काठमाडौं । डेढ दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी गीतसंगीतमा अनवरत सक्रिय छन् गायिका सीता केसी । उनले गाएका दर्जनौं गीत स्रोता तथा दर्शकमाझ लोकप्रिय छन् । कुनै समय गायक पशुपति शर्मासँग मिलेर गाएको ‘मलाई अमेरिका यही’ गीत प्राय सबै नेपाली लोकगीत पारखीले सुनेका छन् ।
तीनै गायिका सीता अहिले पनि गायनमा उत्तिकै व्यस्त छन् । केसीलाई ‘मलाई अमेरिका यही’ गीतले उनलाई चर्चाको चुलीमा पुर्याइदिएको थियो । त्यसपछि उनी देश तथा विदेशमा हुने कार्यक्रममा व्यस्त हुँदै अगाडि बढेकी थिइन् । गीतले एकातिर सन्देश बोकेको थियो भने अर्कातिर मनोरञ्जनको लागि पनि सो गीत भरपूर थियो ।
गीतले भनेजस्तै गायिका सीता केसी आफ्नै जन्मभूमिमा अमेरिका, जापान र बेलायतको खुसी खोजिरहेकी छन् । उनले गीतमा भने जस्तै विदेशबाट फर्किएर यहीको माटोमा सुन फलाउने सपना बोकेर सांगीतिक क्षेत्रमा जीवन समपर्ण गरिरहेकी छन् । बागलुङको गल्कोटमा जन्मिएकी गायिका सीता केसीको परिवार नै सांगीतमा समर्पित छ ।
बाबुआमा पनि गीतसंगीत लगाव राख्दै आएका थिए । त्यही पदचाप पछ्याउँदै गायिका केसी गायन क्षेत्रमा लागिन् । उनका दाजु कृष्ण केसी र भाइ मदन केसी यही क्षेत्रमा सक्रिय छन् । उनको बुवाआमाको सपना छोरीले सांगीतिक क्षेत्रमा सफलता प्राप्त गरोस् । त्यही सपना पूरा गर्नका लागि उनी लोक दोहोरी क्षेत्रमा क्रियाशील रहँदै आएकी छन् ।
काठमाडौं प्रवेश भएपछि उनले माधव भण्डारीको रचना रहेको ‘ज्यान टाढा हुँदा सम्झना आउने’ बोलको गीतमा स्वर दिएकी थिइन् । यही गीतबाट उनी नेपाली लोकदोहोरीको क्षेत्रमा पाइला चालेकी थिइन् । गीतसंगीतको यात्रामा संगीत शिक्षा पनि अनिवार्य देखेकी उनले पद्मकन्या क्याम्पसमा संगीत विषय लिएर पढ्न थालिन् ।
दीपक जंगमलगायतका अग्रज कलाकारसँग शास्त्रीय संगीत सिक्न थालिन् । कहिले दोहोरी साँझमा गीत गाउने त कहिले गीत रेकर्डिङको गराउँदै आएकी गायिका सीता केसीले दुई सयभन्दा बढी गीतहरूमा स्वर दिइसकेकी छन् ।
गायिका केसीले २०६४ सालमै रेडियो नेपालमा स्वर परीक्षा पास गरेकी थिइन् । संगीतको क्षेत्रमा अनुभव बटुलेकी उनले मलाई अमेरिका यही, छलछल पानी गाग्रीमा, पिरतीको डोरी, सुनको बाला, भाग्यले नि ढाँट्यो, तिम्रै बाटो हेरी, वारी दरौं, हेर त साइली लगायतका केही गीत चर्चित छन् ।
नेपाली युवा पुस्तामा सन्देशसहित सांगीतिक प्रस्तुति लिएर २०७० सालमा आएको यो गीत समाज रूपान्तरणका लागि सुत्रधार बन्न सफल भयो । गीत एउटा मुलुकको मार्गदर्शक बन्यो । यस गीत सुनेर नै धेरैले स्वदेशमा फर्केर रोजगारी सिर्जना गरे, आफ्नो बारी खने। खेती गरे सुन फलाए । समाज रूपान्तरणमा एउटा आफूलाई सदैव अगाडि बढाउनुपर्छ भन्ने भाव बोकेर हिँडिरहिन् गायिका सीता केसी पनि ।
यो गीत गायिका केसीका लागि टर्निङ प्वाइन्ट बन्न सफल भयो । सांगीतिक यात्राको उकालीमा शिखरतर्फ लम्किएको यो गीतको उचाइले उनलाई छिन्नलता पुरस्कार नगद ३५ हजारसहित दिलाउन सफल भयो । सोही वर्षको इमेज म्यूजिक अवार्डमा सर्वोत्कृष्ट गायिकाको अवार्ड दिलायो, उत्कृष्ट गीत बन्न सफल भयो । धेरै अवार्ड, सम्मान र पुरस्कार समेत चुम्न सफल भयो यो गीतले । गीतले जति चर्चा पाउँदै गए उनको सम्मान पुरस्कार पनि प्राप्त हुँदै गए ।
छिन्नलता पुरस्कार, १६औँ इमेज म्यूजिक अवार्ड, नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड, सातौं क्यापिटल अवार्ड, राष्ट्रिय लोकदोहोरी अवार्डमा सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमिसकेकी छन् । बोस्टर इन्टरटेनमेन्ट अवार्ड, राष्ट्रिय साधना म्यूजिक अवार्ड, विभिन्न स्थानमा भएका दोहोरी प्रतियो गिता लगायत विभिन्न रियालिटी शो हरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन् । ने
पालका ४० भन्दा बढी जिल्लामा आफ्नो प्रस्तुति दिइसकेकी उनले जापान, युके, यरोप लगायतका मुलुकहरूमा प्रस्तुति दिइसकेकी छन् । जिन्दगीको रंगमञ्चमा सांगीतिक अभिनय गरिरहेकी उनी गीतसंगीतलाई आफ्नो प्राण मान्ने गर्छिन् गीतसंगीतबिनाको जीवन अपुरो सम्झने गरेकी जीवनको अन्तिमकालसम्म पनि गायनमा नै रमाउने बताउने गर्छिन् ।
प्रतिक्रिया