यु– १९ महिला विश्व कप क्रिकेट : आज नेपाल स्कटल्याण्डसँग भिड्दै

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला विश्व कपमा नेपाल आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्ने भएकोछ ।उक्त खेल आज नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । उक्त खेलमा नेपालको ब्याटिङ राम्रो हुन सकेको थिएन । त्यसैगरी स्कटल्याण्डले पनि पहिलो खेलमा बलियो टोली अस्ट्रेलियासँग ९ विकेटको हार व्यहोरेको थियो ।

पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्ड दुवै टोलीलाई आजको महत्वपूर्ण रहनेछ । पहिलो खेलमा पराजित दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा नेपालको ब्याटिङ नचल्दा ५२ रनमा अल आउट भएको थियो भने स्कटल्याण्ड अस्ट्रेलियासँग ४८ रनमा अलआउट भएको थियो ।

दुवै टोलीका लागि तेस्रो खेलका प्रतिद्वन्दीहरु कठिन छन् । त्यस कारण यस खेलमा जित हात पार्दै दुवै टोली सुपर सिक्सको मार्ग सहज बनाउँने लक्ष्यमा रहेका छन् । यो यु–१९ महिला विश्व कपमा १६ देशको सहभागीता रहेको छ । सहभागी १६ देशलाई ४ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन् । समूह ‘डी’ मा नेपालसहित स्कटल्याण्ड, बंगलादेश र अस्ट्रेलिया रहेका छन् ।

नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।

प्रतिक्रिया