नेपाल सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बीचको अस्वभाविक एकीकरण र त्यसको दुःखद् एवं विषाक्तपूर्ण अन्त्यका कारण मधेस मुद्दाप्रति इमानदार देखिने नेताहरू कमै थिए । उपेन्द्र यादवको नेतृत्व क्षमता सदैव सफलताको कसीमा सार्थक देखिएन । बाहिरबाट नेताहरूलाई भित्र्याएर आफ्नो संगठनलाई बलियो बनाउने मनसायका कारण नै उनको पार्टीबाट आधा दर्जनभन्दा बढी दलहरू गठन भए ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको विशेष पहलमा मधेसी दलहरू पुनः एक ठाउँमा भेट्ने, बसेर छलफल गर्ने तथा मुख्य–मुख्य साझा विषयहरूमा सहमत हुने सम्भावना बढेको छ । विभिन्न जातीय समूहका नेताको रूपमा स्थापित मधेसी नेताहरूले त्रिपाठीको पहललाई रहरले होइन, वाध्यतावस समर्थन गरेका छन् ।
२०७२ सालको मधेसी आन्दोलन निष्कर्षविहीन अवस्थामा टुंगिएपछि पनि यो प्रयत्न नभएको होइन । २०७४ सालमा प्रादेशिक संरचनामा संशोधनका लागि भएको राजपाको आन्दोलन पनि बिनानिष्कर्ष टुंगिएको थियो । त्यसपछि पनि मधेसी दलहरू एक ठाउँमा आउने, आपसमा छलफल गर्ने र साझा मुद्दा अघि सार्ने सम्भावना समाप्त भएको थियो । जनाधार र लोकप्रियता समाप्त भए पनि अहंकार कायमै रहने प्रवृत्तिबाट ग्रसित मधेसी दलहरूले आफूलाई कहिल्यै कमजोर ठानेनन् । एकले अर्काको उपस्थिति र अस्तित्वलाई स्वीकार र सहन गर्न नसक्ने मनोरोगका कारण मधेसी दलहरू समाप्त हुँदै गएको अवस्था हो ।
त्रिपाठीले विगत २ वर्षदेखि यस दिशामा पहल थालेका छन् तर सुरुमा कुनै पनि मधेसी दलहरू उनको पहलप्रति सकारात्मक थिएनन् । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको साझा सरकारले देशमा २ दलीय व्यवस्था लाद्न खोजेपछि बल्ल कथित मधेसी दलका नेताहरूको आँखा खुलेको छ । यस्तो विषम परिस्थितिका बाबजुद यिनीहरूबीच अहिले पनि परस्पर अविश्वास नै छ र एक दलले अर्को दललाई सिध्याउने रणनीति लिएका छन् । मधेसी दलहरूको आशक्ति अहिले पनि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीप्रति नै छ । हुन पनि अहिले नेपाली राजनीतिको परिदृश्यमा देखिएका मधेसी नेताहरू मध्ये अधिकांशको पृष्ठभूमि नेपाली कांग्रेस, नेकपा र नेकपा माओवादी केन्द्रकै रही आएको छ ।
त्रिपाठी र राजेन्द्र महतोहरू गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीको पृष्ठभूमिका हुन् । नेपाल सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बीचको अस्वभाविक एकीकरण र त्यसको दुःखद् एवं विषाक्तपूर्ण अन्त्यका कारण मधेस मुद्दाप्रति इमानदार देखिने नेताहरू कमै थिए । उपेन्द्र यादवको नेतृत्व क्षमता सदैव सफलताको कसीमा सार्थक देखिएन । बाहिरबाट नेताहरूलाई भित्र्याएर आफ्नो संगठनलाई बलियो बनाउने मनसायका कारण नै उनको पार्टीबाट आधा दर्जनभन्दा बढी दलहरू गठन भए । केही वर्षअघि अस्तित्वमा आएको जनमत पार्टीवाट पनि कैलाश महतो र इरफान अहमद शेखले छुटै पार्टी गठन गरेका छन् ।
