अक्षराम्भ गराउने श्रीपञ्चमी विश्वभर मनाइँदै

वसन्त ऋतुको आगमनसँगै वौद्धिक शिक्षित वर्गहरूले विद्याकी आराध्यदेवी सरस्वतीको अनुष्ठान गर्ने गर्दछन् । विद्याको महत्व र महिमाको बारेमा जति वर्णन गरे पनि अपूर्ण नै हुन्छ । विद्या अविनाशी धन हो, चेतनाको प्रकाश हो, ज्ञानको ज्योति हो । विद्याविनाको संसार अन्धकारमय हुन्छ र व्यक्ति धर्म विमुख र सुगन्धविहीन हुन्छ । त्यसैले त भनिएको छ, ‘रूप यौवन सम्पत्रा । विशाल कुल सम्भवा विद्याहिना न शोभन्ते निर्गन्धा इव किंशुका ।’

विश्वनाथ खरेल

नेपालमा रहेका विभिन्न सांस्कृतिक पर्वमध्ये वसन्तपञ्चमी पनि नेपालीको महत्वपूर्ण पर्व हो । चलन चल्तीमा श्रीपञ्चमी भनिने यो चाड विद्याकी देवी सरस्वतीको आराधना गर्ने दिन पनि हो । खासगरीकन शिक्षारम्भका लागि यो दिन उत्तम मानिन्छ । आफ्ना बालबालिकाले सधैँभरि राम्रो पढ्न सकून भन्ने कामना गर्दै अधिकांश अभिभावकहरूले यसै दिन आफ्ना नानीबाबुलाई स्कुल भर्ना गर्छन्, अक्षर लेखाउँछन् र चिनाउँछन् ।

सरस्वती माता वास्तवमा हिन्दूहरूकी मात्र देवी होइनन् । संसारका सबैजसो सभ्यता र संस्कृतिमा सरस्वती माताको पूजा आराधना र भक्ति भाव गरिन्छ । ज्ञानकी देवी सरस्वती मातालाई अस्ट्रेलियन एवं ओरिजिनल थिओलोजीमा जार इडो वेन्स भनिन्छ । त्यसैगरी मेक्सिकनहरूले मान्ने एजटेक मिथोलोजीमा सरस्वतीलाई क्वेज अलकोटल अर्थात् गड अफ विज्डम भनेर मानिन्छ ।

युरोपमा ढुंगे युगमा जेल्टिक भनिने मिथोलोजीमा ज्ञानकी देवीलाई ओमेगा भनिन्थ्यो । यो शब्द आधुनिक शब्दकोशहरू, साहित्य र उत्तर आधुनिक नामहरूमा प्रयोग भएको पाइन्छ । त्यसैगरी चिनियाँ सभ्यतामा ज्ञानकी देवी सरस्वतीलाई दुई नामले पुकारिन्छ इर्लाङ्ग सेन र वेन चाङ्ग वाङ्ग भनेर मानिन्छ तर चीनकै स्थानीय पारम्परिक भाषामा बियानचाइत्यान पनि भनिन्छ । आफ्नो संस्कृति बचाउका लागि कट्टर चिनियाँहरू जनगणनाका बेला ९० प्रतिशतले आफ्नो कुनै विशेष धर्म नभएको बताउने गरे पनि सरस्वतीको आराधना भने गर्ने गर्छन् ।

उता इजिप्सियन सभ्यतामा नेइथ नामले सरस्वतीलाई मानिन्छ भने रोम संस्कृतिको इस्ट्रुस्क्यान मिथोलोजीमा मेनर्वा भनेर सरस्वती माताको पूजा आराधना गर्ने गरिन्छ । त्यस्तै ग्रिसमा पनि सरस्वती माताको ठूलो महत्व छ । त्यहाँ एपोलो ओलम्पियन गडेज भनेर सरस्वतीलाई भनिन्छ । एपोलो ओलम्पियन गडेजकै अर्को नाम एथेना पनि हो । अर्को सुरुचीपूर्ण तथ्य त यो छ कि संसारको सबैभन्दा धेरै पुरानो मध्ये निरपेक्ष तर मुस्लिम बहुल मुलुक टर्कीमा अस्तित्वमा रहेको हिट्टे संस्कृतिमा सरस्वती मातालाई आस भनिन्छ । उनीहरू पनि सरस्वती मातामाको पूजा आराधना गर्ने गर्छन् ।

