एमालेमा निष्कासन र निलम्बनको लहर : अब कसको पालो ?

पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्दा कल्पना पनि गरेका थिएनन् होला, पार्टीमा विचार राख्न पाइन्न भनेर । आलोचना र आत्मालोचना गर्दै कम्युनिस्ट पार्टी बलियो बनाउने उनको सपना थियो । त्यसैले नेपालमा समाजवाद स्थापना गर्ने उनको सपना आज पनि पूरा भएको छैन । तर, आज नेपालको कम्युनिस्ट पार्टीमा ‘बोल्यो कि पोल्यो’को अवस्था आउला भन्ने सायद उनले ठानेका थिएनन् । उनले व्यवस्था परिवर्तन मात्रै होइन, हैकमवाद, अधिनायकवाद, सबै प्रकारका निरंकुशता अन्त्य गर्ने उद्घोषका साथ कम्युनिस्ट पार्टी स्थापना गरेका थिए ।

विश्वमा कम्युनिस्ट पार्टी ओरालो लाग्दै गर्दा मदन भण्डारीले नेपालमा कम्युनिस्ट पार्टीभित्र ‘जनताको बहुदलीय जनवाद’को सिद्धान्त प्रतिपादन गरे । जबजको १४ बुँदा नेपालमा निकै व्याख्या भयो । आन्तरिक जनवादलाई मान्यता दिने, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्ने, अल्पमतलाई बहुमतले सम्मान गर्ने र आलोचनाको संस्कारको विकास गर्ने जस्ता निकै लोकतान्त्रिक उनको विचारबाट विश्वका धेरै कम्युनिस्ट पार्टी प्रभावित भए ।

त्यही विचार भजाएर आजको एमाले देशको सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी बनेको छ । मदनको जबज र उनको अभिव्यक्त गर्ने शैलीलाई नेपालमा कार्ल माक्र्सको जन्म भयो सम्म पनि भनियो । तर, आज मदनको जबजलाई एमालेले खोपीमा थन्क्याएर एकल निर्णयका आधारमा मात्रै होइन, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउँदै अघि बढेको छ ।

एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीको विचार जबज पास भयो । सिपी मैलानीको नौलो जनवादी कार्यक्रम फेल भयो । आफ्नो विचार फेल भएपछि सिपीले पार्टीको केन्द्रीय कमिटीमा जान इन्कार गरे । तर, मदनले सिपीबिना पार्टी चलाउन सक्दिनँ भन्दै आफू नेतृत्वका लागि तयार भएनन्, अन्ततः सिपीले मदनको आग्रह स्वीकार गर्दै पार्टीको केन्द्रीय कमिटीमा जान स्वीकार गरे र मदनले एमालेको नेतृत्व गरे । उनी फरक मतको सम्मान गर्थे । आजको त्यही एमाले नेतृत्वमा रहेका केपी शर्मा ओलीलाई ती सबै कुरा स्मरण होला नै । उनी आफू जबजको हिमायती ठान्छन् । एमाले जबजकै बाटोमा हिँडेको दाबी गर्छन् बोलीमा । व्यवहारमा भने स्टालिनको शैलीमा चल्छन् ।

यतिबेला एमालेमा नेतृत्वका बारेमा चुँ बोल्न नपाइने भएको छ । बोल्नु भनेको शूलीमा चढ्न तयार हुनु जस्तै भएको छ । राणाकालमा राणालाई कसैले आँखा जुधाउन पाउँदैनथे । २ हात जोडेर ‘गुलामी’ गर्नुपथ्र्यो । अहिले लोकतन्त्रमा त्यो पनि खुला प्रतिस्पर्धामा विश्वास गर्ने भनिएको कम्युनिस्ट पार्टीमा पूरै अधिनायकवादको अभ्यास भएको देखिँदै छ । पार्टी र नेतृत्वका बारेमा देखेको र लागेको कुरा बोल्नै नपाइने भएको छ । आजको एमाले विचारशून्य, चेत नभएको, बोल्न नसक्ने, आलोचना गर्न डराउने, नेता कार्यकर्ताको भिड जम्मा गर्दै छ । चेत भएको, विचार र दृष्टिकोण भएका आँटिला नेता कार्यकर्तालाई कारबाहीको नाममा पार्टीमा निषेध गर्दै छ ।

अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सार्वजनिक रूपमा आवाज उठाउने नेता–कार्यकर्ता कारबाहीमा पर्ने क्रम जारी छ । सोही क्रममा कोसी प्रदेशसभाका पूर्वसांसद एवं उदयपुरका नेता विमल कार्कीलाई एमालेले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ । पुस २७ गते बसेको कोसी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको छ । उनले पार्टी अध्यक्ष ओलीका बारेमा सामाजिक सञ्जालमा ‘पहिले नागरिकतामा खड्गप्रसाद ओली’ र अहिले नागरिकतामा ‘केपी शर्मा (ओली)’ रहेकोबारे फेसबुकबाटै प्रश्न सोधेका थिए ।

‘२०४८ को आमचुनाव र २०५१ को मध्यावधि निर्वाचनमा तत्कालीन झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद तथा २०५१ को मनमोहन अधिकारी प्रधानमन्त्रीको सरकारमा भएका गृहमन्त्री र अहिलेका प्रधानमन्त्री एउटै हुन् भनेर नेपाली राजनीतिमा चासो राख्ने सबैले यकिनसाथ भन्छन् । तर, तत्कालीन झापाली सांसद तथा गृहमन्त्रीको नागरिकतामा र त्यो बेलाका सरकारी दस्ताबेजमा खड्गप्रसाद ओली भनेर लेखिएको छ,’ पूर्वसांसद कार्कीले लेखेका थिए, ‘अनि अहिलेका प्रधानमन्त्रीको भनेर सामाजिक सञ्जालमा भाइरल बनेको नागरिकतासम्बन्धी भिडियोमा केपी शर्मा (ओली) भनेर लेखिएको छ । मैले बुझ्न चाहेको कुरा– एउटै मान्छेले दुइटा नागरिकता प्रयोग गरेको हो कि नागरिकता जस्तै मान्छे पनि फरक–फरक नै हुन् ? कसैले तथ्यसहित बुझाइदिनुहुन्थ्यो कि !’

यस्तै पुस १० गते बसेको पार्टीको सचिवालय बैठकले व्यापारी मीनबहादुर गुरुङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयमा नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनाले सार्वजनिक रूपमा असहमति जनाएको भन्दै कारबाही गरेको थियो । ३ नेतालाई पार्टीले सोधेको स्पष्टीकरण र कारबाहीप्रति असहमति जनाउँदै ‘आई एम विथ भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेना’ ह्यासट्याग राख्दै कार्कीले लेखेका थिए, ‘के स्पष्टीकरण सोध्छौ ? व्यापारीसँग जग्गा दान लिएर पार्टी भवन बनाउनु गलत हो । यस्तो कार्यले जनताप्रति उत्तरदायी राजनीतिलाई स्खलित बनाउँछ । यो कार्यले देशभरिका एमालेजनको भावनामाथि कुठाराघात मात्र भएको छैन, हुर्मत पनि लिएको छ । त्यसैले यस्तो कार्यको हामीले विरोध गरेकै हो । तिमीले स्पष्टीकरण सोधे पनि नसोधे पनि हामी यस्ता प्रवृत्ति र चरित्रको विरोध गरी नै रहन्छौँ ।’

नेतृत्वको कार्यशैलीमाथि औँला उठाउँदै कार्यकर्ता तथा नेताले उठाएका प्रश्नको जबाफ नेतृत्व तहले दिन आँट समेत नदेखाएको उनले बताएका थिए । उनले भनेका छन्, ‘कारबाही भएको सत्य हो भने अब यो पार्टीमा विवेकशील कार्यकर्ता नरहून्, प्रश्न गर्नेहरू बाँकी नरहून्, खाली रिमोटबाट चल्ने रोबोटहरू मात्रै रहून् भन्ने चाहेको हुनसक्छ,’ उनले भनेका छन्, ‘यदि त्यसो हो भने रोबोटहरूबाट राजनीतिक आन्दोलन अघि बढ्दैन भन्ने तथ्य मेरा नेताहरूले बेलैमा बुझे हुन्छ ।’

उनीहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने पार्टी केन्द्रको विपक्षमा उभिएका कार्की पनि निलम्बनको कारबाहीमा परेका छन् । आउने दिनमा अरू को–को कारबाहीको भागिदार हुने हो, प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया