वीरगञ्ज । पर्साका ट्राफिक प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले सवारी चालकले चालकले ट्राफिक नियम पालना गरे दुर्घटना हदैसम्म कम हुने बताएका छन् । नेपालमा हुने सडक दुर्घटनाको ७८ प्रतिशत कारण भनेको चालकको लापरवाहीले गर्दा नै हुने उनले बताए ।
त्यसपछि सडकको अवस्थाका कारणले पनि धेरै दुर्घटना हुने गरेको प्रमुख भट्टले बताए । गाडीको अवस्था, ट्राफिक नियमको पालना नगर्नु, जनचेतनाको कमी, धेरै यात्रु बोकेर हिँड्नु, तीव्र गतिमा गाडी हाँक्नुलगायतका धेरै कारणले गर्दा पनि दुर्घटना हुने गरेको उनको भनाइ छ ।
जनचेतनाको अभावका कारण कतिपय सवारी दुर्घटनामा पैदल यात्रीलेसमेत ज्यान गुमाउनु परेको भन्दै चालक यात्रुलाई जिम्मेवार बनाउन ट्राफिक कार्यालय पर्साले विभिन्न सडक जनचेतना अभियान सञ्चालन गर्दै आएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक भट्टले बताए ।
अहिले सर्वसाधारणमा जनचेतनाको अभावका कारण यातायातका साधनको सिट क्षमताभन्दा बढी यात्रु बस्ने, जथाभावी बाटो काट्ने गरेका कारण यात्रुलाई जनचेतनाको माध्यमबाट सचेत गराउँदै आएको उनले बताए ।
दुर्घटना न्यूनीकरण गर्न गाडी कसरी चलाउने, गाडी आफ्नो नियन्त्रणमा राख्नको लागि कति गति हुनुपर्छ र बाटो अनुसार कति गति कायम गर्ने भन्ने कुरा चालकको योग्यता, क्षमता र नियन्त्रणको कुरा भएकोले चालकले यो कुरामा ध्यान दिने हो भने धेरै दुर्घटना टर्न सक्ने उनको भनाइ छ ।
त्यस्तै हतार नगर्ने हो भने लेनमा गाडी गुडाउन सकिने भट्टले बताए । उनले भने, ‘हामी सबैलाई हतार हुन्छ र अरुको लेनमा हामी जान्छौँ, यसले गर्दा गाडी जुध्ने, मान्छेलाई ठक्कर दिने सम्भावना धेरै हुने गरेको छ, यसमा पनि सबैले ध्यान दिन जरुरी छ ।’
सडकमा ट्राफिक प्रहरी देखे मात्र ट्राफिक नियम पालना गर्ने नत्र वेवास्ता गर्दै हिँड्ने यस्ता प्रवृत्ति अहिले धेरै बढेको उनले बताए । यसलाई नियन्त्रण गर्न पैदलयात्रु र सवारी चालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने, लेन अनुशासन, जेब्राक्रसिङका बारेमा चेतना अभिवृद्धि गरी दुर्घटना न्यूनिकरण गर्नु प्रमुख उद्देश्य रहेको उनले बताए ।
ट्राफिक नियम पालना गर्नका लागि सबैले मनबाटै अठोट लिन जरुरी भएको र सडकमा गाडी चलाउँदा वा पैदल हिँड्दा जहिले सर्तक भएर हिँड्न उनले आग्रहसमेत गरे ।
प्रतिक्रिया