विशेषतः भूकम्प भनेपछि हामी तर्सिने र आत्तिने गर्छौ । यदि भूकम्प गएको बेला घरभित्र छौँ भने कहिल्यै झ्यालबाट हामफाल्नु हुँदैन । ढोकामा उभिने वा टेबल, डेस्क, खाटमुनि बस्नुपर्छ । भत्किन सक्ने झ्याल नजिक कहिल्यै बस्नुहुँदैन, भुइँतलामा ढोका नजिकै छौँ भने बाहिर निस्कनुपर्छ
नेपाल भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त क्षेत्र मान्निछ । नेपालमा प्रत्येक वर्ष साधारणतया ४ म्याग्नेच्युड सम्मका हजारौँ भूकम्पहरू गइरहेका हुन्छन् । बि.सं. २०७२ सालमा गोरखाको वारपाक केन्द्रविन्दू भएर गएको विनासकारी भूकम्पले नेपालको करिब २०० वर्षदेखि सञ्चित ऊर्जा बिसर्जन गरेकाले उक्त क्षेत्रमा तत्काल त्यस्तै भूकम्प जाने सम्भावना कम भएता पनि उक्त क्षेत्रको पूर्व र पश्चिम तर्फ दबदबा बढेकोले देशको पूर्वी भागमा भूकम्पहरू गएको अनुमान लगाउन सकिन्छ ।
टेक्टोनिक प्लेटहरूबिचको टकराव र ऊर्जा सञ्चिती र बेला बेलामा बिनासकारी भूकम्पको माध्यमबाट हुने बिसर्जनको कारणले नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको छ । भूकम्प एक सिकसिमको भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा अहिलेसम्मको अध्ययन अनुसन्धानहरूबाट वैज्ञानिकहरूले भूकम्पको भविष्यवाणी गर्न सकेका छैनन् । टेक्टोनिक प्लेटहरूबीचको अन्तरसंघर्षको कारणले साना साना भूकम्प जाने र ठुला भूकम्प भने केहि वर्षको अन्तरालमा जाने गर्दछ । स–साना भूकम्पहरूले सञ्चित ऊर्जा निसृत गर्न नसक्ने भएकोले समय समयमा ठूला र बिनासकारी भूकम्पहरू जाने कुरा भूकम्प विशेषज्ञहरूले बताउंदै आएका छन् ।
२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको महाभूकम्प गएको पनि नौ वर्ष वितिसकेको छ । नौ वर्षको अवधि भित्र पनि हामीकहाँ थुप्रै भूकम्पका पराकम्पहरू गएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पौष महिनामा मात्रै ठुला साना गरी ४ रेक्टर माथीका दश वटा भूकम्पहरू गइसकेका छन् । पछिल्लो भूकम्प २०८१ पौष २३ गते चीनको डिनग्ये केन्द्र विन्दू भएर गएको सात रेक्टरको भूकम्पले नेपाल, भारत, चीन लगाएतका देशहरूमा हल्लाएको थियो । पछिल्लो समय पूर्वी तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ । नेपालमा मात्रै होइन विश्वका अनेकन सहरहरूमा ठुला ठुला भूकम्पहरू गइनै रहेका छन् । जसका कारण कैयौँ नागरिकहरूको मृत्यु भएको छ ।
