सुरक्षित हवाइसेवाका लागि उपयुक्त पहल

सेवा सुरु भएको ७ दशक नाघिसक्दा पनि नेपालको हवाई यातायात भरपर्दो र सुरक्षित हुन सकेको छैन । हवाई यातायात सुरक्षित हुन नसक्नुको मुख्य कारण जटिल भौगोलिक अवस्था हो भन्ने कुरामा विवाद छैन, तर नेपालको भन्दा पनि जटिल भौगोलिक अवस्था भएका कतिपय देशहरूले हवाई यातायातलाई सुरक्षित र भरपर्दो बनाएका मात्रै छैनन्, यस्तो सेवामार्फत आर्थिक समृद्धि हासिल गरेका छन् । त्यसैले नेपालको हवाई यातायात सेवा भरपर्दो र सुरक्षित हुन नसक्नुमा नीति निर्माण तहमा रहनेहरूको अदूरदर्शिता पनि मुख्य कारण हो ।

हवाई यातायात सेवा सञ्चालनका लागि अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्डतर्फ नेपालको ध्यान नगएको भन्दै सन् २०१३ देखि नेपालको हवाई उडड्यन क्षेत्रलाई युरोपेली युनियन (ईयू)ले कालोसूचीमा राख्दै आएको छ । जसका कारण नेपालको पर्यटन क्षेत्रले आशातीत प्रगति गर्न सकेको छैन । अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन (आइकाओ) ले हवाई यातायात सुरक्षित र भरपर्दो बनाउनका लागि दिएका सुझावहरू कतिपय सरल छन्, कतिपय जटिल छन् । जसमध्ये हवाई सेवा सञ्चालन गर्ने र नियमन गर्ने निकाय छुट्टाछुट्टै हुनपर्ने सुझाव कार्यान्वयन गर्न खासै जटिल थिएन ।

नयाँ कानुन बनाउनासाथ समाधान हुने समस्या हो यो । तर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ र ‘नेपाल हवाई सेवा प्राधिकरण’ बनाउने विधेयकको मस्यौदा तयार गरिएको ७ वर्ष पुगिसक्दा पनि कानुन बन्न सकेको छैन । पटकपटक संसद्मा पुगेर पनि विविध कारणवश खारेज हुन पुगेको यो विधेयकलाई यसपटक फेरि अघि बढाइएको छ ।

सेवा सञ्चालन गर्ने निकाय र नियमन गर्ने निकाय छुट्टाछुट्टै बनाउँदैमा सबै समस्या समाधान हुने अवस्था छैन । अन्य जटिलताहरूको पनि समाधान गर्नु जरुरी छ । सडक यातायातको सुविधा सबै ठाउँमा पुग्न नसकेको नेपालजस्तो पहाडी मुलकमा हवाई यातायातको विशेष महत्व छ, तर हवाई यातायात सञ्चालनमा पहाडी धरातल नै मुख्य वाधक बनेको छ । पहाडी क्षेत्रमा जनआवादी पातलो भएका कारण व्यावसायिक उडान गर्न समस्या छ । भाडादर निकै महँगो छ । पर्यटकीय गन्तव्य रहेका केहीबाहेक पहाडी क्षेत्रका सबैजसो विमानस्थल घाटामा छन् ।

यसैगरी नेपाल भूपरिवेष्टित देश पनि भएकोले अन्तर्राष्ट्रिय उडानको आफ्नै महत्व छ । तर राजधानी काठमाडौँ उपत्यकामा रहेको त्रिभुवन विमानस्थल विश्वका जोखिमपूर्ण विमानस्थलको सूचीमा छ । एकातिर काठमाडौँलाई गन्तव्य बनाएर उडान गर्न कतिपय विदेशी विमान कम्पनीहरू हच्किने अवस्था छ भने अर्कोतर्फ त्रिभुवन विमानस्थलले उडानको चाप धान्न नसक्ने अवस्था बन्दै गएको छ । जसको सिधा असर नेपालको पर्यटन व्यवसायमा परेको छ ।

आजभन्दा ७३ वर्षअघि गौचरन रहेको क्षेत्रमा कामचलाउ रूपमा भारतीय व्यवसायीहरूले विमान अवतरण गरेका थिए । त्यही चौरलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा प्रयोग तथा विकास गर्न थालिएको हो । विगतमा जनसंख्या तथा विमानको चाप कम भएकोले खासै फरक परेको थिएन । तर भविष्यमा आउने समस्याको आँकलन गर्दै समयमै विकल्पको खोजी गरिएन । धेरैपछि विकल्पका रूपमा पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण त गरियो, तर विभिन्न कारणले यी विमानस्थलमा आशातीत व्यावसायिक उडान हुन सकेन । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्थान छनौटका क्रममा जघन्य त्रुटी भयो ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि गरिएको करिव ७० अर्ब रुपैयाँ लगानी करिब करिब खेर गएको छ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्दै काठमाडौँ–निजगढ फास्ट ट्रयाक निर्माण थालिएको ६ वर्ष बितिसकेको छ । अबको ३ वर्षभित्र फास्ट ट्रयाक सञ्चालनमा आउने दावी निर्माणको जिम्मा लिएको नेपाली सेनाले गरेको छ ।

फास्ट ट्रयाक निर्माण सम्पन्न हुँदासम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण गरिसक्ने दावी सरकारमा रहनेहरूले गरेका थिए, तर अहिलेसम्म कामसमेत सुरु हुन सकेको छैन । निजगढ विमानस्थल अहिलेसम्म चुनावी नारा तथा नेताहरूले जनतालाई भ्रममा पार्न गर्ने भाषणजस्तो भएको छ । सुरक्षित हवाइ यातायातका लागि विधेयकले परिकल्पना गरेको नियामक र कार्यान्वयन निकायका साथै वैकल्पिक अन्तर्राष्ट्रय विमानस्थल पनि त्यत्तिकै आवश्यक छ ।

प्रतिक्रिया