वीरगन्ज । लामो समयदेखि अस्तव्यस्त रहेको नेपाल खानेपानी संस्थान कलैया शाखाको वितरण प्रणालीमा थप सुधार गर्न लागिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको पहलमा खानेपानी वितरण प्रणालीमा थप सुधार गर्न लागिएको हो ।
मन्त्री यादवले गत पुस १९ गते शिलान्यास गरेको भतौडा गाउँस्थित पम्प स्टेसनदेखि श्री ३ चन्द्र मावि कलैयाको भवनसम्म ३४ सय मिटर पाइपलाइनको काम हालै सम्पन्न भएको नेपाल खानेपानी संस्थान कलैया शाखाका प्रमुख सञ्जीवकुमार यादवले जानकारी दिए ।
‘यति मात्र होइन, अवधापुर हनुमान मन्दिरस्थित पम्प स्टेसनदेखि कलैया तिनकुने चोकसम्म २२ सय मिटर पाइलाइन विस्तारको काम भइरहेको छ,’ शाखा प्रमुख यादवले भने, ‘अहिले थपिन लागेको ६ इन्च पाइपलाइन विस्तार सम्पन्न भएपछि हनुमान मन्दिरदेखि तिनकुने चोकसम्म डबल पाइपलाइन हुन्छ र यसले वितरण प्रणालीमा व्यापक सुधार हुने देखिन्छ ।’ हाल १ दशमलव ५ एमएलडी खानेपानी सप्लाई गर्दै आएको शाखाले अब क्षमता बढाएर दैनिक २ दशमलव ५ एमएलडी पुयाउने तयारी गरेको उनले जानकारी दिए । १ एमएलडी बराबर १० लाख लिटर पानी हुने गर्छ ।
‘अहिले २ हजार ग्राहकलाई बिहान र बेलुकी गरेर ६ घन्टा मात्र पानी सप्लाई हुँदै आएको छ । अब त्यसमा पनि सुधार हुनेछ । अब कलैयाका जनताले दैनिक १२ घन्टा खानेपानी पाउनेछन्,’ उनले भने, ‘त्यति मात्र होइन । २ हजार ग्राहकसम्म सीमित रहेको खानेपानीलाई अब ६ हजार ग्राहकसम्म पु¥याइनेछ ।’ खानेपानी पाइपलाइन विस्तार आयोजनाले कलैयामा हुँदै आएको खानेपानीको समस्यालाई धेरै हदसम्म समाधान गरेको कार्यालय प्रमुख यादवको बुझाइ छ ।
हनुमान मन्दिरदेखि तिनकुने चोकसम्म नयाँ पाइपलाइन योजना पूरा गर्न अहिले पाइप बिच्छयाउने काम भइरहेको छ । आउने १ साताभित्र पाइप बिच्छयाउने काम सम्पन्न हुने विश्वास लिइएको उनले बताए ।
पाइपलाइन विस्तार आयोजनाले खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनुका साथै क्षमता विस्तारमा पनि प्रभावकारी भूमिका खेलेको छ । क्षमता विस्तारसँगै ४ हजार थप नयाँ ग्राहकसम्म खानेपानी पुर्याउन कार्यालयलाई सहज हुने दाबी गरिएको छ ।
प्रतिक्रिया