काठमाडौं । कामाडौंमा जारी त्रिकोणात्मक महिला टी–२० क्रिकेट शृंखलाअन्तर्गत आजको खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।
नेपालकी खेलाडी पुजा महतोको अर्धशतकमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको हो । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको आफ्नो पाँचौँ खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।
आज टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्याण्ड्सविरुद्ध निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाएको हो । नेपालका लागि पुजाले अविजित ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो ।
कप्तान इन्दु वर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १–१ विकेट लिए ।
अहिले नेदरल्याण्ड्सले नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । आजको खेलमा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि खेलेका चार खेलमा नै नेपाल पराजित भएको थियो ।
प्रतिक्रिया