रुपन्देहीमा रविको थुनछेक बहस हेर्दाहेर्दैमा, फेरि परिवारकै जिम्मा लगाइयो

काठमाडौं । सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालतमा जारी बहस नसकिएपछि भोलि (शुक्रबार) पुनः हुने गरी आज हेर्दाहेर्दैमा राखिएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको बहस भइरहेको छ । बिहीबार उनको थुनछेक बहस नसकिएपछि फेरि कानुन व्यवसायी र लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेको जिम्मामा छाडिएको अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

बुधबार बयान मात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई पत्नी निकिता पौडेल लामिछाने र रविकै कानुन व्यवसायीको जिम्मा लगाएर छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका थिए ।

बिहीबार कार्यालय सुरु भएसँगै सभापति लामिछाने बहसका लागि उपस्थित भएपछि अदालतमा बहस सुरु भएको थियो । आज लामिछानेका वकिलहरुको पालो आएन । यस मुद्दामा लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने तयारी गरेका छन् । आज सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरे ।

बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन् ।

प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन् । बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।

प्रतिक्रिया