जापानीहरूले फुकुरोकुजु भन्ने नामबाट सरस्वती मातालाई पुकार्छन् भने मेसोपोटामिया मिथोलोजीमा अल कुत्वे नामबाट पूजा आराधना गर्ने गरिन्छ । उनीहरूले पूजा गर्ने सरस्वती माताको तस्बिरमा पनि धनु वाणसमेत लिएको देखिन्छ । केही स्क्यान्डेभियन मुलुकहरू र खास गरी जर्मन संस्कृतिमा रहेको नोर्स मिथोलोजीमा सरस्वती मातालाई तीवाज भन्ने गरिन्छ भने पर्सियन संस्कृतिमा एनाहिता भन्ने नामले सरस्वती मातालाई उपासना गर्ने गरिन्छ ।

प्यासिफिक ओसनवर्ती क्षेत्र र न्युजिल्यान्डमा रहेको पोलिनेजियन मिथोलोजीमा चाहिँ सरस्वती मातालाई अनुलाप भनिन्छ भने रोमन संस्कृतिमा इगेरिया भनिन्छ । त्यस्तै पूर्वी युरोपमा इसाइकरण हुनुपूर्व र रुस, पोल्यान्ड, चेज रिपब्लिक बेलारुस, युक्रेन समेतमा हालसम्म पनि अस्तित्वमा रहेको साल्भिक सभ्यता र संस्कृतिमा सरस्वती मातालाई विद्या मात्र होइन अद्भूत शक्तिकी देवीसमेत मानिन्छ । उनीहरू सरस्वतीको पूजा आराधना गमायुन नामले गर्ने गर्छन् ।

त्यसैगरी वर्मामा युयथदी भनिन्छ । त्यसैलाई नेपालीमा वर्षालाई बर्खा पनि उच्चारण गरिएजस्तो थुयथदी उच्चारण गरिन्छ किनकि बर्मेली भाषामा स लाई थ उच्चारण गरिन्छ । थाइल्यान्डमा भने स्थानीय भाषामा सुरसवदी उच्चारण गरिन्छ सरस्वतीलाई । र, उनीहरू पनि सरस्वती मातालाई ज्ञान, भक्ति र विवेकको स्रोतमा रूपमा आराधना गर्ने गर्छन् ।

हिन्दू परम्परामा सरस्वती हिन्दू धर्मकी प्रमुख देवीहरूमा एक हुन् । ब्रह्मा की मानसपुत्री विद्या की अधिष्ठात्री देवी मानिन्छिन् । उनलाई सतरुपा पनि भनिन्छ । यिनका अरू पर्याय हुन्, वाणी, वाग्देवी, भारती, शारदा, वागेश्वरी इत्यादि । शुक्लवर्ण, श्वेत वस्त्रधारिणी, वीणावादनतत्परा तथा श्वेतपद्मासना समेत नामकी सरस्वती माताको पूजा आराधनाले ज्ञान, बुद्धि, विवेक बढ्छ् भन्ने विश्वास रहेको छ । देवी भागवतमा उल्लेख भए अनुसार सरस्वति ब्रह्माकी स्त्री हुन् ।

सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी । वैदिक सनातन धर्म र संस्कृतिमा बर्सेनि अनेकौँ देवी देवताहरूको पूजाआजा बन्दना गर्दै उत्सव पर्वहरू मनाउने चलन छ । ती अनेकौँ पर्व उत्सवहरूमध्ये माघ शुक्ल पञ्चमीको दिनलाई श्रीपञ्चमी पर्वको रूपमा मनाउने चलन छ । यस दिनमा हामी वाणीको देवी सरस्वतीलाई विशेष रूपले पूजा–अर्चना गर्दछौँ । नेपालभरी विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित यो पर्व ज्यादै उल्लासमय वातावरणमा मनाइने परम्परा रहिआएको छ । यसै दिनदेखि बसन्त ऋतुको आगमन पनि हुने भएकोले मुख्य रूपले दुई अलग–अलग उत्सवको रूपमा मनाइने गरिन्छ । एक बसन्त ऋतुको आगमनको उपलक्ष्यमा र अर्को विद्याकी देवी सरस्वतीको आराधना गरिने सरस्वती जयन्तीको रूपमा । बसन्त पञ्चमीदेखि जाडो क्रमशः कम हुँदै जाने र बोट विरुवामा नयाँ पालुवा पलाउन थाल्छ । साथै दिन लामो र रात छोटो हुँदै जान्छ । विश्वास जनमानसमा यदाकदा छँदै आएको छ ।

