रक्सी खाएपछि कांग्रेस–एमाले सांसदद्वारा रास्वपामाथि आपत्तिजनक टिप्पणी

पदीय मर्यादा बिर्सिंदै सांसद, समितिमा बाझाबाझको शृंखला

काठमाडौँ । गत जेठ १० गते प्रतिनिधिसभाको शून्य समयमा बोल्दै माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सांसदहरू संसद्मा मापसे गरेर आउने गरेको आरोप लगाइन् । गरिमामय संसद्मा एक जिम्मेवार जनप्रतिनिधिको नाताले दिएको उक्त अभिव्यक्ति समान्य थिएन । उनले भनेकी थिइन्, ‘अघिल्लो बजेटका बेलामा यहीँ, यही सदनभित्र, सांसदहरूले, बजेटका बेलामा रक्सी खाएर आउनुभएको थियो ।’

कल्पना मियाँले उजागर गरिदिएको उक्त तथ्यले हाम्रा माननीयहरू कुन अवस्था र मर्यादामा छन् तथा उनीहरूको नैतिक धरातल के हो भन्नेबारे बुझ्न एक निमेष पनि लाग्दैन । देशको कानुन निर्माण तथा देशलाई नै थितिमा बसाल्ने महत्वपूर्ण भूमिकामा रहेका सांसदहरू नै बेथितिका ‘प्रमोटर’ भइदिँदा त्यसको असर कुन तह र कहाँसम्म पुग्छ भन्ने सामान्य हेक्कासमेत राखेको पाइँदैन ।

विधेयकका महत्वपूर्ण बुँदामाथि बहस हुँदै गर्दा कुर्सीमै निदाउनेदेखि आफ्नो प्रतिशोध साँध्न त्यही कुर्सीसम्म भाँच्ने ‘माननीय’हरूको चर्तिकला बेलाबखतमा देखिएकै हो । माघ १८ देखि सुरु हुने हिउँदे अधिवेशनमा यस्ता घटनाहरू फेरि एक पटक सामाजिक सञ्जालमा ‘भइरल’ हुने सम्भावना पनि छ । सांसदहरूले आफ्नो मर्यादा भुलिदिँदा पछिल्ला दिनमा सिंगो सदन र ‘मिनी संसद्’ भनेर चिनिने विभिन्न समितिहरूको गरिमामाथि पनि प्रश्न उठ्न थालेको छ ।

कहिले समितिकै बैठकमा तँतँ र मम गर्ने, कहिले औँला ठड्याउँदै पाखुरा सुर्किएरै टेबल ठटाउँदै आक्रोश पोख्ने सांसदहरूको व्यवहारले पदको गरिमालाई नै ठेस पु¥याइरहेको छ । बुधबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले उठान गरेको विषय होस् वा २५ पुस, २०८१ मा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच भएको तँतँ र मम किन नहोस्, सांसदका यी हर्कत जनप्रतिनिधिको मर्यादा र गरिमाविपरीतका व्यवहार हुन् ।

सांसद झ्याप भएपछि…

बुधबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बसेको थियो । विशेष गरी नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफलका लागि उक्त बैठक राखिएको थियो । तर, उक्त छलफलमा उठान भएको एउटा विषयले भने सांसद्हरूको मर्यादा र व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ ।

समिति बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले आफ्ना पार्टीका सांसदको व्यक्तिगत जीवनमाथि एमाले–कांग्रेसका सांसदहरूले ‘रक्सी खाएर’ अनावश्यक टीकाटिप्पणी गरेको कुरा निकालिन् । कठायतले पोखरामा रक्सी खाएको अवस्थामा आफू र आफ्ना पार्टीका सांसदमाथि कांग्रेस र एमालेका सांसदहरूले व्यक्तिगत तवरका आपत्तिजनक कुरा गरेको भन्दै आक्रोश पोखेकी हुन् ।
सभापति कुसुमदेवी थापाले भने उक्त विषय थुमथुम्याउन खोज्दै ‘तपाईंको मात्र कुरा सुन्नुपर्छ भन्ने होइन, विषयवस्तुमा प्रवेश गर्नुस्’ भन्दै थिइन् । तर, कठायतले समितिको अनुगमनका क्रममा भएको विषयलाई समितिमै उठाउने भन्दै उल्टै सभापति थापामाथि नै खनिइन् । भनिन्, ‘त्यहाँ के भएको थियो ? तपाईंहरू कुन हालतमा हुनुहुन्थ्यो, मैले बोल्नैपर्ने हो त सभापति ज्यू ?’

कठायतले आफूलाई सभापति र अन्य सांसदले पेल्ने कोसिस गरेको गुनासो गर्दै भनिन्, ‘सुमनाले कति जनासँग विवाह ग¥यो भन्ने कुरा तपाईंहरूको सरोकारको कुरा हो ? सोविता गौतमले के बोल्यो भन्ने कुरा तपाईंहरूको सरोकारको कुरा हो ? राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने कुरा तपाईंहरूको सरोकारको विषय हो ?’ कठायतले भनिन्, ‘यो समितिको अनुमगनका क्रममा भएको कुरा हो । तपाईंले मलाई पेल्न खोज्ने ? रक्सी खाएर जे पायो त्यही बोल्न मिल्छ ? तपाईंहरूले बोलेको एकएक कुरा छ सभापतिज्यू !’