भूकम्पीय दृष्टिकोणले एक नम्बरमा परेको नेपालमा पछिल्लो समय पश्चिमी क्षेत्रका विभिन्न स्थानहरूमा भूकम्पहरू गइनै रहेका छन् । नेपालमा मात्रै होइन विश्वका अनेकन सहरहरूमा भूकम्पहरू गइनै रहेका छन् । जस्का कारण कैयौँको मृत्यु भएको छ भने कैयौ घाइते तथा घरवारविहीन हुन पुगेका समाचारहरू आइरहेकै छन् । बर्षात यामको समाप्ती हुन लाग्दा समेत भूकम्पको धक्का आइरहंदा आम नागरिकहरू त्रसित बन्नु स्वाभाविकै हो तर यसबारे बच्नको लागि पूर्वतयारी र पूर्व सावधानी हरेक तह र तप्काबाट हुनुपर्ने आवश्यकता रहेको देखिन्छ । २०७२ को भूकम्पले छियाछिया पारेको पहाड र जमीन कुन बेला भासिने हो एकिन गर्न सकिंदैन । अहिले बर्षातको याममा थुप्रै स्थानहरूमा राजमार्ग अवरुद्ध भएका छन् । सुख्खा, तथा लेदो रहित पहिरो झरीरहेका छन् कतै यी भूकम्पकै कारणले त भएको होइन ? यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।
२०२३ प्रmेबुरअरी ६ मा टर्की केन्द्रविन्दु भएर गएको भूकम्पले टर्की र सिरियामा हजारौँको संख्यामा ज्यान गयो, हजारौँ घाइते भए र भग्नावशेष मुनि अज्ञात संख्यामा नागरिकहरू बेपता भए र तिनको उद्घारका लागि हजारौँको संख्यामा उद्घारकर्ताहरू समेत खटाइएको थियो । उक्त भूकम्पले टर्कीका मुख्य दस शहरहरू प्रभावित भई थुप्रै सर्वसाधारण नागरिक र भौतिक संरचनाहरू ध्वष्त भएका थिए । टर्कीमा सन् २०११ र सन् १९९९ मा गएको भूकम्पहरूमा २३ हजार भन्दा बढीको मृत्यु भएको थियो ।
विश्वमा गएको यस्ताखाले भूकम्पले गर्दा अति जोखिममा रहेको नेपालले पनि भूकम्पीय क्षती न्युनीकरणका उपायहरू खोज्नु अतिआवश्यक भैसकेको छ । भूकम्पीय घटनाहरू झट्काको तीब्रताको आधारमा मापन गरिन्छ । यो तीब्रता भूकम्पको समयमा ऊर्जाको रिलिजसँग सम्बन्ध हुने भएकोले रेक्टर स्केलमा मापन गरिन्छ । भूकम्पको तीब्रता ० देखी १० सम्म रहेको हुन्छ । नेपाललगायत विश्वमा जाने भूकम्पको तीब्रता ५ रेक्टर भन्दा बढी गएको खण्डमा अत्यन्त विनाशकारी परिणाम ल्याउने गर्दछ । उदाहरणको लागि नेपालमा बि.सं. २०७२ को भूकम्प र टर्कीमा हालै गएको ७.५ रेक्टर भन्दा बढी रेक्टर स्केलको भूकम्पलाई लिन सकिन्छ ।
जापानमा हालसालै मात्र ७ रेक्टर भन्दा बढीको भूकम्प गएको थियो । त्यस्तैगरी ८ रेक्टर भन्दा बढीको भूकम्प जाने सम्भावना थोरै रहेको विज्ञहरूले बताउंदै आएका छन् । यसरी भूकम्प विश्वभरी नै घुमीफिरी आइरहेको छ । भूकम्पबाट जोगिने उपाय मध्ये सुरक्षित वासस्थान निर्माण पनि एक हो । खुल्ला ठाउं सुरक्षित राखौ, पूर्व तयारी गर्नसकेमा केही हद सम्म न्यूनिकरण गर्नसकिनेमा विश्वास गर्न सकिन्छ ।
