रास्वपा सांसद कठायतले मागिन् होटलको सिसिटिभी फुटेज

सत्तारुढ सांसदहरूको ‘मदिरा काण्ड’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विनिता कठायतले अनुगमनका क्रममा संसद्को कृषि समितिका सभापतिसहित सदस्यहरू बसेको पोखराको होटल ओपन हाउसको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छिन् ।
गत पुस २४ गतेदेखि २९ गतेसम्म प्रतिनिधिसभाको कृषि समितिले नेपालगन्जदेखि पोखरासम्मका विभिन्न कार्यालयको अनुगमन गरेको थियो ।

सो क्रममा पुस २९ गते रातको समयमा अनुगमन समापनका दिन पोखरास्थित होटल ओपन हाउसमा सभापति कुसुमदेवी थापासहित सबै सदस्य बसेका थिए । कठायतले खानपिनका क्रममा सभापति थापासहित सदस्यहरूले रक्सी खाएर आफूसहित रास्वपाका नेताहरूको व्यक्तिगत चरित्र हत्या गरेको भन्दै आलोचना गरिरहेकी छिन् ।

उनले गत बिहीबार बसेको समिति बैठकमा नै सो विषयमा आवाज उठाएकी थिइन् । उनले रास्वपा सभापति रवि लामिछाने, सांसद सुमना श्रेष्ठलगायतको विवाहको कुरामा समिति सदस्य एवं सांसदहरूले गम्भीर आरोप लगाएको बताएकी थिइन् । उनले आइतबार समितिमा निवेदन दिँदै पुस २९ गते राति ८ बजेदेखि १० बजेसम्मको सिसिटिभी फुटेज झिकाउन माग गरेकी हुन् ।

सांसद कठायतले दिएको निवेदनमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा कृषि समितिले नेपालगन्जदेखि पोखरासम्मको ६ दिने अनुगमन कार्यक्रमअन्तर्गतको भ्रमणको सन्दर्भमा माघ २९ गते समिति सदस्य बसेको होटल ओपन हाउस पोखराको राति ८ बजेदेखि १० बजेसम्मको सिसिटिभी फुटेज झिकाई उपलब्ध गराउन, साथै उक्त दिनमा भएको खर्च विवरणको बिल भरपाई पनि उपलब्ध गराउन अनुरोध गर्दछु ।’

प्रतिक्रिया