केही दिनअघि प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गरेको ६ दिने स्थलगत भ्रमणमा भएको थियो । सांसद् कठायतको अभिव्यक्तिलाई सत्य मान्ने हो भने उक्त भ्रमणको अन्त्य गर्ने क्रममा पोखरामा खाने क्रममा असमझदारी भएको हो । सांसद कठायतका अनुसार खाना खाने क्रममा केही सांसदहरू गफ गर्दै रक्सी पिउँदै थिए । सोही क्रममा केही सांसदले रास्वपा सभापतिसहित अन्य नेताका बारेमा व्यक्तिगत टिप्पणी गरेका थिए ।

कठायतले दाबी गरेअनुसार त्यस दिन कांग्रेस–एमालेका सांसदहरूले ‘रवि लामिछानेले १० जनासँग विवाह गरेको, सुमना र सोविताको औकात के हो, स्वर्णिम वाग्लेले पनि विदेशीसँग विवाह गरेको तथा सुमनाले पनि पहिला एउटासँग र अहिले विदेशीसँग विवाह गरेको’ लगायत व्यक्तिगत टिकाटिप्पणी गरेका थिए । त्यस दिनको बारेमा बोल्दै कठायतले भनिन्, ‘म एक्लै थिएँ । उहाँहरूले मलाई ह्यारेसमेन्ट गरेको जस्तो महसुस भयो, उहाँहरू झ्याप हुनुहुन्थ्यो ।’

पाखुरा सुर्किँदै बैठकमै बाझाबाझ

गत पुस ८ गते मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बसेको थियो । बैठक उपसमितिहरूले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय र समितिमा प्राप्त उजुरीमा सम्बन्धमा डाकिएको थियो । तर, उपस्थित सांसदहरू विषय प्रवेशभन्दा पनि सार्वजनिक लेखा समितिले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै टेबल ठटाउँदै थिए । साथै, सांसदहरूले समितिको कार्यशैली र समितिका सभापति ऋषिकेश पोखरेलको क्षमतामाथि नै प्रश्न उठाउन थाले । यो तहसम्म सामान्य नै थियो । आन्तरिक व्यवस्थापन र कामको सन्दर्भमा ठिकै पनि थियो । तर, बैठकका क्रममा एमाले र माओवादीका सांसदबीच बाझाबाझकै अवस्था सिर्जना भयो ।

एमाले सांसद तारा लामा तामाङले प्रतिपक्षी दलका सांसदले सभापतिमाथि राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ‘अब बोले राम्रो हुँदैन’ भनेपछि माओवादी सांसदहरूले प्रतिवाद गर्दा चर्काचर्कीको अवस्था बनेको हो । अनौपचारिक कुरामा अँगालो मारेर हिँड्ने, बैठकमा सधैँ सभापतिलाई पेल्ने काम भएको भन्दै लामाले भने, ‘सभापतिलाई सधैँ पेलेको छ । एजेन्डामा बहस हुँदैन । अबदेखि बोले राम्रो हुँदैन ।’

प्रतिवादमा माओवादीका सांसद लेखनाथ दाहालले भने, ‘के राम्रो हुँदैन भनेको ? कुस्ती खेल्न भनेको हो ? यो असंसदीय भाषा भयो । रेकर्डबाट हटाउनुस् ।’ फेरि पालो आयो लामाको । ‘किन हटाउने ? बोल्छु त । मैले कसैलाई इंगित गरेको छ र ? आफैँ अनेक काम गरेर आउने,’ उनले भने । लामा बोल्दै गर्दा एमाले सांसद योगेश भट्टराईले भने, ‘के असंसदीय भयो ?’

लेखनाथले ‘माननीयको शब्द असंसदीय भयो । हटाउनुपर्छ ।’ भनेपछि लामाले जबाफ दिए, ‘भाइरल हुन बोल्ने ? ल जाऊँ प्रचण्डजीकोमा । जाऊँ डेलिगेसनमा । म आफैँ जान्छु । हिजो आफैँले बनाएको एजेन्डामा बहस छैन । कराएको छ । सभापतिलाई प्रश्न उठाएको छ !’ विवादले निकास नपाएपछि सांसद अमनलाल मोदीले भने, ‘सत्ताको भन्दैमा धम्की दिने ? असंसदीय रूपमा यस्तो कुरा बहुमतले पेल्न मिल्छ ? यस्तो कुरा किमार्थ स्वीकार गर्न सकिँदैन । संसद्मा लगाम लगाउन पाइँदैन ।’

के फुर्ती गर्छस् तपाईंले !

२५ पुस, २०८१ मा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा पनि २ सांसदबीच भनाभन भयो । भनाभन गर्नेमध्येका एक त समितिका सभापति नै थिए । त्यस दिन समिति सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच भनाभन भएको थियो ।

नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए । समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भए । सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काउँदै भने, ‘औँला तल राख्नुस्, नौटंकी गर्ने ?’ सुवालले समितिका सभापति निरंकुश ढंगले चल्न नहुने बताइरहँदा सभापति यादवले ‘निरंकुश बन्ने’ भन्दै उल्टो जबाफ फर्काएका थिए ।

‘तपाईँ निरकुश नहुनुस्, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस् । जसरी राणा शासन समाप्त भयो, तपाईं यो समितिबाट हुत्तिनुहुन्छ । होस गर्नुस्, तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ती गर्छस् तपाईँले ?’, सुवाल जगिंए । तर, सुवालले आफ्नो मातृभाषाको ‘ट्युनिङ’का कारण ‘के फुर्ती गर्छस् तपाईंले’ भने पनि सभापति यादवले भने उनलाई हप्काएको स्पष्टै देखियो/सुनियो ।

प्रतिक्रिया