हाम्रा प्राचीन ग्रन्थहरू जस्तै महाभारत, गीता, धार्मिक ग्रन्थहरू आदिले पनि सरस्वतीको पूजा गर्नुको महत्व उल्लेख गरेका छन् । सरस्वती ब्रम्हाकी छोरी हुन्, तर स्वयं ब्रम्हाले पनि सरस्वतीको स्मृति गरेको कुरासमेत ग्रन्थहरूमा उल्लेख छ । सरस्वतीको रूप र प्रकृतिको बारेमा ग्रन्थहरूमा वर्णन गरिएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, बागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकारिन्छ ।

सेतो कमलासनमा विराजमान भएकी, सेता बस्त्र धारण गरेकी, ४ हात भएकी, दाहिने हातमा अक्षमाला र बायाँ हातमा वीणाधारण गरेकी र हाँसमा चढेकी सरस्वतीको प्रतीकस्वरूप पुस्तक, कमल, वीणा, आदिको पूजा गर्नाले ज्ञान र कलामा पारंगत हुन सकिन्छ भन्ने जनविश्वास आजसम्म छँदै छ । अतः यस दिन सरस्वतीका प्रसिद्ध पीठमध्ये काठमाडौँ उपत्यकामा जयवागेश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुरको चाँगु र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरमा विशेष भिड लाग्ने गर्दछ ।

अक्षरारम्भ गर्दा पहिले सिद्धिवुद्धिदाता गणेशजीको पूजा गराइन्छ । त्यसपति श्रीसरस्वती देवीको पूजा गराइन्छ । बेदव्यास जो हिन्दू वाङ्मय जगतका गुरुको रूपमा लिइन्छ । यी सबैलाई यथोचित पूजा गरेर पढाउन सुरु गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ । जुन प्राकृतिक रूपमै रमाइलो वातावरणको अनुभव हुन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धांगिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ ।

गान्धर्व पुराणमा श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । यस दिन बिहानदेखि तीर्थ, व्रत, यज्ञ अनुष्ठानको लागि श्रद्धालु नर–नारीहरू विभिन्न नदी एवं तीर्थस्थलहरूमा ठूलो भिड लाग्ने गर्दछ । यसबाहेक काठमाडौँ हनुमानढोकास्थित गद्दी बैठकमा बसन्त श्रवण गर्ने परम्परासमेत रहिआएको छ । यस दिनमा कैयौँ विद्यार्थीहरू मन्दिर परिसरमा गएर अक्षर कोर्ने र साथै टुटफुट नभएका ३, ५ वा ७ गेडा चामल खाने गर्दछन् । यस अथाह विश्वमा ज्ञानको अभावमा मुक्ति असंभव भएको पाइन्छ । गीतामा भगवान् श्रीकृष्णले ‘नहि ज्ञानेत सदृश पवित्रमिह विद्यते’ भनी ज्ञानको पवित्रतालाई प्रमाणित गरिदिनुभएको छ । यसैले ज्ञान र विद्याकी देवीको आराधना ज्ञानका उपासक विद्यार्थीहरूले सरस्वती पूजाको अवसरमा पुस्तकको पूजासमेत गर्दछन् ।

वसन्त ऋतुको आगमनसँगै वौद्धिक शिक्षित वर्गहरूले विद्याकी आराध्यदेवी सरस्वतीको अनुष्ठान गर्ने गर्दछन् । विद्याको महत्व र महिमाको बारेमा जति वर्णन गरे पनि अपूर्ण नै हुन्छ । विद्याअविनाशी धन हो, चेतनाको प्रकाश हो, ज्ञानको ज्योति हो । विद्याविनाको संसार अन्धकारमय हुन्छ र व्यक्ति धर्म विमुख र सुगन्धविहीन हुन्छ । त्यसैले त भनिएको छ, ‘रूप यौवन सम्पत्रा, विशाल कुल सम्भवा विद्याहिना न शोभन्ते निर्गन्धा इव किंशुका ।’ अर्थात् रूप र यौवनले सम्पत्र भए पनि, ठूलो कुलमा जन्मिए पनि विद्याहीन मानिस त सुगन्धरहित वासना नभएका पलाँस चाँपका फूलजस्तै शोभाहीन हुन्छन् ।

त्यसैले श्रीपञ्चमी तथा सरस्वती पूजाको दिन विद्याको महत्वलाई अक्षरशः व्यवहारमा उतार्दै राष्ट्रको शान्ति, समुत्रति र सुखद् भविष्य निर्माणका लागि अझ बढी सव्रिmय भूमिका निर्वाह गर्न हामी सबै एकजुट हुनपर्ने बेला आएको छ ।

प्रतिक्रिया