नेपालको वर्तमान राजनीतिमा सबैभन्दा पुरानो, अनुभवी र वरिष्ठ मधेसी नेताको रूपमा त्रिपाठीलाई चिनिन्छ । उनी नवलपरासीबाट ५ पटक चुनाव जितिसकेका नेता हुन । भने पटकपटक देशका मन्त्री पनि भइसकेका छन् । पटकपटक मन्त्री भएर पनि उनीमाथि कहिल्यै भ्रष्टाचारको आरोप लागेन, न त उनको निर्णय माथि नै कुनै स्तरवाट औँला उठाउने काम भयो । नेपालको राजनीतिक इतिहासमा यदि कुनै एक मधेसीदलका नेताको सम्पर्क र स्वीकार्यता गैरमधेसी वर्गमा पनि व्यापक रूपमा छ भने त्यो अनुहार त्रिपाठी नै हुन् ।
अपेक्षाकृत बामपन्थतिर सुरुमा झुकाव राखेका त्रिपाठीका अहिले पनि अधिकांश मन र विचार मिल्ने साथीहरू कम्युनिस्टमै छन्, यो मित्रता कायम पनि छ तर संसद्मा बामपन्थी दलको सरकारहरूको काम काजको तिखो र तथ्य एवं तर्कपूर्ण आलोचना गर्नमा उनले कहिल्यै कन्जुस्याईं गरेनन् । नेपाली कांग्रेसका नेताहरूसित पनि उनको व्यक्तिगत सम्बन्ध निकै राम्रो थियो, तर नेपाली कांग्रेससित उनको राम्रो सम्बन्ध कहिल्यै रहन सकेन । यसको मुख्य कारण भनेको नेपाली कांग्रेसको अहंकार हो । नेपाली कांग्रेसले बरु देशका बामपन्थी दलहरूलाई सिञ्चित गरेर भए पनि पल्लिवत र पुष्पित हुने अवसर प्रदान गर्यो तर लोकतान्त्रिक कित्ताका मधेसी दलहरूलाई होइन । राप्रपालाई पनि होइन ।
यसको ठिक विपरीत नेपालका बामपन्थीदलहरूले मधेसी राजनीतिक दल र राप्रपासितको संवाद र सम्पर्कलाई कहिल्यै कमजोर हुन दिएनन् । यति सम्मकी २०७४ सालको आमनिर्वाचनमा चर्को मधेसविरोधी पार्टी एमालेले कांग्रेसका नेता विमलेन्द्र निधिलाई चुनाव हराउन मधेसीदलका नेता राजेन्द्र महतोलाई घोषित रूपमै भोट दियो । मधेसीदलको उत्थानमा मात्रै कांग्रेस कमजोर हुन्छ र आफूलाई फाइदा हुन्छ भन्ने कुरा नेपालका कम्युनिस्टहरूले राम्रोसँग बुझेको देखिन्छ । शायद त्यही कारणले होला जब देशमा बाम ध्रुवीकरणको कुरा हुन्छ अनि नेपाली कांग्रेस आफूलाई एक्लो अथवा बहिष्कृत अवस्थामा पाउँछ, जबकी विशुद्ध बामपन्थीदलको सरकारलाई समर्थन गर्न अथवा त्यस सरकारमा सहभागी हुन मधेसी दलहरू र राप्रपालाई पनि कहिल्यै समस्या भएन ।