भूकम्प कुनै सूचना दिएर आउंदैन, यो एक प्रकारको दैवी प्रकोप नै हो । यसबाट बच्नको लागि पूर्वसावधानी एउटा मात्रै उपाय हो । तर यो नै मात्र सबथोक भने होइन् । भूकम्पले पहाडी क्षेत्रमा पहिरो जान सक्छ र ठूलो जनधनको क्षती पुर्याउँछ भने हिमाली क्षेत्रमा हिमपहिरो जाने लगायतका घटना हुन सक्छ । त्यस्तैगरी ठूला ठूला बांधहरू भत्केर बाढीको बितण्डा मच्चाउन सक्छ । समुन्द्री छाल बढेर सुनामी आउन सक्छ । अर्कोतर्फ मानव निर्मित भवनहरू, रेलवे, सडक, पुलहरू र आवासीय क्षेत्रहरू विनाश गर्न सक्दछ ।
२०७२ आएको भूकम्पले धेरै जनधनको क्षती गरेको थियो भने भौतिक संरचना, मठ, मन्दिरहरू भत्कीएका थिए । तिनको पुनः निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । त्यस्तैगरी चीन, भारत, टर्की, जापान लगायतका देशहरूमा पनि भौतीक संरचनाहरू भत्कीएका थिए । काठमाण्डौ शहर भूकम्पीय सुरक्षाको दृष्टिकोणले अगाडी नै रहेको छ । यसले गर्ने क्षतीले सबैलाई मर्माहित र दुःख तुल्याउँछ तर पनि अझै हामी सचेत र सतर्क अनि जिम्मेवार बन्नसकेका छैनौँ । अबका वर्षहरूमा यस्तो विध्वंश भोग्न नपारोस् भन्ने आम नागरिकहरूको धारणा रहेको छ । तर यो अवस्था आउनुमा हामी पनि दोषि छौँ । २०७२ को भूकम्पलाई चट्ट बिर्सेर फेरी लुकीछिपी, नक्शा पास नगरी थोरै जग्गामा गगनचुम्बी भवन बनाईनै रहेका छौँ । नेपाल सरकारले तोकिदिएको भवन आचारसंहितालाई हामीले पालना गरेका छैनौ ।
राजधानी लगायत मुलुकका कैयन शहरहरू अहिले पनि अस्तव्यस्त, अव्यवस्थित हुनुको मुख्य कारण नेपाल सरकारले कहाँ, कुन कुन स्थानमा कस्तो कस्तो किसिमको घर, भवन निर्माण गर्ने भन्ने गुरुयोजना तयार गरी कार्यान्वयन गर्ननसक्नु नै हो । अहिले काठमाण्डौँ लगायत नेपालका ठुल्ठुला सहरहरू कंक्रिटमा परिणत भैसकेका छन् । यस्ले सुख होईन दुःख नदेला भन्नसकिंदैन् । त्यसैगरी अवैज्ञानिक तरिकाले निर्माण गरिएका पुर्वाधारहरूले पनि शहरलाई उच्च जोखिममा पारेको कुरामा दुई मत छैन । शहर मात्रै होइन गाउँघरमा समेत भूकम्पपछि आउने पहिरोले नसताउने होइन । नेपाल सरकारले बर्षेनी भूकम्प सुरक्षाको नाममा दर्जनौ बैठक, सेमिनारहरूमा खर्च गर्दै आइरहेको छ तर नागरिकहरूलाई भूकम्पबाट बच्नको लागि सचेतना कार्यक्रमहरू प्रभावकारी रुपमा भएको पाइँदैन ।
