मर्यादाक्रमको नाममा ‘जुँगाको लडाइँ’

मुलुकमा क्रियाशील राजनीतिक दलमध्ये नेपाली कांग्रेस सबैभन्दा पुरानो हो । केही अपवादबाहेक देशमा अहिलेसम्म भएका निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा ठूलो पार्टीको हैसियत कायम राख्दै आएको छ । देशमा अहिलेसम्म जनअधिकार प्राप्तिका लागि भएका सफल आन्दोलनको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको छ । यस हिसाबले नेपाली कांग्रेसको संगठन शैली तथा कौशल मुलुकका सबै दलका लागि अनुकरणीय हुनुपर्ने हो । तर ठीक उल्टो छ । मुलुकका प्रायः राजनीतिक दलहरू आफ्नो संगठनात्मक अवस्था नेपाली कांग्रेसको जस्तो नहोस् भन्ने चाहन्छन् । किनकी संगठनात्मक भद्रगोल नेपाली कांग्रेसको विशेषता जस्तै बन्न पुगेको छ । बरु भद्रगोल घट्दो होइन, बढ्दो छ । उदाहरणका लागि भरखरै पोखरामा सम्पन्न अभिमुखीकरण तथा प्रशिक्षणमा इतर पक्षका नेता डा.शेखर कोइराला सहभागी भएनन् ।

डा. कोइरालाले मर्यादाक्रमको कुरा उठाउन थालेका कारण कार्यक्रममा आमन्त्रण नगरिएको संस्थापन पक्षको दावी छ । कांग्रेसमा प्रदेश सभापतिहरूले आफूहरूको मर्यादाक्रम केन्द्रीय सदस्यभन्दा माथिल्लो हुनुपर्ने माग राख्दै आएका छन् । इतर पक्षका नेता डा.कोइरालाको वैधानिक पदीय हैसियत केन्द्रीय सदस्य मात्रै भएकाले मर्यादाक्रमको विवाद जन्मेको अनुमान गर्न सकिन्छ ।

मर्यादाक्रमको प्रश्न उठाएर पार्टीका औपचारिक कार्यक्रममा नेताहरू सहभागी नहुने समस्या नेपाली कांग्रेसमा नयाँ होइन । स्थापनाकालदेखि नै निरन्तरता पाएको यो समस्यालाई विगतमा खासै वास्ता गरिदैनथ्यो । तर पछिल्ला दिनमा घनिभूत हुँदै गएको यो प्रकरण मिडियामा समेत छताछुल्ल हुन थालेको छ । पार्टीभित्र सर्वप्रथम मर्यादाक्रमको प्रश्न सार्वजनिक रूपमा शेरबहादुर देउवाले उठाएका हुन् । त्यतिबेला उनी प्रधानमन्त्री थिए । पार्टीको केन्द्रीय समितिको बैठकमा आफ्ना लागि अलग कुर्सीको व्यवस्था हुनुपर्ने माग देउवाले राखेका थिए । यो माग पूरा नहुँदासम्म देउवा बैठकमै गएनन् । प्रधानमन्त्री पदबाट मुक्त भएपछि पनि केन्द्रीय समितिको बैठकमा अलग्गै कुर्सी हुनुपर्ने अडान देउवाले लिइरहे । त्यसो त देउवाकै अडानका कारण संसद्को बैठकमा पूर्वप्रधानमन्त्रीका लागि अलग कुर्सीको व्यवस्था गर्न थालिएको थियो ।

आफ्नो मर्यादाक्रमको अत्यन्तै ख्याल गर्ने कांग्रेस सभापति देउवा अरूको मर्यादाक्रमप्रति पनि त्यति नै गम्भीर बनिदिएको भए सायद नेपाली कांग्रेसमा यो समस्या समाधान भइसक्ने थियो । तर मर्यादाक्रमसम्बन्धी कार्यविधि बनाउन देउवाले चासो दिएनन् । जसका कारण इतरपक्षका कार्यसमितिहरूले आयोजना गरेका कार्यक्रममा पदाधिकारीलाई भन्दा केन्द्रीय सदस्य डा.कोइरालालाई माथिल्लो मर्यादाक्रममा राख्न थालियो । फलस्वरूप उपसभापति पूर्णबहादुर खड्काले कतिपय जिल्ला सम्मेलन तथा प्रदेश सम्मेलनहरू बहिष्कारसमेत गरे ।

गत वर्षको मंसिरमा आयोजित लुम्बिनी प्रदेश सम्मेलनमा त उपसभापति खड्काले प्रदेश सभापति अमरसिंह पुनलाई टेलिफोन गरेरै भने, ‘शेखर कोइरालालाई मभन्दा माथि राख्ने हो भने आउन सक्दिनँ ।’ उनी गएनन् पनि । मर्यादाक्रमकै कारण संस्थापन पक्षको अगुवाइमा भएका कार्यक्रममा इतर पक्षका नेता नजाने, इतर पक्षकोमा संस्थापन पक्षका पदाधिकारी नजाने समस्याबाट नेपाली कांग्रेस ग्रसित छ ।

कांग्रेसमा मर्यादाक्रमको समस्या देखिनुको मुख्य कारण व्यक्तिगत महत्वकांक्षा त हुुँदै हो, सँगसँगै कार्यविधिको समेत अभाव हो । कार्यविधि बनाउने काम कठिन पनि छैन । पार्टी संगठनभित्र रहेका नेताहरूको मर्यादाक्रम स्वतः कायम हुन्छ । कतिपय मर्यादाक्रम देशको संविधान तथा कानुनले निर्धारण गरेको छ । संविधान र कानुनभन्दा पार्टीको विधान माथि हुँदैन । प्रदेश सभापतिहरूले उठाएको मर्यादाको प्रश्न पनि संविधान र कानुनका आधारमा समाधान हुन सक्छ । तर इतर पक्षका नेता डा.कोइरालाले उठाएको प्रश्न राजनीतिक हो । उनी सभापति पदमा पराजित भएका हुन् । सभापति पदमा पराजितमध्ये निकटतम प्रतिस्पर्धी उम्मेदवार पदेन केन्द्रीय सदस्य हुने व्यवस्था पार्टी विधानमा छ ।

डा.कोइरालाको अहिलेको पदीय हैसियत भनेको त्यही हो । केन्द्रीय सदस्यहरूको मर्यादाक्रम पदाधिकारीभन्दा माथि हुँदैन । माथिल्लो मर्यादाक्रममा उक्लनकै लागि कोइरालाले वरिष्ठ नेता पद माग गरेका हुन् । तर, कांग्रेसमा बरिष्ठ नेता पद कसलाई दिने कसलाई नदिने भन्ने कुरा सभापतिको विवेकमा भर पर्छ । त्यसो त आफ्ना निकटम प्रतिस्पर्धी कोइरालालाई वरिष्ठ नेताको सम्मान दिँदा सभापति देउवाको उचाइ घट्दैन बरु बढ्छ । त्यसैगरी मर्यादाक्रममा तल पारिएका कारण आफ्नो उचाइ घटेको महसुस कोइरालाले गरेका छन् भने त्यो पनि गलत हो । मर्यादाक्रमले नेताको राजनीतिक उचाइलाई घटबढ गराउँदैन भन्ने हेक्का पनि राख्न जरुरी छ ।

प्रतिक्रिया