दाङ पुगेर प्रचण्डले भेटे सहिद तथा बेपत्ताका परिवारलाई

दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दाङमा सहिद तथा बेपत्ताका परिवारसँग भेटवार्ता गरेका छन् । तुलसीपुर–८ का बटवलपुरका सहिद परिवासँग अध्यक्ष प्रचण्डले भेटघाट गरेका हुन् ।

सो अवसरमा अध्यक्ष दाहालले बेपत्ता र सहिद परिवारको हितका लागि आफू सरकारमा हुँदा पहल गरेको बताए । टिआरसी विधयेक पास गर्न सफल भएकोसमेत उनको भनाइ थियो । उनले सहिद परिवारलाई भेट्न पनि गाउँ–गाउँमा जाने गरेको बताए ।

जहाँ एकै घरका ६ जना सहिद भएका थिए । घरमै बसिरहेको अवस्थामा नेपाली सेनाले बम विस्फोट गर्दा आमा चम्फाकली चौधरी, छोरा सीतकुमार चौधरी, छोरी कमला चौधरी, छोरा चन्द्रबहादुर चौधरी, छोरी रामकुमारी चौधरी, छोरी रिता चौधरीको घरमै बसिरहेको अवस्थामा मृत्यु भएको हो । सोही वडामा १९ जना सहिद परिवार छन् ।

थारू संग्रहालयको अवलोकन

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले दाङको दंगीशरण–३ चखौरामा रहेको थारू सांस्कृतिक संग्रहालयको अवलोकन गरेका छन् । शुक्रबार उनले संग्रहालयको अवलोकन गर्दै दक्षिण एसियाकै राम्रो र महत्त्वपूर्ण संग्रहालय रहेको बताए ।

उनले संग्रहालयले पर्यटन, प्रवर्द्धन, थारू संस्कृतिको संरक्षण, इतिहासको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताए । संग्रहालयको महत्त्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए ।

चौधरीले थारूहरूको इतिहास जीवन्त राख्न संग्रहालयको परिकल्पना गरिएको बताए । संग्रहालयको अवलोकनपछि पूर्वमन्त्री रेखा शर्माले थारूको इतिहास र संस्कृति, चालचलन, रहनसहन रीतिरिवाज दर्शाएको बताइन् । उक्त संग्रहालयमा देशैभरका थारू समुदायको कला, संस्कार, संस्कृति, परम्परा झल्किने खालका वस्तु राखिएको छ ।

प्रतिक्रिया