काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल रु पाँच लाख धरौटीमा रिहा भएका छन् । बुधबार जिल्ला अदालत मोरङमा उनीविरूद्ध ठगी मुद्दा दर्ता भएको थियो ।
जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले रिहा गर्न आदेश दिएको अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतको आदेशपछि बिहीबार उनी धरौटीमा रिहा भएका हुन् ।
नेकपा एमाले मोरङका जिल्ला कमिटी सदस्यसमेत रहेका पोखरेललाई प्राप्त प्रमाणका आधारमा धरौटीमा छोड्न मिल्ने अवस्था रहेको भन्ने आदेशमा उल्लेख छ ।
उनीविरूद्ध सरकारी वकिलको कार्यालयले ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरेको थियो । बिहीबार बयान र थुनछेक बहसपछि उनी छुटेका हुन् ।
चिकित्साशास्त्रको स्नातक ९एमबिबिएस० पढ्नलाई नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप पोखरेलमाथि छ । उनी पुस २५ मा विराटनगरबाटै पक्राउ परेका थिए ।
प्रतिक्रिया