कुनै घटना, दुर्घटना हुनु भन्दा पहिले सुरक्षा उपायहरू खोज्नुपर्छ । भूकम्प अघि प्राथमिक उपचार विधि जानी राख्ने, गह्रौ सामानहरू दराजको तल्लो खण्डमा राख्ने, नयां घर निर्माण गर्दा भूकम्पीय सुरक्षा उपायहरू अपनाउने, बती, पंखा, ठुला ऐना, तस्वीर आदी झुण्डाइएका सामानहरू नखस्ने गरी राख्ने, फर्निचर, अग्ला सरसामानहरू नढल्ने र नखस्ने गरी बलियोसँग राख्ने गर्नुपर्छ । भूकम्पपछि भूकम्पले हल्लाउन छोड्नासाथ सुरक्षाको स्थिति हेरेर मात्र घरबाहिर निस्कने, आगो निभाउने, तुरुन्त प्राथमिक उपचार गर्ने, खुल्ला ठाउँमा भेला हुने, संकटकालीन सेवा कार्यमा बाधा पर्ने गरी टेलीफोन प्रयोग नगर्ने, रेडियो खोल्ने र भूकम्पको खवर तथा त्यस सम्बन्धी सूचनाहरू सुन्ने, घर सुरक्षित छ भन्ने सुनिश्चित नभएसम्म कुनै पनि घरभित्र नपस्ने गर्नुपर्दछ ।
विशेषत भूकम्प भनेपछि हामी तर्सने र आत्तिने गर्छौ । यदि भूकम्पगएको बेला घरभित्र छौँ भने कहिल्यै झ्यालबाट हाम फाल्नु हुंदैन । ढोकामा उभिने वा टेवल, डेस्क, खाटमुनि बस्नुपर्छ । भत्कन सक्ने झ्याल नजिक कहिल्यै बस्नुहुंदैन, भुई तल्लामा ढोका नजिकै छौँ भने बाहिर निस्कनुपर्छ । सवारी साधन चलाइरहेका छौँ भने सडकबाट हटेर सुरक्षित स्थानमा गई रोक्नुपर्छ । विजुलीको तार, लाइन र भवन नजिक बस्नु हुंदैन । आवतजावत गर्ने बाटो सांघुरो छ र दायाँवायाँ अग्ला घरहरू छन् भने ढोकामा गएर उभिएर बस्नुपर्छ । अति आवश्यक पर्ने टर्चलाईट, सुख्खा चिजहरू चाउचाउ, चिउरा, रेडीयो, डोरी, मल्हम, औषधी, पानी, अति महत्वपूर्ण कागजातहरूको फोटोकपीहरू ब्यागमा सहजै देखिने र भेटीने ठाउंमा राख्नु पर्छ ।
पूर्वतयारी गर्नसकेको खण्डमा आफू पनि बच्न सक्छौ र अरुलाई पनि बचाउन मद्घत पुर्याउन सक्छौ । घर बनाउंदा गुणस्तरीण निर्माण सामंग्री प्रयोग र प्राविधिकहरूको अनुगमन तथा आचार संहितालाई पूर्णरुपमा पालना गर्नुपर्छ । हामी आम नागरिकहरू भूकम्प बारे पूर्वतयारी गरि अघि बढ्नु जरुरी छ । नेपाल भूकम्पीय दृष्टिकोणले जोखीमयुक्त छ भन्ने कुराकोसधैं ख्याल राख्नु पर्छ ।
भूकम्पबाट बच्नको लागि पूर्व तयारीका साथसाथै ब्यबस्थापनका बारेमा बिद्यालयस्तरको पाठ्यक्रममा अनिवार्य रुपमा समावेश गर्नुपर्छ । त्यस्तैगरी पूर्व सावधानीका प्रयोगात्मक तरिका समेत सिकाउनु पर्छ । भूकम्प जस्तो विपद्बाट जोगिनको लागि स्थानीय सरकार, प्रदेश र संघ सरकारले पर्याप्त मात्रामा बजेटको ब्यबस्था मिलाईराख्नु पर्छ । भूकम्प आउने बितिकै राहतका कार्यलाई तिव्रता दिई अघि बढ्नको लागि दक्ष कर्मचारी, स्वयंसेवकहरूको ब्यबस्था गर्नसकेको खण्डमा भूकम्प गइहालेको खण्डमा समयमै पीडितहरूले राहत पाउन सक्छन्, अकाल मृत्युबाट बचाउन सकिन्छ । अतः भूकम्प जस्तो विपदबाट बच्नको लागि अवलम्वन गरिएका नियमहरू सबैले पालना गर्नु अपरिहार्य भएको छ ।
प्रतिक्रिया