो ।

त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए । कृषि विज्ञका रूपमा परिचित राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग), (ङ) अन्तरगतको कसुर गरेको आरोप छ । राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुर्व्यवहारको कसुरमा जाहेरी दिएकी थिइन् । फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गरेकाे भिडियो समेत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया