रविसहित १४ जनालाई प्रतिवादी बनाउन चितवन प्रहरीको राय

अदालतबाट बाहिरिँदै रास्वपा सभापति काठमाडौँ, २८ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतबाट बाहिरिँदै । उहाँलाई अदालतले आज प्रहरी हिरासतमा पठाएको छ । तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौँ । चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारीको बचतकर्ताको बचत अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ । पूरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै चितवन जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

सहकारीको बचत रकम हिनामिना भएको भन्दै ९ असोज, २०८० मा चितवन प्रहरीमा जाहेरी परेको थियो । त्यसपछि करिब १ वर्ष लगाएर चितवन प्रहरीले गरेको अनुसन्धानका आधारमा गत असोज ८ गते १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । साथै मुद्दा दायर गर्दा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडियाको थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । त्यसकै आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा गत ५ मंसिरमा रविसहितका व्यक्तिहरूविरुद्ध पूरक जाहेरी दर्ता भएको थियो । यो प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्वडिआइजी छविलाल जोशी र रामबहादुर खनालसमेत प्रतिवादी छन् ।

लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका बेला प्रहरीले गत १८ मंसिरमा चितवन लगेर बयान लिएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनमा विभिन्न कम्पनीमा गएको सहकारीको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा मात्र १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ भने ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सरकारी वकिलको कार्यालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार प्रतिवादीहरूलाई कानुनी कारबाहीको माग गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदनको अध्ययनपछि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट मुक्त भएका थिए । लामिछानेमाथि कास्कीको सूर्यदर्शन, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारी संस्थाको रकम ठगी गरेको आरोप छ ।

जिबी राईको पासपोर्ट रद्द गर्न अदालतको आदेश

कास्की जिल्ला अदालतले गितेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न निर्देशन दिएको हो । राई तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष हुन् । हाल उनी मलेसियामा रहेको अनुमान गरिएको छ ।

प्रहरीले उनलाई पक्राउ गर्न एसपीको नेतृत्वमा टोली मलेसिया पठाए पनि पक्राउ गर्न सकेको थिएन । त्यसपछि प्रहरीले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न पत्र लेखेको थियो । तर, विभागले रद्द नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत् अदालतमा निवेदन दर्ता गरिएको थियो । अदालतले शुक्रबार निवेदकले माग गरेअनुसार आदेश दिएको हो ।

जिबी राईमाथि ५ वटा सहकारी ठगीको आरोप छ । काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम, वीरगन्जको सानोपाइला र कास्कीको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता रहेको बताइएको छ । उनीविरुद्ध कास्की र काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ ।

प्रतिक्रिया