नेपाली कांग्रेसले आफ्नो साढे ७ दशकको राजनीतिक यात्रामा कहिल्यै लोकतान्त्रिक कित्ता बनाउन सकेन । समय समयमा देशका लोकतन्त्रवादी दलहरूबीच संवाद र सम्पर्क भइरहेका भए सहकार्य कठिन हुने थिएन । नेपाली कांग्रेसले आफूलाई मात्रै देशको एक मात्र लोकतन्त्रवादी दलको रूपमा राख्ने काम गर्दै रह्यो । उसले मित्र शक्तिको आवश्यकता महसुस गरेन । उसलाई मित्र चाहिएकै थिएन फलस्वरूप विषम परिस्थितिमा पनि बामपन्थी दलतिर नै मुखापेक्षी हुन्छ । वर्तमान अवस्थामा पनि एमाले र माओवादी मध्ये कुनै एकको पक्षमा उभिन ऊ बाध्य छ ।
विगत २ दशकमा सबै मधेसी दलहरू आपसमा बसेर कुनै सहमतिमा पुगेको रेकर्ड छैन । न त यिनीहरूले साझा एजेन्डा नै बनाएका छन् । संविधानको निर्माणका बखत पनि यिनका मुद्दा साझा थिएनन् । जनमत पार्टी आन्दोलन र मधेसी दलहरूको विरोधमा थियो । नेपाल सद्भावना पार्टीले पूर्वी पहाड, पूर्वी तराई, पूर्वी मधेस र पश्चिमी मधेस गरी ५ प्रदेशको माग गर्दा यसको विरोधमा उपेन्द्र यादवले आत्म निर्णयको अधिकारसहित समग्र मधेसी एक प्रदेशको नारा अघि सारे । राजेन्द्र महतो पनि मधेसमा एउटै प्रदेशको पक्षमा थिए । जनमत पार्टी सुरुमा त छुट्टै देशको पक्षमा नै थियो । अहिलेसम्म उसको एजेन्डा प्रष्ट छैन । सरकारसँग भएको सहमतिलाई नै उपलब्धि मान्ने हो भने त नेपाल सद्भावना पार्टी र नेपाल सरकारबीच २०५० साल र २०५५ सालमा पनि लिखित सहमति भएको थियो ।
सहमति महत्वपूर्ण हुँदैन, कार्यान्वयन पक्ष बलियो मानिन्छन् । २०६८ सालतिर नेपाली कांग्रेस र नेकपा एमाले पनि झापादेखि मकवानपुरसम्म एउटा प्रदेश र नवलपरासीसम्म अर्को प्रदेश गरी तराई मधेसमा २ प्रदेश दिने विषयमा सहमत थियो, तर १ मधेसी नेताकै हठका कारण सम्भव भएन र अब त्यही मधेस विभिन्न ५ वटा प्रदेशमा विभाजित भएको छ । हृदयेश त्रिपाठी त्यतिबेला पनि मधेसमा २ प्रदेश बनाउने विषयमा देशका ठुलादलहरूलाई सहमत गराइसकेका थिए ।
त्रिपाठीको वर्तमान पहल पनि इमानदारीपूर्वक नै छ । उनी समस्याको समाधान भएको हेर्न चाहन्छन् । संविधान संशोधनको सवालमा पनि मधेसी दलहरू एकजुट हुन आवश्यक छ । संविधान संशोधनका बुँदाहरूको पहिचान गर्नु आवश्यक छ । यस २ महिना भित्रमा ३–४ पटक बैठक पनि भएका छन् । जिल्लास्तरहरूमा पनि यस्ता संगठन मनाउने माग बढेको छ ।
मधेसी दलहरूको पहलपश्चात राप्रपा र रास्वपा पनि आफ्नो अस्तित्वले रक्षाका लागि पहल गर्ने नै छ । २ दलीय एकाधिकारलाई रोक्न साना–साना दलहरू एउटै बुँदामा आउनु आवश्यक छ । त्रिपाठीले मधेसी राजनीतिको अँध्यारोमा एउटा मैनबत्ती जलाउने काम गरेका छन् अब यसलाई बल्न दिने र पावरको चिम लगाउने दिने काम नयाँ पिढीको हो ।
प्रतिक्रिया